'नागर सभ्यताको कृत्रिमताले निसासिन्छु'

By Meenraj Basanta - 6:18 AM



१ .हालसालै तपाईंको ‘भूपिनका कविता’ बजारमा आएको छ । एकातिर संग्रहको नाम ‘भूपिनका कविता’ हुनु र अर्कातिर यसलाई प्रतिनिधि कविता नभनिनु बीचको सम्बन्ध के हो ?

‘प्रतिनिधि कविता’ कविले जीवनभरि लेखेका कविताको सर्वोत्कृष्ट संकलन हो । यो प्रायः त्यतिवेला निस्कन्छ, जतिवेला या कविले कविता लेखन पूर्णतः बन्द गरिसकेको हुन्छ, या उसको मृत्यु भइसकेको हुन्छ । दुनियाँभरिकै अभ्यास यही हो । म यी दुवैमा पर्दिनँ । अरू थप दुई चार कविताकृति लेख्ने र प्रकाशन गर्ने योजनामा छु । ०८२ सालमा कविताकृति प्रकाशन गर्ने त तयारी नै छ । त्यसैले भूपिनका कवितालाई प्रतिनिधि कविताकृति नभनेको हुँ । 

२ . तपाईं चितवनमा बसेर साहित्यसाधना गर्नुहुन्छ । चितवनमा वल्लो चोकका साहित्यकारले पल्लो चोकका साहित्यकारलाई नदेखेझैँ गर्छन् भनिन्छ नि । के यो सत्य हो ?

२०६० सालमा म चितवन आउँदा स्थिति धेरै असहज थियो । कार्यक्रममा सुनाइने कवितामध्ये ६० प्रतिशतजति पद्य कविता, करिब ३० प्रतिशतजति गजलवाचन हुन्थे । पछि करिब ७० प्रतिशत गजल र २० प्रतिशत पद्य कविता वाचन हुन थाल्यो । प्रचण्ड बहुमतको गजल सत्ताले अन्य विधाप्रति उदार भावले सहिष्णुता देखाउने रुचि गरेन । चितवन गजलको छापामार हुँ भनेर राजधानीको दम्भमा फस्यो । तर, परिस्थिति बदलिएको छ, विगत २०–२२ वर्षको मेरो व्यक्तिगत अनुभवमा सदा अल्पमतमा रहेको गद्य कविता वर्तमानमा सबैभन्दा बढी वाचन हुन्छ ।

निबन्ध र आख्यानले पनि जबर्जस्त हस्तक्षेप गरेको छ । समालोचनालगायत सिर्जनाका सबै विधाले मौलाउने मौका पाएका छन् । लेखनको स्वीकारोक्तिमा चितवन उदार र सहिष्णु बन्दै गएको छ । म बारम्बार भनिरहन्छु, चितवनको साहित्य चितवनको माटोजस्तै मलिलो र उर्वर छ । सबै जिल्लाबाट बसाइँसराइ गरी आउने मानिस र उनीहरूको पृथक् संस्कृति एवं बाँच्ने शैलीका कारण यहाँ लेखनका अनन्त सम्भावना छन् । कोही लेखक वा समूह छोइछिटो र हिलो छ्यापाछ्यापमा रमाउँछन् भने यो उनीहरूका लागि मात्र नभएर समग्र देशकै साहित्यका लागि प्रत्युत्पादक हुने निश्चित छ । 

३.  संरक्षण कविता आन्दोलनको अभियन्ता भएका नाताले कवितामा पर्यावरण कति लेखिएको छ र कति लेखिनुपर्छ ?

संरक्षण कविता आन्दोलनमा लागेको लामो समयसम्म म आफैँ पनि पर्यावरण साहित्य सिर्जनामा खासै गम्भीर बन्न सकिनँ । प्रकृति र पर्यावरणको मुद्दा आममानिस र कविहरूको भन्दा एनजिओ–आइएनजिओको नै बढी होजस्तो भ्रममा म पनि रुमल्लिइरहेँ । कविता र संरक्षण विषयमा आफ्ना अनुभूति त लेखिरहेँ, तर पर्यावरण–संरक्षण जीवनको तयारी नभई स्वयं जीवन नै हो भन्ने बुझ्न मलाई पनि निकै समय लाग्यो ।

जीवनलाई मैले सामाजिक दुःख र संघर्षको रूपमा बढी अथ्र्याएँ, प्रकृतिको दुःख र संघर्षलाई सायद कम महत्व दिएँ । तर, सुखद कुरा म संरक्षण कविता आन्दोलनसँग सुरुवातदेखि नै अविच्छिन्न जोडिरहेँ । यस आन्दोलनले मलाई बाल्यकालदेखि मेरो मनमा रहेको प्रकृतिप्रेमको घनिष्ठतासँग सुपरग्लुलेझैँ जोडिदियो ।

मैले बुझेँ, प्रकृतिको सुन्दरताको आलंकारिक वर्णनबाट माथि उठेर अब यसको निरन्तर क्षय भइरहेको अस्मिताउपर कविता लेखिनु अपरिहार्य भइसकेको छ । दुःखपूर्वक भन्नुपर्छ, नेपाली साहित्यमा पर्यावरण र संरक्षणका कविता अत्यन्त न्यून लेखिएका छन् । इतिहासतिर जान चाहन्नँ । मेरो अध्ययनले भन्छ, नेपाली साहित्यमै पर्यावरणलाई विषय बनाएर लेखिएका रचना अत्यन्त अपर्याप्त छन् । अझ पर्यावरण संरक्षणको उद्देश्यले लेखिएका कविता त निकै कम छन् । वर्तमानमा केही कवि लेखक र बौद्धिकले यस विषयमा लेख्न र बोल्न रुचि देखाइरहेका छन् । यो सुन्दर कुरा हो । 

४. तपाईं वेलावेला जंगलतिर बुसक्राफ्टमा निस्कनुहुन्छ । कविताको खोजीमा निस्कनु भएको हो कि आफ्नो मन बहलाउन ? 

प्रकृति छ, त्यसकारण जीवन छ । प्रकृतिमा जंगल छ, खोला–किनार छन् । यिनै खोला–किनार या जंगलमा जीवनको मंगल छ । महानगरको वासिन्दा म, नगर सभ्यताको कृत्रिमताले थिचिएर निसासिन्छु । लाग्छ, मानिसहरू कृत्रिमतासँग यति समायोजित भइसके कि उनीहरूलाई पत्तै हुन्न, आफूले भोगेका सम्बन्ध कति कृत्रिम छन् भनेर । प्रकृतिको निकट रहेर कवितामा जीवन लेख्न जंगल पस्नु एक कविका लागि सामाजिक जंगलमा पस्नुजत्तिकै महत्वपूर्ण छ । कविले कि सामाजिक जंगलबारे लेख्छ कि मनोगत जंगलबारे । मनोगत जंगलको स्थिति थाहा पाउन पनि जंगल उत्कृष्ट स्थल हो ।

सामाजिक जंगलमा मात्र भुल्दा मानिसका हित केन्द्रमा रहन्छन्, तर मानिस मात्र त प्रकृतिको सर्वेसर्वा होइन । यहाँ बाँचिरहेका लाखौँ चराचर जगत् र कीटपतंग पनि पृथ्वीका सन्तान हुन् । यस विराटतालाई मनमा तरोताजा राख्न पनि जंगल मानिसको सुन्दर गन्तव्य हो । मेरा पुर्खाहरूले जंगलकै सान्निध्यमा जीवन बिताए । म उनीहरूले बाँचेको जीवन पनि बोध गर्न चाहन्छु । म पनि गाउँको सल्लेरीमा रमाएँ । यसलाई पुनर्ताजगी दिन चाहन्छु । बुसक्राफ्ट मेरो यही सोचको परिणाम हो ।

५ . समीक्षकहरू भन्छन्, तपाईंमा विधा भन्जनको मोह देखिन्छ, तपाईं एउटै विधामा स्थिर हुनुहुन्न ।

साहित्यका हरेक विधाप्रति प्रेम छ, तर पहिलो प्रेम कविता नै हो । साहित्य मात्र होइन, कलाका धेरै विधाप्रति प्रेम छ । बहुविधामा लेख्ने धेरै लेखक मन पर्छन् । म पनि त्यही लस्करमा छु । 

७ पुस २०८० नयाँ पत्रिकाको साप्ताहिक परिशिष्टांकमा प्रकाशित । प्रश्नकर्ता : मीनराज बसन्त ।


  • Share:

You Might Also Like

0 comments