मीनराज बसन्त । इतिहासमा लेखिएको छ— असिरीयाका राजालाई ‘शाहजादी’ पीत गुलाब मन पर्थ्याे । मन परेकै कारण यसैसँग अघोर प्रेम गर्थे ।
तर, मुगल बेगम नुजरहाँको मन भने रातो गुलाबमा थियो । रातो गुलाब नै प्रिय लाग्थ्यो उनलाई । मुगलानी जेबुन्निसा आफ्ना फारसी भाषामा लेखिएका सायरीहरुमार्फत भन्ने गर्दथे— ‘म यतिविघ्न सुन्दर छु कि मेरो सौन्दर्य देखेर गुलाबको रंग पनि फिक्का लाग्नेछ ।’
कुनै पनि उद्यानको मूल्यांकन त्यसमा फुलेका फूलहरू, तिनको सुगन्ध–सौन्दर्यताबाट प्रष्टिन्छ । जहाँ गुलाब हुँदैन त्यहाँ न वाटिका, वाटिकाझैं लाग्छ । न अन्य फूलहरू फूलसरह लाग्छन् । गुलाब एक मात्र यस्तो फूल हो, जसले अन्य सबै फूलहरुको एकमुष्ट भुक्तानी गरिदिन्छ । अर्थात् अन्य फूलहरुबीचको दूरी एक्लैले परिपूर्ति गरिदिन्छ ।
सायद यही बहानामा यसपालीको प्रणय दिवसमा पनि लाखौं कलिला गुलाबको हत्या गरेर मनाउने छन् मान्छेहरुले । र बाँड्नेछन्, अनेकन खुसीहरु ।
कुनै पनि शब्दमा जति अभिव्यक्त गरे पनि सदा अपुग रहने भनेकै एक मात्र तत्व हो, प्रेम । संसारमा प्रेमलाई सूत्र बनाएर एक–से–एक उत्कृष्ट काव्य सिर्जना भएका छन् ।
हाम्रै नेपाली समाजमा पनि प्रेम उदार र फराकिलो बन्दै गइरहेको छ । प्रेम अभिव्यक्तिका पुल–पुलेसाहरु थपिँदै गइरहेका छन् । विशेषतः अहिलेको दोस्रो पुस्ताले यसलाई मनग्य महसुस गरिरहेको पाइन्छ । नेपाली साहित्यमा पनि प्रेमलाई आधार बनाएर थुप्रै कृति लेखिएका छन् । गजल, मुक्तक, हाइकुदेखि सुगम गीत–संगीतको फाँटमा समेत उत्तिकै मौलाउँदो छ प्रेम ।
सायद, प्रेमल नै बाँचेको छ क्यारे यो संसार पनि ।
त्यही प्रेमलाई पर्वको रुपमा रुपान्तरित गरी प्रत्येक अंग्रेजी वर्षको दोस्रो महिना यानकी फेब्रुअरी १४ का दिन यसलाई प्रेम पर्वको रूपमा मनाइँदै आइएको छ । नेपाली समाजमा यो मनाउनु कत्तिको जायज छ, यसमाथि छुट्टै बहस जरुरी छ ।
भ्यालेन्टाइन्स डे वा प्रणय दिवस यसैका सापेक्ष नामहरु हुन् । सन् ४९६ (मिति पनि विवादित छ) मा सेन्ट भ्यालेन्टाइन नाम गरेका एक व्यक्ति थिए । उनले आफ्नो प्रेमलाई जीवन्त बनाउका निमित्त प्रेमकै लागि समर्पण स्वरुप प्राण आहुती गरे ।
तर, यिनकै नाममा पनि विभिन्न तर्कनाहरु प्रस्तुत भइरहन्छन् अझै पनि । कोही सेन्ट भ्यालेन्टाइनलाई चर्चको पादरी भएको बताउँछन् भने कोही तत्कालीन रोम साम्राज्यका सेना भएको दाबी गर्छन् । यद्यपि यी र यस्तै मतभेदका बीच पनि उनलाई सच्चा प्रेम प्रणेताका रुपमा लिइन्छ । र, उनकै सम्झनामा ‘भ्यालेन्टाइन्स डे’ मनाउने गरिएको पाइन्छ, तत्समयदेखि ।
उसो त प्रेमको पहिलो पुजारी पनि सेन्ट भ्यालेन्टाइनलाई नै मानिन्छ । उनले नै प्रेमको नाउँमा पहिलो प्रेमपत्र लेखे भन्ने विश्वास पनि छ संसारभरका प्रेम पुजारीहरुलाई । इतिहासलाई हेर्ने हो भने तेस्रो शताब्दीतिर रोमन राज्यका राजा क्लाउडियस द्वितीयले सेनाहरु लडाइमा जानुपर्ने कारणले गर्दा कोही पनि वैवाहिक बन्धनमा बाँधिन नपाउने नीति ल्याए । तर, सेन्ट भ्यालेन्टाइनले उक्त नियमको उल्लंघन गर्दै आँफूखुसी सुटुक्क विवाह गरे । जसका लागि उनलाई मृत्युदण्ड दिइयो । तदुपरान्त उनकै सम्झनामा भ्यालेन्टाइन्स डे मनाउन थालिएको पाइन्छ ।
यति हुँदाहुँदै कुनै पनि धर्मग्रन्थमा उनको योगदान र प्रेमको चर्चा भएको भने पाइँदैन । तर, उनको त्यागको उच्च कदर गर्दै विश्वप्रसिद्ध लेखक चाउस, जोन डन विलियम्स, शेक्सपियरले आफ्ना कृतिमा सम्मान स्वरुप उनको नाम उल्लेख गरेर उनीप्रति सम्मान प्रकट गरेका छन् । तसर्थ यो प्रेमको पर्व धार्मिक हिसाबले भन्दा प्रेम गर्ने स्वाधिकारको पर्वको रुपमा मनाउने गरिन्छ ।
त्यही अनुक्रमलाई पश्चिमा पुस्ताले निरन्तता दिइरह्यो । र, आज पश्चिमा संस्कार नै हाबी हुँदै गइरहेको नेपालमा पनि बडो धुमधामका साथ युवाबीच ‘प्रेम दिवस’ मनाइन्छ । बर्सेनि भारतबाट करोडौंको गुलाब नेपाल भित्रिन्छ ।
एकतर्फ भ्यालेन्टाइनले लेखेको पत्र नै विश्वको पहिलो प्रेमपत्र हो भनिरहँदा अर्काेतर्फ हिन्दु धर्मग्रन्थका चर्चित र बौद्धिक पात्र श्रीकृष्णका लागि रुक्मिणीले लेखेको पत्र नै विश्वको सबैभन्दा प्राचीन र दुर्लभ प्रेमपत्र हो भन्ने प्रसंग पनि सँगसँगै जोडिन आउँछ । श्रीमद्भागवतमा उल्लेख गरिएअनुसार वृषभानुनन्दिनी रुक्मिणीले संस्कृतका सात श्लोकमा लेखेको प्रेमपत्र नै पहिलो प्रेमपत्र मानिएको छ । लेखिएको छ—
श्रुत्वा गुणान् भुवन श्रृण्वतां ते ।
निर्विश्य कर्णविवरैर्हरतोऽङ्गतापम् ।।
रुपं दृशां दृशिमतामखिलार्थलाभं ।
त्वय्यच्युताविशति चित्तमपत्रमं मे ।।
रुक्मिणी श्रीकृष्णलाई प्रेम गर्थिन् । एक दिन उनलाई थाहा लाग्यो कि उनका दाजु रुक्मीले उनको विवाह शिशुपालसँग गर्ने तय गरे । अनि श्रीकृष्णको नाममा सात श्लोकको प्रेमपत्र लेखेर कुण्डिनपुरका एक जना वटुकमार्फत श्रीकृष्णलाई सम्प्रेषण गरिन् । जब श्रीकृष्णलाई ब्राह्मण बटुकले रुक्मिणीद्वारा दिइएको पत्र थमाए, श्रीकृष्णले उनलाई नै पढेर सुनाउन आग्रह गरे । र, वटुकले उक्त पत्र सर्सर्ती पढेर सुनाइदिए पनि ।
यहाँ माथि उल्लेख गरिएको श्लोक तिनै सात श्लोकमध्यको अर्धश्लोक मात्रै हो । जसको अर्थ बन्छ—‘प्रभु, जबदेखि मैले हजुरका गुणहरु सुनेँ मलाई हजुर मन पर्न थाल्नुभयो । चाहन थालें मैले । हजुरमै समर्पित भइसकेँ म । यसर्थ मलाई हरण गरेरै भए पनि आँफूसँगै लैजानुहोस् । साँच्चिकै हजुरको आगमन भयो भने मैले प्रसाद स्वरुप हजुरलाई नै प्राप्त गर्नेछु । हजुर नै मेरो सबथोक हुनुहुन्छ, सबथोक ।’
हामी प्रेममा विश्वास गर्ने मान्छे हौं । प्रेम गर्ने कला छ हामीसँग । यहाँ सेन्ट भ्यालेन्टाइन र श्रीकृष्ण–रुक्मिणीको प्रसंगले पनि केवल पवित्र प्रेमलाई नै प्रस्ट्याउन खोजेको छ । प्रेममा कुनै जातीयता, धार्मिक या भौगोलिक अवस्था लागू नहुने भएकोले यस पर्वको विश्वव्यापीकरणमा सफलता मिलेको हो । पश्चिमा संस्कृतिमा भिजिसकेको यो पर्व पछिल्लो समयमा नेपालका युवायुवतीबीच पनि असाध्यै लोकप्रिय बनेको छ ।
मन परेको मान्छेलाई रातो गुलाब दिने, कार्ड पठाउने र कतिपय प्रेम सम्बन्धहरु यसै दिवसमा प्रस्ताव राखेर पनि सुरुवात हुने गरेका छन् । यति मात्रै होइन, सोही दिनमा अन्त्य गर्नेहरु पनि उत्तिकै भेटिन्छन् ।
विश्वमा गुलाबका अनेक रंग र प्रजाति भएत पनि प्रणय दिवसका लागि ‘रातो गुलाब’ (रेड रोज) उपयुक्त मानिन्छ । यो गुलाब प्रेम र मनोभावनाको सटिक प्रतीक हो । यसलाई प्रेम प्रस्तावनाका लागि नै अर्पण गर्ने प्रचलन नेपाली समाजमा पनि झांगिइसकेको छ । यदि कसैले फूल अस्वीकार गरिदिएको खण्डमा उसप्रति गरेको प्रेमको लगानी डुब्यो भन्ने संकेत गर्दछ । यही प्रेमको अभियानलाई सफल बनाउन विश्वमा अर्बौैं अर्ब गुलाबका फूलहरुको बली दिइन्छ । हत्या गरिन्छ ।
र, दुनियामा कुनै बेला एउटा यस्तो देश थियो, जहाँ भ्यालेन्टाइन्स डे का दिन रातो लगाउन र बेच्न प्रतिबन्ध लगाइएको थियो । जुन देश हो, साउदी अरब । पछिल्लो समयमा त्यसलाई खुकुलो पारिएको छ । तर, भ्यालेन्टाइन्स मेन्सन गर्न नपाइनेसमेत भनिएको छ ।
अब अर्काे पाटोको चर्चा गरौं । ‘भ्यालेन्टाइन्स डे’ समाजमा कुरीति र कुसंस्कारलाई पनि सँगसँगै लिएर आएको देखिन्छ । बहाना भ्यालेन्टाइनको पारी फूलहरुको हत्या, खुलेआम यौनजन्य क्रियाकलाप, उपहारको नाउँमा फजुल खर्च गरिनु यसका विकृत पक्ष हुन् ।
उसो त प्रेम गर्ने मान्छेका लागि हरेक दिन प्रणय दिवस साबित हुन्छ । लौकिक कुराहरूभन्दा आत्मिक सम्बन्ध नै प्रेम सम्बन्धहरु हुन् । तथापि पश्चिमा संस्कृतिलाई पछ्याउने नाममा नक्कल गर्दै आफ्ना मौलिक, जातीय तथा सामाजिक पर्वहरूलाई ओझेलमा पारेको देखिन्छ । आफ्ना मौलिक अनि परापूर्वकालदेखि चल्दै आइरहेका धर्म, संस्कृतिक जगेर्ना गर्न पछिल्लो पुस्ता उत्साहित छैन । यद्यपि प्रेममा समर्पित बन्न पाउने नैसर्गिक अधिकार सबैलाई छ ।
0 comments