दिल्ली दुःख

By Meenraj Basanta - 4:28 AM


दुःखहरू मानवजीवनदेखि भिन्न छैनन् । यिनै दुःख हाम्रो ‘स्पिड लाइफ’का ब्रेकर हुन् । उत्प्रेरक पनि हुन् । दुःखले नयाँ–नयाँ ज्ञानका अध्याय सिकाइरहेको हुन्छ । अझ यात्रामा आइलाग्ने दुःख त रोमाञ्चक र आजीवन स्मरणीय हुन्छन् । 
दुःखका कुरा गरिरहँदा अकबर र बीरबलबीच भएको एउटा संवाद स्मरण आउँछ । एकपटक राजा अकरबरले मन्त्री बीरबललाई भनेछन्, ‘तिमी यस्तो कुरा लेख जुन सुखमा पढ्दा पनि अर्थवान् होस् र दुःखमा पढ्दा पनि ।’ त्यसपछि बीरबलले लेखेछन्, ‘यो समय पनि छिट्टै बितेर जानेछ ।’
यसपालिको यात्रामा दिल्ली जाने योजना बनाएको थिइनँ । कारण दिल्लीमा गफ गर्नेबाहेक ओत लाग्न सकिने कोही बन्धुबान्धव थिएनन् । हुन त एउटी साथी उतै घरजम गरेर बसेकी छे भन्ने थाहा थियो । तर, उसको घर गए श्रीमान्लाई आदर गर, शंका नहुने तरिकाले परिचय देऊ, छोराछोरीलाई खिर्चीमिमर्ची लगिदेऊ गर्नुभन्दा नगएकै वेश भन्ठानेँ ।
कताकताबाट फेसबुकमा जोडिएका दिल्लीबासी एक मित्र थिए, सत्यभान सिंह । कथं दिल्ली पुगिहालेछु भने समस्या पर्ला कि भनेर लजाइलजाई उनको नम्बर मागेर गुटमुटाएको थिएँ । मुजफ्फरनगरबाट उनीसँग फोनमा कुराकानी गरेँ । ‘आइये, आपका स्वागत है’ भनेपछि नाकका पोरा फुल्ने भइहाले । कसैले ‘आउनु, तपाईंलाई स्वागत छ’ भन्छ भने ‘खान पाइन्छ कि पाइँदैन ? बस्ने बासको बन्दोबस्त छ कि छैन ?’ भनेर सोध्ने कुरा भएन । म सोझै दिल्ली पुगेँ ।
नोएडा अडिएको थिएँ केही दिन । समीर बेलबासे भाइले निकै सहयोग गरेका थिए । त्यहाँबाट बोटानिकल गार्डेनको मेट्रो चढेर राजीव चोकहुँदै विश्वविद्यालय स्टेसन उत्रेँ । त्यहाँबाट रिक्सामा सरर दिल्ली युनिभर्सिटी । सत्यभान बाटोमा आँखा बिछ्याएर मलाई नै पर्खिबसेका रहेछन् । फेसबुकमा चिनेको भरमा सहयोग गर्न तम्तयार उनीप्रति असीम श्रद्घा पलायो । त्यस युनिभर्सिटीका कुनाकाप्चा पनि उनैले घुमाइदिए ।
युनिभर्सिटीको बाहिरपट्टि बसेर चियाको चुस्कीसँगै हिन्दी र नेपाली साहित्यको बारेमा गफिँदै थियौँ । उनका धेरैजसो कुरामा मैले मुख नखोलेरै ‘हुँ हुँ’ गरिराखेको थिएँ । किनकि मेरो ध्यान ‘भरे कहाँ सुत्ने होला’ भन्नेमै केन्द्रित थियो । ‘अच्छा जी, एकबात बताइए । इधर अगलबगल में होटेल तो मिलेगेँ न, ठहरने के लिए’ मस्त गफिरहेका बेला इतर प्रसंग ल्याएर जोड्नु त्यति बुद्धिमता थिएन । तर, मेरो दिल्लीको ठूलो समस्या नै यही थियो । यी मित्रकोमा बास बस्ने ठाउँ छ कि छैन भनेर सोध्नुभन्दा यसरी छड्के हानेर बुझ्नु उपयुक्त लाग्यो ।
मित्रले ओठमा पुर्याएको चिया स्पर्श नगराईकन तल झारे । ‘मुझे बहुत दुःख है’ मतिर केही पग्लिएका आँखाले हेर्दै भने, ‘दिल तो कहता है आपको मेरे साथ ही रखुँ, पर अभी कुछ समस्याएँ हैँ, खुद संघर्ष कररहा हुँ, अतिथि के लिए कुछ बन्दोबस्त कर नहीँ सका हुँ ।’ निन्याउरो मुख पार्दै मलिनो स्वरमा भने । ‘कोइ बात नहीँ जी’ मैले चिया सुरुप्प पारेँ । उनले अब चियाको गिलास ओठतिर लगे ।
चिया पिइसकेर हामी करोडीमल कलेज पुग्यौँ । त्यहाँ प्रोफेसर डा. बलि सिंह, कवि शम्भु यादवलगायत गन्यमान्य थिए । ती सबैसँग सत्यभानले परिचय गराइदिए । सत्यभान निकै राम्रो जनसम्बन्ध भएका मान्छे हुन् भन्ने यहीँबाट थाहा लाग्थ्यो । खल्तीमा आफ्नै प्रकाशन ‘अनंग प्रकाशन’को भिजिटिङ कार्ड बोकेर हिँड्छन् । आवश्यक पर्दा निकालेर देखाउँछन् । आफू कविताप्रेमी भएकाले होला, कवि भेट्दा औधी आनन्दको आभाष भयो । त्यहाँ पनि उनले प्रोफेसरहरूसँग एउटै कुरा राखे ‘यहाँ पर कोइ ठहरनेका जगह होगा ?’ म उनका कुराले लज्जावतीझैँ निहुरिन पुगेँ । तर उनले मेरा लागि गर्न खोजेको सहयोगको जति प्रशंसा गरेपनि कम हुन्थ्यो ।
दिल्ली युनिभर्सिटीकै नजिकै अर्को कलेज पनि छ । नामचाहिँ दिमाखको हाँडीमा भुटेर खाइसकेछु । दिउँसो कुनै मासिक पत्रिकाको विमोचन कार्यक्रम रहेछ । सत्यभानले ‘त्यहाँ पनि जानुपर्छ, कमसेकम केही सिक्न त पाइन्छ’ भने । अझ उनको भनाइ त यस्तो थियो, ‘वहां के प्रोफेसर को मैं अच्छे से जानता हुँ, उसमें अतिथिगृह भी है, अगर आपको दिलवा सकुँ तो मुझे भी सुकुन मिलेगा ।’ त्यो दिल्लीको मध्य गर्मीमा उनको वृद्ध बाइकमा बसेर सीधै कार्यक्रमस्थल पुग्यौँ । दिमाखमा यही एक कुराले अनेक कुरा खेलाइराखेको थियो । समयमै बासको प्रबन्ध गर्न नसकेकाले जहाँ जाऊँ, गह्ँगो झोला र क्यामेरा बोकेरै हिँडिरहनुपरेको थियो । यसै पनि गर्मीले टाउको पटपटी फुटेकोझैँ दुखेको थियो । म हत्तुहैरान थिएँ । मभन्दा बढी परेसान मित्र सत्यभान थिए । हैट ! दिनभर आफ्नो व्यवसाय छाडेर एक अजनबी मान्छेलाई सहयोग गर्न यसरी विरलै हिँड्छन् कोही ।
कार्यक्रमको विसर्जन भयो । आएका श्रोता–दर्शक क्रमशः पातलिँदै गए । तर हामी ? सत्यभान एक प्रोफेसरसमक्ष कुरा राख्न कुरिराखेका थिए । प्रोफेसर भने प्रमुख अतिथिसँग व्यस्त देखिन्थे । मचाहिँ सत्यभानलाई पर्खिबसेको थिएँ । भारतमा दिल्लीबाहेक प्रत्येक राज्यमा साथीभाइहरू छन् । यसअघिको यात्रामा साथीभाइकै सहयोगमा खाने, बस्ने, घुम्ने चलिराखेको थियो । दिल्लीपछिको यात्रामा पनि त्यो लागू हुनेवाला थियो । नेपालबाटै सबै च्यानल मिलाएर आएको थिएँ । तर, दिल्ली आउँदा लाग्यो, एक–दुई रात होटेलमा बसेर फरक पर्दैन । मैले सजिलै होटेलमा बस्ने मनस्थिति बनाएको थिएँ । कलेजका प्रोफेसरले सबै स्टाफ गइसकेकाले भोलि मात्रै सहयोग गर्न सक्ने बताएछन् । त्यहाँबाट निराश–निराश फेरि दिल्ली युनिभर्सिटीको बाहिरपट्टि आइपुग्यौँ । जहाँ बसेर बिहान चिया पिएका थियौँ ।
‘देखिए, कोइ आपके दोस्त–वोस्त होँं तो फोन किजिए । आज के लिए सहयोग मिलेगा तो कल हम खुद उपाय ढुँढ लेंगे,’ मित्रले भने । उनलाई यो थाहा थियो, कि दिल्लीमा म आउनुको आधार नै उनी हुन् । साहित्यप्रति लगाव भएका र स्वयंले प्रकाशन गृह चलाइराखेका उनले एउटा लेखकलाई यसै बितरा पार्नुहुन्न भन्ने कुरा पनि नबुझेका थिएनन् । सत्यभानकै आग्रहमा हाइहेलो गर्नेबाट पनि केही सहयोग मिल्छ कि भनेर फोन लगाएँ । तर, भोलि फलानो–फलानो ठाउँमा भेटेर चिया खाम्ला, आउनुहोला भनेर टारे । अहिलेसम्म अनुहार पढेर चिनिएकाको बल्ल मन पढ्न सकेँ भनेर खुसी लाग्यो । दुःख त नभने पनि आफ्नो ठाउँमा छँदै थियो ।
सत्यभानले आफ्ना निकटवर्तीलाई फोन खड्काउन थाले । कसैले ‘जगह है’ भनेनन् । फोन गरेर सोध्दासोध्दै अँध्यारो हाम्रो आँखावरिपरि खेलिसकेको थियो । मलाई लाग्यो, किन मित्रले दुई–चार पैसा जोगाइदिऊँ भनेर यसरी मरिहत्ते गर्दै छन् । एक–दुई रात सामान्य होटेलमा बास बस्दैमा के हुन्थ्यो र ? तर, त्यसो होइन रहेछ । विश्वविद्यालय आसपास कुनै होटेल छैनन् भन्ने कुरा प्रस्टसँग बल्ल थाहा भो । कुनै गेस्टहाउस नभएको कस्तो ठाउँ हो ? भन्ने पनि लाग्यो । भएका होटेलमा एक रात सुत्ने पैसाले बाँकी दश दिनको यात्रा गर्न सकिन्थ्यो । सीमित थियो पैसा, असीमित त होइन !
दुईमध्ये कसैको फोन बज्यो । दुवैले आ–आफ्नो गोजीबाट निकाल्यौँ । सत्यभानको फोन बजेको रहेछ । उनी गफमा तल्लीन भए । पछि उनैले बताए, कि पहिले उनले फोन गरेमध्ये एक साथीले बोलाएको रहेछ । साथीको भाइको कोठामा एकजना सुत्न मिल्ने खबर थियो । यो खबर कुनै सानो खुसीको खबर थिएन । ‘रात काट्न पाए त भइहाल्यो नि । खाना त दुई–चार छाकै नखाए नि मरिँदैन’ मनले भन्यो ।
घडी हेर्दाहेर्दा दुई घन्टा बिते । तब मात्रै आए फोन गर्ने साथी । उनकै पछि लागेर गएँ । पेटमा भोकले ग्राबेल खनिसकेको थियो । घरि पहिरो खसेको आवाज आउँथ्यो, घरि पड्केको । कोठामा जाँदा त बत्ती पनि थिएन । त्यो रात भोकभोकै सुतेँ । निद्रा त लागे पो ! मलाई खानाभन्दा पनि बासको खाँचो थियो, जुन जोहो भएको थियो । फेरि भोलिपल्ट । बिहान उनीहरूसँगै भोकभोकै निस्केँ । कलेजमा खाँदा रहेछन् उनीहरूले । मैलेचाहिँ बाहिरै खाएँ । दिनभर उही झोला र क्यामेराको भार बोकेर कुदिरहेँ । हिजो आपत्मा शरण दिए भन्दैमा आज पनि चरीले जसरी पुरानै गुँड फर्केर आउनु थिएन । बरु नयाँ गुँड खोज्नु थियो । सत्यभानले ‘आज के लिए सबकुछ बन्दोबस्त हो जाएगा’ भनेपछि थामिनै कर लाग्यो । जब साँझ पर्यो, चराहरू आफ्नो बासस्थानतिर फर्किन लागेका देखिए, मान्छेहरू बजार वा अफिसबाट घर सम्झेर फर्किन थाले । तर म ? उनै सत्यभान भरोसा ।
बासको टुंगो थिएन । फेरि भौँतारिन सुरु भयो । चाँदनी चोकका कैयौँ गल्ली, कैयौँ आश्रममा चहार्दा कतै बास भेट्ने लक्षण देखिएन । म त के परेसान थिएँ र त्योभन्दा बेसी मेरा मित्र थिए । ‘आज के लिए सबकुछ बन्दोबस्त हो जाएगा’ भन्ने कुराको ब्रेकफेल हुनै लागेको थियो । तर, आस मारेको एउटा धर्मशालामा कसोकसो एउटा कोठा छ भन्ने खबर पाइयो । पत्यार नलागेर एकपटक होइन, तीन–तीनपटक पनि सोधियो । 
दैव ! अब त कंक्रिट बिल्डिङले पनि अक्सिजन फ्यालेजस्तो महसुस भयो । प्राणायामको शैलीमा लामो र गहिरो सास तानेँ । बासको जोहो भएपछि मित्र पनि ढुक्क देखिए । ‘जब अगली बार आना होगा, अपना इन्तजाम अच्छे से करके आना, आने से कुछ समय पहले मुझे भी खबर देना’ छुट्ने वेला सत्यभान मजस्तो हुस्सुलाई अर्ती दिएर छुट्टिए । यात्रामा आइलागेका दिल्लीका यी दुःख मेरा निजी दुःख हुन् । दुःखले पनि एउटा गतिलो पाठ पढाएर गएको छ । थाहा थियो, अब त झन् पक्का भयो कि दुःखहरूले मान्छेको साथ कहिल्यै छोड्दैनन् । र, आफ्ना भन्नु पनि यिनै दुःख हुन् ।

  • Share:

You Might Also Like

0 comments