राष्ट्रिय ध्वजावाहक विमानमा पतञ्जलिकाे पानी !

By Meenraj Basanta - 4:32 AM


वैशाख १५ (बिहीबार) नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गर्ने कार्यक्रम थियो । निगमकै वाइडबडीले केही दिनअघि साउदी रियादमा सफल परीक्षण उडान भरेको थियो ।

भैरहवामा हुने परीक्षण उडानबारे सञ्चारमाध्यममा समाचार आइरहेका थिए । तर, केही अनुमानित व्यक्तिबाहेक अरु को–को जान्छन् भन्ने जानकारी थिएन । यो किन भनिरहेको छु भने, म आफैंलाई पनि बिहीबार बिहानसम्म आफू जानुपर्ने खबर थिएन । 

तर, ढिलै सही, खबर भयो, ठीकै भो । 

साँच्चै भन्नुपर्दा डोमेस्टिक फ्लाइटमा मेरो खासै रुचि छैन । त्यसैले होला, ‘डोमेस्टिक जर्नी’ आजसम्म ‘भर्जिन’ थियो । तर, बोइङमार्फत अन्तर्राष्ट्रिय यात्रा भने थुप्रैपटक गरेको छु । 

डोमेस्टिक फ्लाइट किन मन पर्दैन आफैंलाई थाहा छैन । यद्यपि यतिचाहिँ जरुर भन्न सक्छु, मलाई औधी डर लाग्छ ।

यहाँनेर डरको कुरा आइहाल्यो । यसबारे थोरै केही भनिहाल्छु ल । बोटमै पाकेको फलजस्तो प्रसंगले ल्याएको कुरा पनि मीठै हुन्छ रे !

खैर, मीठो होला नहोला । तर, बोर त मान्नुहुन्न नि ?

सानैदेखि डरको लत लाग्यो । गाउँमा बिजुलीबत्ती थिएन । वरिपरि निगालोको घारी थियो, रुखविरुवा थिए । 

साँझ परेपछि ती सबै काला आकृतिमा परिणत हुन्थे । त्यसैमा म विभिन्न डरलाग्दा जनावर, भूत के–के हुन् के–केका आकृति कल्पना गर्थें । तिनले पछाडिबाट लखेट्न आएको जस्तो लाग्थ्यो । 

अनि त खाना खाएर चुठ्न निस्किँदा होस् वा पिसाब फेर्न, डर लाग्थ्यो । झन् डर त जब चुठेर वा पिसाब फेरेपछि लाग्थ्यो । सोही डरले लखेटेपछि पछाडि नफर्कीकन दगुर्दै घरभित्र पस्थें । 

आज पनि त्यो डर कताकता प्रस्फुटन हुन खोज्छ ।

डरको अर्को एउटा प्रसंग सुनाउँछुः

कुस्मादेखि मेरो गाउँ बलेवा जोड्ने एउटा केबलकार (रोप–वे) छ । अहिले भएको बन्जीनजिकै । त्यसलाई तुइनको विकसित रुप भन्दा हुन्छ । कालीगण्डकीको गहिरो खोचमाथि कुद्ने उक्त केबलकार तर्दा जहिले डराइरहेको हुन्छु । र भन्छु– ‘यसपटक अन्तिम हो, अबदेखि बरु हिँडेर जान्छु, चढ्दिनँ ।’ 

अर्कोपटक फेरि यही भनेर चढ्छु । त्यो क्रम जारी छ ।

डर लाग्नाको कारण खासै ठूलो होइन । यति मात्रै हो कि, नेपालमा प्रायः सेवा क्षेत्रलाई व्यापारसँग जोडिन्छ । व्यापारलाई बढी फोकस गर्दा गुणस्तरीयता ओझेलमा पर्छ । त्यसमा प्रयोग हुने उपकरण, सामग्रीदेखि विभिन्न कुरामा लगानीकर्ता खासै सिरियस देखिँदैनन् ।  त्यसका प्रशस्त उदाहरण छन् । जस्तै; पिच गरिसक्दा कालोपत्रे उप्किनु, पुल बन्दा नबन्दै भत्किनु, सडक दुर्घटना हुनु, उडानमा बेला बेला समस्याहरु आइरहनु आदि । 

त्यसो त म हुनैपर्ने सम्भावित कुराबाट बच्न सक्दिनँ । बूढा–पुरानाले भनेझैं ‘दिन आएपछि’ ऋण सम्झिएर केही हुँदैन । तैपनि, बिनासित्ती आफ्नै माया बढी लाग्ने । त्यही मायाको मोहमा जेलिएर बढी बाँच्न डर लाग्नुपर्ने ! 

नत्र यो डरको के काम ?

डोमेस्किट फ्लाइटमा रुचि नहुनाको मुख्य कारण यही हो ।

अर्को कुरा, मलाई ‘फियर फोबिया’ पनि छजस्तो लाग्छ । अन्यथा यति डर त नलाग्नुपर्ने ।

...

परीक्षण उडानमा जानुपर्ने खबरले उत्साह र झट्का एकैचोटि दियो । उत्साहचाहिँ नेपालकै इतिहासमा निगमको वाइडबडीले पहिलोपटक नेपालभित्रकै अन्तर्राष्ट्रि विमानस्थलमा परीक्षण गर्दाको थियो । यस्तै झट्काचाहिँ, डोमिस्कट फ्लाइटको । 

यहाँनेर मन बुझ्ने एउटै कुरा थियो– डोमेस्टिक फ्लाइट बट् थ्रु बोइङ ।

‘कति बजे पुग्नुपर्ने एयरपोर्ट ?’

भैरहवा जानुपर्ने खबरपछि सुवासजीलाई सोधें । 

‘इन्टरनेसनल फ्लाइटकै नियम मान्नुपर्ने होला । ३ घण्टाअघि त पुग्नैपर्यो’, उनी नियमसंगत देखिए ।

‘ए लौ त !’ भनेर अफिसबाट साढे १२ बजेतिर निस्किएँ ।

साथमा आईडी कार्ड थिएन, बिर्सेको रहेछु । त्यसमाथि सुवासजीले नागरिकता पनि लैजानू भनेपछि आईडी र नागरिकता लिन डेरामा पुग्नैपर्ने भयो, गएँ पनि ।

भन्दा हाँसो उठ्ला वा नपत्याउनुहोला । तर, म आन्तरिक टर्मिनलसम्म पनि यसअघि पुगेको थिइनँ । पुग्नुपर्ने कारण नै आइलागेन त !

डेराबाट पठाओ बुक गरें । र, सोझै एयरपोर्टतिर सोझिएँ ।

यसबीचमा परीक्षण उडानका लागि प्रस्थान गर्ने जहाज आन्तरिक टर्मिनलतिरबाट जान्छ भनिएको थियो । सोहीअनुसार पछ्याएँ मैले पनि ।

आन्तरिक टर्मिनल सानो भएका कारण यसै पनि भीडभाड हुन्छ भन्ने सुनिएकै थियो । म त्यहाँ पुग्दा अवस्था सुनेस्तै थियो । कोही आइरहेका, कोही जाँदै गरेका । कोही कसैको प्रतीक्षा गरेर प्रतीक्षालयमा बसिरहेका थिए । जे होस्, भीडभाड थियो । 

टर्मिनलबाहिर रहेको नेपाल एयरलाइन्सको काउन्टरमा पुगेर सोधें, ‘परीक्षण उडानका लागि जहाज कताबाट जान्छ ?’

‘ए...ए...यतै (आन्तरिक टर्मिनल) बाट जान्छ’, भित्र केही लेखिरहेका कर्मचारीले मुन्टो उठाएर मतिर हेरे, ‘हामीले त्यसकै लागि टिकट बनाइरहेका छौं ।’

प्रतीक्षालयमा बसेर मोबाइल स्क्रोल गरिरहें । आजको ‘घोप्टे युग’ मा योबाहेक अरु गर्नु ? 

गर्मीले तराई सम्झाइरहेको थियो । 

अँ, नेपाल एयरलाइन्समा कार्यरत दुई साथीहरु सम्झिएँ, अकृन अधिकारी र हरि शर्मा । साथीहरु फुर्सदमा रहेछन् र यतैतिर रहेछन् भने समय कटाउँला भन्ने थियो । तर, न अक्रिनले फोन उठाए न हरिले । 

अक्रिनलाई त ५ पटकसम्म फोन गरें । नउठेपछि गर्मीझैं झोक बढ्यो । लेखें, ‘कता हो यार ! कल रिसिभ भएन, यो त अत्ति भयो ।’

त्यसपछि बल्ल उनले कल ब्याक गरे । भेट पनि भयो । ड्युटीमै भएकाले धेरैबेर बसेनन् । 

यही बेला हरिले पनि कल गरे । उनले आश्वासन दिए, ‘एकछिन पछि त्यता आउँछु र भेटम्ला ।’

नाइँ भन्नुपर्ने कारण थिएन । तर, अन्तिमसम्म पनि उनी आएनन् ।  

बिस्तारै चिनेजानेका साथीहरु आइपुग्ने क्रम बढ्यो । आन्तरिक टर्मिनलको तल्लोपट्टि त्रिपाल टाँगिएको छ । आवश्यक पर्दा मात्रै खोल्ने ३ वटा गेट छन् । त्यही त्रिपालमुनि एक–एक गर्दै जम्मा हुँदै गयौं । 

हेर्दाहेर्दै ठूलो भीड लाग्यो । 

घडीको डिजिटल समयले ढाइ पारको संकेत गरिरहेको थियो । यता उडानको समय ३ बजे भनिएको थियो । नियमसंगत भन्नुपर्दा यसबीचमा बोर्डिङ पास लिएर जहाभित्र एन्ट्री भइसक्नुपर्ने थियो । विदेशतिरको नियम सम्झेर त्यो भीडमा एक्लै छटपटिइरहेको थिएँ । नेपालमा ‘नेपाली समय’ चल्छ भन्ने होस नै भएन ।

फितलो व्यवस्थापन

एयरलाइन्स कर्मचारीहरु हातमा बोर्डिङ पास लिएर त्यो भीडमा आइपुगे । फरक–फरक व्यक्तिका हातमा फरक–फरक नामबाट आउने टिकट थिए । जस्तो कि, एक जनाले अंग्रेजी लेटर ए वा डीबाट थर (सरनेम) आउने टिकट लिएका थिए । अर्कोले अर्कै लेटरबाट ।

टिकट बाँड्ने क्रम सुरु भयो । त्यो भीड, त्यो खैलाबैलामा नाम बोलाएको पनि सुनिँदैन । त्यसमाथि उनीहरुका चिनजानका मान्छे भए सम्बन्धितको नाम टिकटको सिर–पुछार खोज्थे । सरनेमबाट भनिए पनि कसैले नामबाटै हेर्न भनिरहेका थिए, कसैले थरबाट । 

त्यो गर्मीमा टिकट बाँड्नेहरु पनि हत्तुहैरान थिए, यो सत्य हो ।

लिस्टमा नाम हेर्छु, छ । बोर्डिङ पास खोज्यो छैन । म मात्रै होइन, धेरै साथीहरुलाई यस्तै भयो । आफ्नो सरनेम (यहाँनेर नेम र सरनेमले पनि धेरैलाई झुक्यायो ।) खोज्दै एउटा समूहमा गयो, हेर्न आग्रह गर्यो, उनीहरुले भनेको नाम सुन्यो । जब त्यहाँ आफ्नो नामको टिकट भेटिँदैन फेरि अर्कोमा गयो । त्यहाँ पनि उस्तै । अनि फेरि अर्कोमा झन् उस्तै । यसरी विमान उड्न तोकिएको समय टिकट खोज्दैमा घडीबाटै उडिसक्यो । 

ज–जसका नाममा कम्प्युटराइज्ड टिकट बनेका थिए, ग्रहण गर्दै सानो गेटबाट फुत्त भित्रतिर छिरे । नाम भएका तर टिकट नभएका हामीहरु घरी यता घरी उता गर्दै छट्पटिइरह्यौं । यो क्रम केहीबेर चलिरह्यो ।

अन्ततः आफ्नो नामको टिकट (बोर्डिङ पास) भेटिएन । रि–कन्फर्म गर्न पुनः लिस्टमा नाम खोज्यौं । यति बेलासम्म लिस्ट पनि परिमार्जित भएर आएको थियो । परिमार्जित लिस्टमा पनि नाम भेटेपछि जानेको सूचीमा छु भन्ने त लाग्यो । तर, के हुन्छ भन्नेचाहिँ सोचिएन ।

सानो गेटभित्र एक जना कर्मचारीले छुटेका नामहरु लिस्टमा हेरी हातैले लेखेर बोर्डिङ पास बनाइदिँदै थिए । उनीसमक्ष गएर भनेपछि लिस्टमा रहेको नाम भेरिफाई गर्दै चिर्कटो (हस्ते टिकट) बनाइदिए । चिर्कटोमा सिट नम्बर थिएन । त्यो जहाजभित्रै गएपछि मिल्ने कुरा थियो । सायद अरुको हकमा पनि सायद यस्तै होला । 

मलाई साझा बसको सम्झना आयो । 

सुरक्षा जाँच पास गरी एयरबसमा बसेर बोइङसम्म पुग्यौं । 

एउटा पत्रकार भएका नाताले रिपोर्टिङ गर्न जाँदा सकेसम्म नयाँ र धेरै चिज कभर गरौं भन्ने जो कसैलाई हुन्छ । मलाई पनि भयो । मन त झ्यालपट्टि बसेर उडान, अवतरण र अन्य दृश्य क्यामेरामा कैद गर्ने थियो । तर, चिर्कटोले गर्दा निकै ढिला भइसकेका थियौं । 

जहाजभित्र छिर्नासाथ झ्यालतिरको सिट खोज्दैं हिँडें । सबै प्याक देखिन्छन् । बसमा पनि यस्तै त हुन्छ नि ! एकतर्फका दुइटा सिटमा झ्यालतिर बसी अर्को सिट खाली छाड्छन् । जब झ्यालतिर प्याक हुन्छ, अनि मात्रै छाडिएको दोस्रो सिटमा बस्छन् । ती पनि प्याक भएपछि डन्डी समाएर हुत्तिने खेल सुरु हुन्छ ।

खोज्दै जाँदा अगाडिपट्टि २÷३ वटा सिट झ्यालतिर खाली देखिए । हतारहतार दौडिएँ । र, खुसीले थच्याक्क झ्यातिर बसें । यसो बाहिर हेरेको त, साइडमा जहाजको पखेटा तन्किएको छ । 

‘सायद यही कारणले पनि सिट खाली छाडिएको हुनुपर्छ’ यति सोच्न कुनै अतिरिक्त शुल्क तिर्नुपरेन मैले । 

...

जहाजभित्र बसेको पनि १ घण्टाभन्दा बढी भयो, उड्दैन त !

मान्छेहरु आ–आफ्नै संवादमा सम्मोहित छन् । निराशाको ध्वनि कतै छैन । हाँसिरहेका छन्, खुसी छन् । र, इतिहासमै काठमाडौंबाहेक दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलमा हुने परीक्षण उडानका लागि उत्साहित छन् ।

मेरो ठीक पछाडि एक जना दाइ हुनुहुन्थ्यो । परीक्षण उडान, जहाज ढिलाबारे उहाँसँग केही कुराकानी हुन्थ्यो । सबै तयारी पूरा गरेर पनि जहाज उड्न ढिला हुनुमा प्रोटोकल मुख्य थियो । 

‘जहाज मात्रै बोइङ र राम्रो भएर के गर्नु ?’, ती दाइ भन्नुहुन्थ्यो, ‘व्यवस्थापन नै छैन । बस र जहाजको एउटै तरिका छ । अनि निगम किन नजाओस् त घाटामा ।’

‘हो त’ भन्दै दाइको कुरामा ठप्पा लगाएँ ।

अन्ततः ५.१२ मा निगमको वाइडबडी जहाज भैरहवाका लागि उड्यो । अब ३ बजेलाई सम्झिरहनुको अर्थ थिएन, खुसी हुनुबाहेक ।

काठमाडौं–भैरहवाको औसत समय २७ मिनेट रहेछ । यद्यपि गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा साँझको ५.५५ बजेको थियो । अप्रेसनल पर्फमेन्स टेस्ट फ्लाइट भएकाले जहाज धावनमार्गनजिक पुगेर पनि ओभर सुट गरी राउन्ड लगाएपछि अवतरण भयो । 

समाचार ब्रेकिङको होडबाजी 

धावनमार्गमा जहाज अडियो । झ्यालबाट चिहाएर हेर्दा अलि पर जहाज हेर्नेहरुको लस्कर थियो । मोबाइलको पछाडिपट्टि बलेका बत्तीले लाइभ गरिरहेका छन् भन्ने सहसा बुझिन्थ्यो ।

तर, जहाज लामै समय रनवेको अन्तिमतिर होल्ड भयो । 

गाइँगुइँ सुरु हुन थालिहाल्यो । सँगै अनुमान पनि । पत्रकारहरुको गाइँगुँइको स्वर भिन्दै, अरुको भिन्दै । परीक्षण उडानमा विभिन्न मिडियाका पत्रकारहरु भएकाले समाचार ‘ब्रेकिङ’ को मौसम सुरु भयो । कोही फोन गरेर टिपाइरहेका सुनिए, कोही मोबाइलमा टाइप गरेर पठाउँदै थिए । आखिर पत्रकारको कत्र्तव्य पनि यही हो । यसलाई प्रविधिले झन् सहज बनाइदिएको छ । 

वाइडबडी ए–३०० अवतरणपछि रनवेबाट फर्किन सकेन । रनवेबाट ट्याक्सी वेमा पुग्ने लिंक रोड केही अगाडि गएर जहाज रोकियो । पार्किङमा लैजाने क्रममा घुमाउन नसकेपछि रोकिएको थियो । पछि रनवेबाट तानेर ठीक ठाउँमा ल्याएपछि जहाज पार्किङतिर मोडियो । 

यसरी बुद्धभूमिमा हाम्रो पनि अवतरण भयो ।

बाहिरको मौसम ३८ डिग्री सेल्सियस रहेको जानकारी जहाजभित्रै दिइएको थियो । वातानुकुलित जहाजभित्रबाट बुद्धभूमिमा पाइला राख्दै गर्दा पहिलो स्वागत त त्यहाँको गर्मीले गर्यो । लामो समय तराईमा बसेका मेरा लागि यो गर्मी सामान्य थियो । 

तर, गर्मी त गर्मी नै हो नि !

जहाजबाट ओर्लिने भर्याङको अन्तिम खुड्किलानेर क्यानका कर्मचारीहरु थिए । उनीहरुले काठमाडौंबाट उड्दा दिएको टिकट (चिर्कटो) फिर्ता लिँदै पुनः काठमाडौं फर्किने अर्को टिकट थमाइरहेका थिए । यही नियम काठमाडौंमा लागू गरेका भए टिकटको त्यो हैरानी केही हदसम्म न्यूनीकरण हुन सक्थ्यो । 

भैरहवा आएपछि काठमाडौं फर्किने टिकट लिनैपर्यो, लिएँ । तर, कतिपय साथीहरु काठमाडौं नफर्किने पनि थिए । 

विमानस्थलमा स्वागत गर्नेहरुको लामो लर्को थियो । हामीसँगै थिए पर्यटनमन्त्री प्रेमकुमार आले, क्यानका महानिर्देशक प्रदीप अधिकारीलगायत विशिष्ट व्यक्तित्वहरु । सबै जना झरिसकेपछि अन्तिममा मन्त्रीसहितको टोली झर्यो । उनीहरुको स्वागतलाई पत्रकारहरुले पिछा गरिरह्यौं । क्यामेरामा कैद गरिरह्यौं । 

शुभकामना आदानप्रदान कार्यक्रम राखिएको रहेछ । मन्त्रीलाई पछ्याउँदै कार्यक्रमस्थलतिर लाग्यौं । 

भोक र भोजन

भोकले पेट ख्याउटिइसकेको थियो । बिहान खाना खाएपछि मुखमा केही परेको भए पो ! जहाजमा उपहारस्वरुप पतञ्जलीको मिनि मिनिरल वाटर बोटल हात लागेको थियो । त्यो पनि बल्लतल्ल । 

पानी...त्यो पनि पतञ्जलिको । त्यसमाथि राष्ट्रिय ध्वजावाहक विमानमा ! 

औपचारिक कार्यक्रम सुरु भयो । हाम्रा आँखा, ध्यान र क्यामेरा त्यतैतिर सोझिए । 

कार्यक्रमस्थलनजिकै ‘खानपान’ को व्यवस्था थियो । भोकाएको पेटले जिद्दी गरिरहेको थियो । घरीघरी आँखा जान्थे त्यतातिर । एकपछि अर्को मान्छे थपिँदै जाँदा लाइन लामो बन्दै गइरहेको थियो । 

यता कार्यक्रममा महानिर्देशक अधिकारी बोलिरहेका थिए । 

एक मनले भन्यो– ह्या अति भो, गएर खाइदिऊँ कि क्या हो ! फेरि तत्क्षण अर्को मनले भन्यो– होइन केटा ! अहिले फ्याट्ट मन्त्री बोल्लान्, कुनै महत्वपूर्ण कुरा गर्लान्, त्यो कुरा तैंले छुटाउलास् अनि तँ आउनुको अर्थ पनि त छुट्ला केरे !

‘हो...हो...’ मैले दोस्रो मनसँग सहमति जनाएँ । 

अधिकारी लामै बोले । तर, मन्त्री बोलेनन् । निर्वाचन आचारसंहिताका कारण उनी बोल्न नमिल्ने कुराको जानकारी स्वयं अधिकारीले पनि गराए ।

अब अलि फड्किन्छु ल । 

खानपानको लामो लाइनमा पंक्तिबद्ध भएँ म पनि । 

टेबलमा लस्करै पुरी, तरकारी, जेरी र मिठाइका भाँडाहरु राखिएको थियो । तर, आफैं निकालेर खाने व्यवस्था भने थिएन । भाँडासँगै एक–जना सहयोगी थिए । उनीहरुले अड्कलेर दिन्थे । यदि सेल्फ–सर्भिस भएको भए केही व्यक्तिहरु टन्न अघाउँथे र बाँकीले मन खन्न पक्कै पार्थे । 

अरुको भागमा कति पर्यो कुन्नि ! मेरो भागमा ३ वटा पुरी, त्यति नै मात्रामा तरकारी, एउटा सानो जेरी र आधा मिठाइँ । थप्न पनि नपाइने, अलिकति बढी दिनुस् भन्दा पनि मागको सुनुवाइ नहुने मुख्य व्यवस्था थियो त्यहाँको । 

मिठाइँको कुरा अलि रोचक छ । कुरा के भने, मभन्दा अघिसम्मको मान्छेले एउटा–एउटा पाइराखेको देखेको थिएँ । तर, मदेखि एउटाबाट भाग आधामा झर्यो । 

‘मिठाइँ त नफुटाइकन दिनुभए हुनी’, मैले भनें, ‘यो त साह्रै भो !’

‘पुराउन परो नि सर’, मिठाइँ बाँड्नेले भनिन् । 

होइन भन्नै भएन । यही सोचेर चित्त बुझाएँ कि, अलि पछिकाले यही आधा पनि नभेट्लान् । मैले धन्न यत्ति नि भेटें ।

कार्यक्रमस्थलको ठीक अगाडिपट्टि फाउन्टेनमा पानीको फोहोराले नृत्य गरिरहेको थियो । विभिन्न रङका बत्तीले पानीको नृत्यलाई रङ्गीन देखाइरहेको थियो । मान्छेहरु फोटो–सेल्फी खिच्न, टिकटक बनाउन र भिडियो लिन व्यस्त थिए । त्यसैलाई साक्षी राखेर दुई–चारवटा भिडियो क्लिप लिएँ । सेल्फी खिचें । नेपालको हवाई क्षेत्रमा जति आजको दिन महत्वपूर्ण छ, वैयक्तिक रुपमा मेरा लागि पनि उत्तिकै । म पनि पहिलोपटक काठमाडौंपछिको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल टेकेको छु । र, पहिलैपटक डोमेस्टिक यात्रा गरेको छु । यसकारण पनि वैशाख १५ मेरा लागि सुविशेष छ । 

विमानस्थल घुमें एकछिन । निर्मित भौतिक संचरना र भव्यताले मन लुट्यो । विदेशतिर देखेका विमानस्थलको झल्को गौतम बुद्धले दियो । राष्ट्रिय गौरवको आयोजनका रुपमा लिइएको यो विमानस्थल हामी नेपालीहरुकै गौरव हो । जहाँबाट आगामी जेठ २ गते बुद्ध पूर्णिमादेखि नियमित रुपमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान हुनेछ । 

काठमाडौं फर्किने समय भयो । 

यसपटक अलि बाठो भएँ । चाँडै जहाजभित्र छिरीवरि पखेटा नपर्ने झ्याल खोजेर बसें । समय भएपछि जहाजका पांग्रा रनेवमा गुडे । हेर्दाहेर्दै भुइँ छाड्यो । 

र, छाडियो प्रिय बुद्धभूमि पनि । 








 









  • Share:

You Might Also Like

0 comments