टक्क अडिन्छु । स्मृतिपटलमा बाँधेको घडी हेर्छु । कम्पनीको नाम छ- विगत । ओहो ! आमाको काख छोडेर सहर पसेको दुई दशक बितिसकेछ । कति छिटै चिप्लिएर बगेछ समय । कहिले पढ्ने बहानामा । कहिले जागिरको बहानामा । कहिले यत्तिकै बहानै-बहानामा । भनिहालेँ नि, बहानामा भनेर । तर उल्लेख्य रूपमा आमालाई महसुस हुने गरी गर्न सकेकोचाहिँ आजसम्म केही छैन । उहाँकै भाषामा भन्दा 'केही ख्याँसेनस्' जस्तै भाको छ ।
कहिले सहर, कहिले परदेश । परदेश हुँदा त ठीकै छ, आमाको चित्त बुझ्यो होला वा बुझाउने ठाउँ बन्यो होला- छोरो विदेशमा छ, बिग्रेको छैन । दुई चार पैसो भए नि बचाएको होला । यसो भो भने आफ्नै भविष्य राम्रो होला । तर देशभित्रकै कुनै सहरमा हुन्छु/छु गाउँमा एक्लो घर रुँगिरहेकी आमाको चित्त बुझ्दैन भन्ने मलाई राम्रोसँग थाहा छ । त्यसका विविध कारण छन् ।
आमाले नै भन्नुभएको हो- आमाहरूको आँखामा छोराछोरी कहिल्यै बढ्दैनन् । अर्थात् जहिल्यै साना, अञ्जान र मायालाग्दा नै हुन्छन् । यसैलाई पुष्टि गर्न एउटा कथा हाल्नुहुन्थ्यो । त्यो कथामा कुनै एउटा राजा थियो । एकदिन ऊ गाउँमा आउने हल्ला चल्यो । हल्ला चल्दाचल्दै अन्ततः ऊ आइगयो । राजालाई हेर्न भनेर ग्रामवासीहरू तँछाडमछाड गर्दै कुद्न थाले । कोही खाँदाखाँदैको जुठो हात लिएर कुदे । कोही छोराछोरीलाई रुवाउँदै काखमा च्यापेर कुदे । कति लड्दै, उठ्दै कुदे भने कति त मान्छे कुल्चिँदै पनि कुदे । यसरी विशाल भीड जम्मा भयो । त्यही भीडमा एउटी बूढी आमै पनि थिइन् । जब बल्लतल्ल भीड छिचोलेर राजालाई वरैबाट देखिन्, कुनै आश्चर्य लागेन । उनी भीडभित्रै बरबराइन्, 'कत्ति न राजा राजा भनेको त्यै जङ्गे कान्छो त होइछ केरे ।' जङ्गे कान्छो अरु कोही नभएर उनकै छोरा थियो ।
त्यतिबेला कथा सुनियो, सकियो । रिसाएको भए खुसी भैयो होला । भात नखाएर झगडा गरेको भए कथाको सितनसँग खाइयो होला । तर यस कथामा आमाले थाहा नपाएरै छोरा राजा कसरी भयो भन्ने जिज्ञासाले मलाई धेरैपछि मात्र लखेट्न सुरु गरेको थियो । आज पनि लखेटिरहन्छ । फेरि सोच्छु, कथा न हो ।
तीन दशक हाराहारीमा पुगेको म, आज पनि आमाको आँखामा सानै छु । हेराइमा मात्र होइन व्यवहारमै पनि । हिजोजस्तै आज पनि आमासँग उत्तिकै डर लाग्छ । यतिका वर्ष सहर पसेर के कमाएँ, कति कमाएँ मैलाई थाहा छैन । तर उस्तै परे गाउँ गएर फर्कंदा भाडा भनेर हजार-पन्ध्रसय उल्टो दिनुहुन्छ । कहिलेकाहीँ लाजै पचाएर आफैं मागेको पनि छु ।
परिवारको कान्छो सदस्य भएका नाताले मप्रति विशेष लगाव र चिन्ताधिक हुनु स्वाभाविक हो । झन् बाले मध्यमार्गमै छाडेपछि आमाले थप चुनौतीको सामना गर्नुपर्यो । चरम गरिबीका कारण सामाजिक भेदभावको कुनै लेखाजोखा छैन । पारिवारिक थिचोमिचो उस्तै । यी सबैसँग पौँठेजोरी खेल्दै मलाई हुर्काउनु चानचुने कुरा थिएन । मलाई लाग्छ, संसारमा सच्चा क्रान्तिकारी भनेका आमाहरू नै हुन् ।
त्यसो त बा हुनुले न आमाको जीवनमा; न हाम्रो, कुनै भूमिका खेलेन, जति खेल्नुपर्थ्यो । आमाको हकमा बा (श्रीमान्) को अर्थ रातो रङसिवाय थप केही थिएन । नत्र मेरा बा आफ्नी श्रीमतीसँग अलग्गिएर गाउँमै दाजुभाइको घरमा डेरा गरी बस्नुहुन्नथ्यो । आफ्नो नामको जमिन हाम्रो पिठ्युँपरी गाउँलेलाई कमाउन दिएर मजा लिनुहुन्नथ्यो । हामीलाई भोकै राख्नुहुन्थ्यो । सामान्यतया पुरुषलाई मर्द भन्छ हाम्रो समाज । निर्ममताकासाथ भन्नुपर्दा व्यावहारिक रूपमा मेरा बा ना-मर्द नै हुन् । मैले त राम्रोसँग बाको अनुहार पनि सम्झन्नँ । बाको योगदानबारे सम्झिनैपर्दा, म जन्मनुमा केही सहयोग पक्कै थियो । बस् ।
शरीरबाट त हरायो-हरायो, तीस-पैंतीस वर्षकी एउटी महिला विधवा हुँदा थाहा छैन आमाका कति सपनाहरूबाट रातो रङ हरायो । कति खुसीहरूमा ग्रहण लाग्यो । आजकोजस्तो फराकिलो समय हुन्थ्यो र अलिकति मभित्र चेतना पसिसकेको हुन्थ्यो भने आमालाई रङमा विधवा बन्न नदिँदो हुँ । वा जीवनलाई थप गतिशीलता दिन उपयुक्त सारथि खोज्न आग्रह गर्दो हुँ । या फेरि उहाँले गरेको कुनै ठोस निर्णयलाई चुपचाप स्वीकार गर्दो हुँ । जब मभित्र यो चेतना आयो, बैँसालु दिन लगभग सकिएका थिए ।
****
आमा अलि खरो स्वभावकी नै हुनुहुन्छ । त्यसैले त डर लाग्छ भनेको नि ! तर हृदयको कञ्चन । स्पष्ट । सायद आमाहरू यस्तै हुन्छन् कि त । फोन गर्नुअघि पनि डराउँछु । यही डरले जब केही दिनसम्म फोन गर्दिनँ, आफैँ गर्नुहुन्छ र भन्नुहुन्छ,'मलाई सम्जिने फुर्सत छैन केरे तिमर्लाई ।' आमाका कुरामा व्यङ्ग्य मिश्रण हुन्छ ।
हिम्मत जुटाएर हिजो मात्रै आमालाई फोन गरेको थिएँ । उहाँको एउटै गुनासो रहन्छ मसँग, 'जागिर खाइनस् । पैसो कमाइनस् । सानोतिनो जागिरै खाएको भए नि यतिका वर्षसम्म कति भैसक्थ्यो', आमा हिसाब गर्नुहुन्छ, 'ल मानम् महिनाको पाँचै हज्जार बचाकाभाएनि वर्षको साठी हजार हुन्थ्यो । दुई वर्षको एक लाख बीस हज्जार...। खालि नाम-नाम भनेर हिन्चस् । के नामले खान दिन्छ ?'
यी पैसाका कुरा सुन्दा रिस उठ्थ्यो, उठ्छ । पछि मन्थन गर्छु; हो त, आमाले ठीकै भन्नुभो । उहाँको अनुभव बोलेको हो । आफूलाईजस्तो आफ्ना सन्ततिलाई नपरोस् भनेर सचेत गराउनुभएको हो । बेलैमा सञ्चयन भएन भने भोलि रोग लाग्ला, बूढेसकालले छोला, सन्तति पालनपोषण गर्नुपर्ला भन्ने कुराको पूर्वसंकेत दिनुभएको हो ।
तर आमालाई कसरी भनूँ, जागिर खानै मन लाग्दैन ।एकताका एउटा मिडियामा काम गरेथेँ । त्यसको पारिश्रमिक पाउन ठीक एक वर्ष लाग्यो । त्यो पनि यति सजिलै कहाँ ?
सत्य हो, सहर पसेदेखिन् कमाएर मैले आमालाई दिएको छैन, दिनुपरेको छैन । उहाँ आफ्नो खर्च बाख्रापाठा पालनबाट चलाउनुहुन्छ । खेती लगाउने, घरखर्च, ओषतिमूलो सबै त्यसैले चलाउनुहुन्छ । खै कसरी चलाउनुहुन्छ यति धेरै खर्च । 'कसरी चलाउनुभाछ आमा ?' भनेर सोधूँ भने उल्टो खप्की खाने पक्का छ । 'कमार, ल्यार दिइतिस् र सोद्चस्' भन्नुभयो भने मैले मुख देखाउने ठाउँ हुँदैन । बोल्ने शब्द हुँदैन । बरू चुप लाग्यो, बस्यो ।
****
गाउँमै जन्मेँ; हुर्के, बढेँ । मेरा कलिला रेसाजन्य जराले गाउँकै माटोमा भर खोजे । बिस्तारै उभिँदै गएँ । विकसित हुँदै गएँ । एकदिन समयको अनपेक्षित हुरी चल्यो । त्यही हुरीले चुँडाइदियो एउटा पात र उडाइलग्यो गाउँबाट । अहिले म त्यही एउटा पात सहरको नग्न निलाम्बरमाथि यता र उता गरी फरफराइरहेको छु । मेरो मूल जरा अझै गाउँमा मलाई नै पर्खिरहेको छ ।
हो, सहर पसेदेखिन् मैले धेरैकुरा सिकेँ । यो घमण्ड होइन । गाउँको म एउटा पाखे, जसको घरमा चर्पी थिएन । एकाएक सहरमा अत्याधुनिक, सफा र चिल्लो शौचालय देखेँ । देखेर आत्तिएँ । पहिलोपटक शौच गर्न भेउ नपाएर कमोडमाथि चढेको थिएँ । हो, म भन्दै थिएँ, सहर पसेर मैले धेरैकुरा सिकेँ । कमोडमा सही तरिकाले बसेर शौच गर्न सिकेँ । गाउँले भाषिकाको सट्टा सहरिया भाषा सिकेँ । सहर पसेरै सिकेँ, आँखा मार्न । युवती पट्याउन । प्रेम गर्न । सहर पसेरै सिकेको हुँ; फिल्म (सफ्ट कोर/हार्ड कोर) हेर्न, दोहोरी गाउन । केक काटेर जन्मदिन मनाउन मैले सहरमै सिकेँ । देश चहारेँ । विदेश गएँ । यतिका धेरै चीज सिकेको मैले, किन होला खै, आमाको जन्मदिन मनाउन कहिल्यै सिकिनँ । सकिनँ ।
त्यस्तै दस/एघार वर्षको हुँदो हुँ । ममा आधारभूत ज्योतिष पढ्ने भूत सवार भयो । नजिकै गाउँ थियो, पल्लाफाँट । फाँटको एउटा भेगलाई 'बेलको बुटामुनि' भनिन्थ्यो । ज्योतिष लेखनाथ हजुरबाको घर त्यहीँ थियो ।
हजुरबा त्यो बेलाका प्रख्यात ज्योतिष हुनुहुन्थ्यो । आज पनि हुनुहुन्छ । उहाँले लेखेका चिनाउपर कुनै अर्को ज्योतिषले औँला उठाउन सक्दैनथ्यो । त्यति प्रामाणिक हुन्थे । मलाई उहाँको फलादेश गर्ने शैली गजप लाग्थ्यो । एक वाक्य फलादेश गरेपछि चुड्की बजाउनुहुन्थ्यो । अनि 'च्याङ्क्र-स्याङ्क्र' (यस्तै केही) भन्नुहुन्थ्यो । त्यो उहाँको मौलिक थेगो थियो सायद । जसको अर्थबाट सधैँ अनभिज्ञ नै रहिरहेँ ।
स्कुलपछिको समयमा म हजुरबाकोमा पुग्थेँ, कापी कलम लिएर । 'ग्राहक' धेरै भएको दिन, आँखाले इसारा गर्नुहुन्थ्यो । म फरक्क फर्कन्थेँ । अन्यथा पढाउनुहुन्थ्यो । हजुरबाकै सान्निध्यमा सिकेँ, सत्ताईस नक्षत्र । बाह्र राशि । प्रभवादि साठी संवत्सरका नाम । पुट-सम्पुटका श्लोकहरू ।
एकदिन । आमाले भन्नुभयो, 'मेरो इत्रुको चिर्कटो छ । त्यै नि चिराचिरा परिसक्यो । लएर चिना बनाउन दे तो हजुरबालाई ।'
म पढ्न जानेबेला । बाक्साको कुनाबाट चिर्कटो निकालेर हातमा थमाइदिनुभो । मैलो कागजमा काला अक्षरले केही लेखिएको थियो । त्यसमा कोठाकोठा बनेको एउटा 'टेबल' थियो । तीउपर एक-दुई गरेर अंक कोरिएका थिए । तर क्रमैसँग थिएनन् । छरपस्ट थिए । चिर्कटोमा लेखिएको आंशिक कुरा मैले पनि मुस्किलले बुझेँ होला मैले ।
चिर्कटो हातमा आयो । पढ्न जाँदा लगेर हजुरबालाई दिएँ,'आमाले भन्नुभको येस्को चिना बनाइदिनू रे ।'
'ल ल', हजुरबाले पढाउन सुरु गर्दै भन्नुभयो, 'फुर्सतमा बनाइदिम्ला हइ ।'
ट्याङ्कीमा भरिएर धारामा खसेको पानीजस्तै त रैछ नि रहर भन्ने कुरा ! पानीजस्तो रहर सकिएपछि मनको धाराबाट उत्साह झरिरहेन । तात्तातो जोस सेलाउँदै गएपछि बिस्तारै हजुरबाकोमा जान बन्द भयो । स्कुलतिरै केन्द्रित भएर । केही महिनापछि गाउँ नै छाडेर सहर पसेँ । लामो दूरीको गाडी चढ्ने र धीत मरूञ्जेल सडकमा गुडिरहेका गाडी हेर्ने लोभ थियो । पढ्ने त बहाना मात्रै ।
आमालाई घरकै कामधन्दाले बाँधिरह्यो । फुर्सद भएन । कहिलेकाहीँ ज्योतिषीकोमा जाने मेसो परिहालेको खण्डमा 'चिना बन्यो त ?' भनेर सोध्नुहुन्थ्यो रे । जवाफ आउँथ्यो, 'बनिसकिच्च । बरू कता पो परेओ छ ऐले । हेरेर भरे-भोलि पुन दिम्ला हइ ।'
यसरी ॠतु फेरिए । अयन फेरियो । र, फेरियो संवत्सर पनि । अब संवत्सर बहुवचनमा फेरिन थाले । तैपनि आमाको चिना बनेन । पछिपछि त 'ज्या ! कता परो परो' भनेर टार्ने काम भयो । आमाको चिना पनि बनेन, चिर्कटो नि रहेन । अर्थात् न रह्यो बाँस, न बज्यो बाँसुरी ।
जीवनमा जबजब अति संकष्टको घडी आउँछ (सुखका दिन अझै आएका छैनन् ।) आमाको विश्वास र आस्थाले मतिर फर्केर भनेझैँ लाग्छ, 'तेरै कारण मेरो जीवनको सम्भावित आगत-फलादेश नष्ट भयो । अझै कति दु:ख भोग्न लेखेओ छ था त हुन्तो । कम्तीमा चिर्कटो भए नि त्यही हेरेर चिना बनाउन दिनहुन्थ्यो ।'
यही साउनदेखि आमा साठी वर्षमा प्रवेशमा गर्दै हुनुहुन्छ । उहाँकै अनुसार साउनको कुनै बुधबार यो धरामा अवतरित हुनुभएको हो । तर यति नै गते हो भन्ने कुरा आमालाई थाहा छैन । यसकारण पनि आजसम्म आमाको जन्मोत्सव मनाउन पाएको/सकेको छैन मैले । आमाहरूलाई यस्ता बड्डे-सड्डेजस्ता झिनामसिना कुराहरू याद पनि त हुँदैनन् । यिनले कुनै अर्थ पनि राख्दैनन् । यत्ति हो, छोराछोरीको सन्तुष्टिको लागि आमाहरू जे पनि गर्न तम्तयार हुन्छन् ।
आस्था र विश्वास हुनेहरू भन्छन्, साउन महिना शिव-महिना हो । मेरा लागि साउन 'मातृमास' हो । एक विशेष महिना । ठ्याक्कै दिन थाहा नभए पनि मेरी आमाको जन्मदिन पनि यही महिनामा पर्छ ।
हेप्पी बड्डे आमा ।
0 comments