मीनराज बसन्त । यतिबेला सगम्र विश्वको ध्यान र चासो कतारमा छ । कारण सबैलाई थाहै छ– फिफा विश्वकप, २०२२ ।
नोभेम्बर १९ मा कतारमा विश्वकप उद्घाटन समारोह चलिरहेको थियो । उद्घाटन कार्यक्रमकै बीचवर्तमान कतारी राजा सेख तमिम बिन हमाद अल थानी बसिरहेको ठाउँबाट उठे । माइक अगाडि गए । एकछिन तालीको गडगडाहट सुनियो । त्यसपछि अरबी भाषामा छोटो मन्तव्य दिए । मन्तव्य त्यति धेरै त बुझिनँ । तर,हेर्दै गर्दा भावुक बनिहालेँ । कता–कता आँखा रसाएझैं भए ।
उसो त कतारमा विश्वकप भइरहँदा नेपाल बसेरम भावुक हुनुपर्ने पक्कै होइन । सायद, यसलाई अनेक तरहले व्याख्या वा व्यंग्य गर्न सकिएला । यसको पछाडि त्यस्तो ठूलो कुनै कारण छैन । तर, यो भावुकता अकस्मात्, बिनाकारण आएको पनि होइन ।
मान्छे संवेदनशील र संवेगात्मक प्राणी हो, जगजाहेर छ । ठूला बम–बारूदले नछुने मान्छेलाई स–साना कुराले छोइरहेका हुन सक्छन् । उदाहरणका लागि घरमा पालिएको एउटा कुकुरलाई नै लिऊँ न ! बाहिर क्रान्तिकारी, कठोर र निर्मम देखिने मान्छे पनि घरमा पालिएको त्यही कुकुरसँग कोमल बन्छ । प्रेमिल बन्छ । कुकुरबिरामी हुँदा होस् वा मर्दा, भावुक बन्छ । सहानुभूति दर्शाउँछ । खिन्न हुन्छ। किनकि उक्त व्यक्ति कहीँ न कहीँ चेतन–अवचेतन मनद्वारा कुकुरसँगजोडिएको हुन्छ । सायद, कतारलाई लिएर मेरो भावुकता पनि यस्तै केही हुन सक्छ ।
...
न्यून तथा मध्यवर्गीय जीविका हुनेहरुको जीवन सधैं वैकल्पिक हुन्छ । यी वर्गले वैकल्पिक जीवनमा संघर्ष पनि विकल्पमै गरिरहनुपर्ने हुन्छ । यस्ता विकल्पमध्येअपवादलाई छाडेर धेरैको पहिलो विकल्प बन्छ, वैदेशिक रोजगारी । त्यो पनि खाडी मुलुकमा ।
वैदेशिक रोजगारीकै सिलसिलामा सन् २००८ मा पहिलोपटक कतार पुगेँ । १९ वर्षको कलिलो उमेर । जुँगाको रेखी पनि राम्रोसँग बसिसकेको थिएन । त्यसमाथि विशुद्ध गाउँले ठिटो । भन्दा अतिशयोक्ति वा अतिरञ्जनात्मक सुनिएला ! सिँगान पनि राम्रोसँग पुछ्न आउँदैनथ्यो । लामो समयसम्म मैले चोरीऔंला र बुढीऔंलाले तल्लोपट्टिबाट नाकका दुई पोरा समातेर सिँ...गर्थें । यसो गर्दा सिँगान हत्केलामा झथ्र्यो । र, त्यो झट्कारेर फ्याँक्थेँ । यसो भन्नुको अर्थ हो, कच्चा उमेरमै परदेश हेलिएको थिएँ ।
आमयुवाको झैैँ मेरो पनि सपनाको चंगा उडाउने रहर थियो होला । आमयुवाको झैँ मेरो पनि सुन्दर भविष्यको सुनौलो खाका थियो होला । छन त के–के थियो थियो नि ! तर, यी सबैका सामु बलियो विकल्प भनेकै वैदेशिक रोजगारी थियो । र, त्यसका अगाडि म कमजोर बनेँ ।
वैदेशिक रोजगारीमा जानुअघि भारतमा अध्ययन गरिरहेको थिएँ । दाइ मेरो कतारमै हुनुहुन्थ्यो । उहाँकै सुझावअनुसार जागिरमुखी प्राविधिक शिक्षा अध्ययन गरिरहेको थिएँ । पछि उहाँले नै चाँजोपाँचो मिलाउनुभयो । यसरी दोहाको सुक नजदास्थित स्काइनेट कम्पनीमा प्राविधिकका रुपमा पुगेँ । यद्यपि जे कामका लागि गएको थिएँ, त्यो भएन । जाँदासाथ नै उक्त कम्पनीमा सेल्सम्यानका रुपमा काम गर्नुपर्ने भयो । श्रम नै गर्न गएको मान्छेलाई यसले तात्विक फरक पारेन ।
त्यो कतार :
मेरो जस्तै कतारको पनि आफ्नै संघर्षको कथा छ । इतिहास केलाउँदै जाँदा सन् १९१६ देखि बेलायती उपनिवेश बनेको भेटिन्छ । तर, कतारले ‘ब्ल्याक गोल्ड’ अर्थात् तेलका कुवाको खोजी गर्दा कतार देशका रुपमा अस्तित्वमै आइसकेको थिएन । यो अंग्रेजको कब्जामा थियो, आफैंमा स्वतन्त्र थिएन ।
सन् १९२२ को शताब्दीतिर त्यहाँका मान्छेको दैनिकी हुन्थ्यो; माछा मार्ने र समुद्रबाट मोती टिप्ने । त्यतिबेला जम्मा १२ हजार वर्गकिलोमिटरमा फैलिएको भूभागका मान्छे माछा मार्दै भारतको केरलासम्म पुग्थे । यसमा एउटा कारण, उक्त खाडी क्षेत्रलाई बसोबासका लागि पनि उपयुक्त ठानिँदैनथ्यो । आज पनि कतारमा व्यापार÷बिजनेस गर्ने आप्रवासीमध्ये धेरै केरलावासी नै छन् । त्यहाँ भेट्ने हरेक दोस्रो मान्छे हिन्दी बोल्ने भेटिन्छ । सायद यसमा इतिहासको पनि आंशिक गठजोड हुन सक्छ ।
म २००८ मा कतार केही थिएन । केही थिएन त नभनौं । तर, जस्तो हिजोआज छ त्यस्तो थिएन । गाउँबाट पहिलोपटक काठमाडौँ आएर सीधै दोहा उत्रेको मान्छे म । तुलनात्मक रुपमा त्यहाँ भौतिक विकास थियो नै । तर, त्यो समयानुकूलको पूर्ण विकास भने थिएन ।
मलाई सम्झना छ– हिमालयको मान्छे एकैपटक खाडीको भुङ्ग्रोमा ओर्लिएको थिएँ । सेप्टेम्बरमै पनि गर्मीले तहल्का मच्चाइरहेको थियो । तातो लू चलिरहेको थियो । म सीधै तातो हावा खाँदै सुक नजदा पुगेको थिएँ । पहिलोपटक बोइङ जहाज चढ्न पाउनुको खुसी कतार उत्रेसँगै सेलाएको थियो । तातो त त्यहाँ मौसम मात्रै थियो कि आफ्नै मन ।
पहिलोपटक त्यति धेरै अनुभव सँगाल्न नपाएको म पुनः दास्रोपटक कतार गएँ, सन् २०१३ मा । अल तामेज नामक कम्पनीको श्रमिक बनेर । दाइ पहिलेदेखि नै त्यही कम्पनीमा हुनुहुन्थ्यो । यसपटक म पनि उहाँकै कम्पनीमा गएँ । तर, सप्लाई कम्पनी भएकाले विभिन्न ठेक्काका कम्पनीसँग बेचिइरहेँ; कहिले सिटी सेन्टरपछाडिको ओमन एम्बेसी, कहिले अल नासरको अल सइद अडिट फर्म ।
दोस्रोपटक पनि मेरा आँखाबाट कतार झन्झैझन्डै उस्तै देखियो, जस्तो पहिले थियो । एउटा मामुली श्रमिकका आँखाबाट देखियोस् पनि कस्तो ! उही पुरानो दोहा अन्तर्राष्ट्रिय विमानस्थल (अहिले सो एरपोर्ट कतार इमिरी एयर फोर्स, कतार इमिरी फ्लाइट, रिजन जेट, गल्फ हेलिकप्टरका लागि प्रयोग हुन्छ । अरु सबै उडान तथा सेवा हमाद अन्तर्राष्ट्रिय विमानस्थलबाट सुचारु हुन्छ ।) । त्यही कर्नेस, त्यही सिटी सेन्टर । यी सबका बाबजुद कतारमा पूर्वाधार तयार हुँदै थियो । सुक नजदाको विशाल मार्केट खाली गरिएको थियो । त्यहाँका कम्पनीहरु तितरबितर भएका थिए । अलफरदान एक्सचेन्ज अन्तै सरिसकेको थियो ।
यसरी झन्डै चार वर्षको अवधि कतारमा गुजारेँ । यो अवधिमा त्यहाकाँ विभिन्न ठाउँमा मेरो पसिना चुहिएको छ । सुक नजदा, इरानी मार्केट, सोफीटेल, जैदा ब्रिज, मिसैद, अल वक्रा, नजमा, अलखोर, सनैया, अल रयान, अलफरदानसँगको गहिरो चिनजान छ । विभिन्न सडक, राउन्डबोटमा हिँडेका पदचाप छन् । काम गरेका कम्पनीको छाया छ । समुद्रको नुनिलो पानीको स्वाद याद छ । यसरी सम्झनामा आउने कतारका अनेक ठाउँ छन्, जुन आज ठाउँ त छ तर संरचना छैन । कतै अर्कै नयाँ संरचना बनेको छ । यतिबेला ती सबै ठाउँ आँखामा रिलझैँ घुमिरहेका छन् । तर, अब त रिल धुलाउने प्रविधि पनि गइसकेको छ क्यारे !
सम्झना भनेका मान्छेलाई जीवित र जागृत बनाइरहने चिज हुन् । कतारसँगका यस्तै सम्झनाहरु छन् मेरा पनि । दुई–दुईपटक बिदेसिएर पनि उल्लेख्य प्रगति (समाजमा प्रगतिको जुन मान्यता छ) गर्न सकिएन । तर, आफूजस्ता श्रमिकको कथा लेखेँ, उपन्यास मुदिरमा । खाडीबाट मैले कमाएको सबैभन्दा सुन्दर चिज पनि यही हो ।
यसरी आफूले श्रम–पसिना खर्चिएको ठाउँमा विश्वकप आयोजना हुँदा नोस्टाल्जिक बन्नु स्वाभाविक हो । सायद, यही संवेदनाले छोएर म पनि अनावश्यक भावुक भएको हुन सक्छु । खैर ! संवेदनाका अघि कसको के लाग्छ ।
यो कतार :
प्रविधि र परिवर्तनलाई आत्मसात् गरेको कतारले सन् २०२२ सम्म आइपुग्दा ठूलो छलाङ मारेको छ । यसको गतिलो उदाहरण चलिरहेको विश्वकपलाई नै मान्न सकिन्छ । कुनै बेला एउटा मात्रै स्टेडियम (खलिफा स्टेडियम) रहेको कतारमा अहिले अत्याधुनिक आठवटा स्टेडियम बनिसकेका छन् । सडक, ब्रिजदेखि मेट्रोसम्म बनेका छन् । यिनमा मजस्तै हजारौँ नेपालीको श्रम र पसिना बगेको छ । कतिले त कतारमा आयोजना भइरहेको विश्वकपलाई ‘चिहानमाथि विश्वकप’ पनि भनेका छन् ।
र, अन्त्यमा कतार हामीजस्ता न्यून तथा मध्यम वर्गीय परिवारको अन्नदाता हो । देशको राजनीति अवस्था, भ्रष्टाचार, बेथिति आदिले मजस्ता युवाहरु आज पनि तिनै खाडी मुलुकमा गइरहेका छन् । तर, यसो भन्दैमा कतार हाम्रो ‘ईश्वर’ कदापि होइन । त्यही कतारमा विश्वकपलक्षित संरचना बनाउँदा हजारौँ नेपाली श्रमिकले आफ्नो जीवन र सपना गुमाएका छन् । कतार सम्झिरहँदा यो दुःखद पाटोलाई नजरअन्दाज गर्न भने कसैगरी सकिँदैन ।
१७ मंसिर २०७९ मा नयाँ पत्रिकाको साप्ताहिक परिशिष्टांक 'झन् नयाँ' मा प्रकाशित ।
0 comments