साथीहरू नमस्कार ।
म आफूले हेरेको पहिलो फिल्म, त्यसको नोस्टाल्जिया र अनुभव तपाईंहरूसँग साझा गर्दैछु । स्वविवेकको आधारमा । तपाईंलाई मजा लाग्न सक्छ । र, बोर पनि ।
मैले हेरेको पहिलो एवं हलमा पुगेर हेरेको नेपाली फिल्म हो- अनिष कोइराला निर्देशित- मितिनी । चरित्राभिनयमा: रेखा थापा, विपना थापा, दिलीप रायमाझी, उत्तम प्रधान, सन्तोष पन्त, शिवहरि पौडेल लगायत छन् ।
म यसकै वरिपरि केन्द्रित भएर आफ्ना कुरा साझा गर्छु ।
•••
बाल्यकाल अभाव र गरिबीको कालो बादलमुनि गुज्रियो । खाजा खान खल्तीमा कौडी हुन्नथ्यो आफूसँग । अर्मपर्म गरेर साँझ-बिहान छाक टार्दै ठीक हुने आमासँग झन् कसरी पैसा होस् । यस्तोमा फिल्म हेर्नु मेरो कल्पनाबाहिरको कुरा भो । एकदिन लास्टै खाजा खान भयो । पैसा नाइँ । टिफिन-टाइममा घर पुगेर आमासँग पैसा मागेँ- 'स्कुलमा हाजिरीजवाफ प्रतियोगिता छ । दुई रुप्याँ दिनू ।'
पटुकीको फुर्को निकालेर खोल्नुभयो । र दुई रुपैयाँ थमाइदिनुभयो । त्यो पैसाले मैले दुनोट खाएँ ।
फिल्म मेरा लागि कम महत्त्वको विषय किन पनि भयो भने हल गाउँदेखि टाढा अर्थात् बजार केन्द्रित थिए । एउटा बागलुङ बजार, अर्को कुस्मा । [आज पनि त्यही छ अवस्था ।] गाउँबाट बागलुङ बजार झर्न एकघण्टा हिँड्नुपर्ने । अझ त्यसमा अलिकति बसको यात्रा पनि । खर्च र समयको हिसाबले सम्भव भएन । यस ग्रुपका जोजो साथीहरूले बाल्यकालदेखि नै यो वा त्यो प्रकारले फिल्म हेर्न पाउनुभो, तपाईं भाग्यमानी हो । ढुक्क हुनुस् ।
पछि ०५८ पछि पढ्न चितवन झरेँ । यस्तैमा एकदिन (सायद २०५९ तिर हुनुपर्छ । मिति ठ्याक्कै भुलें) फिल्म हेर्न जाने सल्लाह भयो साथीभाइसँग । होस्टेलबाट भागेर हामी तत्कालीन ज्योति हल पुग्यौं । जीवनमा पहिलोपटक हलमा छिरेको, फिल्म हेरेको त्यहीँ हो । फिल्म उही- मितिनी ।
फिल्ममा दुई मुख्य पात्र छन्, पूजा (विपना थापा) र ज्योति (रेखा थापा) । ज्योतिको घरमा काम गर्ने वीरेको छोरी हुन्छे पूजा । एकदिन उक्साहटै उक्साहटमा स्कुल ड्रेसमै यी दुई अन्य साथीसँग मिलेर भोगटे चोर्न जान्छन् । भोगटे मालिकले ज्योतिको बाबुलाई भनिदिन्छन् । ज्योतिले आफू बच्न पूजाको नाम लिन्छे । यो सुनेर वीरेले आफ्नी छोरीलाई भकुर्छ । [नभकुरोस् पनि किन, सबै कृपा मालिकबाटै भएको छ ।] पछि ज्योतिले सत्य बोलेपछि यो कुरा केही मत्थर हुन्छ ।
शनिबारको दिन वीरे आफ्नी छोरीलाई लिएर खेतमा काम गर्न हिँड्छ । अटेर गर्दै मालिककी छोरी पनि उनीहरूसँगै जान्छे । दुवैले बसेर पोटलीमा बाँधेको खाजा खान्छन् । त्यसैबेला सर्प आउँछ र ज्योतिलाई टोक्छ । यो थाहा पाएर वीरेले घाउमा मुख लगाएर बीस निकालिदिन्छ । मालिककी छोरी त बाँच्छे तर उसले प्राण छोड्छ । मर्नुअघि खेतमा पुगेका मालिकलाई वीरेले छोरीको जिम्मा लगाउँछ ।
आमाले पहिल्यै छोडेर गएकी पूजा, बालाई पनि गुमाएपछि अनाथ बन्छे । मालिकले दया गरेर उसलाई आफ्नो छोरी बनाउँछन् । विधिवत मितिनी लगाएर । यसरी कथा अगाडि बढ्छ ।
त्यतिबेला गाउँबाट भर्खर सहर झरेको मलाई फिल्म मन परेको हो । गाउँका हरिया फाँट, पाखा पखेरा । मैले आफ्नै घरपछाडिको भोगटें सम्झेथेँ । भोगटे टिपेर खाँदा आमा र दाइले सुइँठाएको सम्झेँ । यस अर्थमा पनि मलाई धेरै छोयो । बाल्यकालको मेरो बदमासी केही हदसम्म फिल्ममा थियो ।
१३/१४ वर्षको उमेर थियो होला मेरो । खुलेर प्रेम गर्ने उमेर । जब कथामा आकाश (दिलीप रायमाझी) ज्योतिलाई हुरुक्कै गर्छ, म पग्लिएथेँ । तर कथाले मैले सोचेजस्तो सरल मोड लिएन । आकाशले मन पराउने ज्योति । ज्योतिले मन पराउने सन्जय बाबु (उत्तम) । र सन्जयले मन पराउने पूजा । पूरै त्रिकोणात्मक प्रेम । फिल्मले त्यहाँबाट बल्ल कौतुहल बनाउँछ । क्लाइमेक्सको चुचुरोतर्फ लैजान्छ ।
ती र त्यस्ता कथा आज पनि हाम्रो समाजमा छन्, घटिरहन्छन् । धेरैजसो बाहिर नआइकन गुपचुप भैजान्छन् ।
जो होस् फिल्मको इन्डिङ (सुखद मिलन) ले मुख्य पात्रहरूमाथि न्याय भयो भन्ने लागेको हो । त्यो जमानामा छायांकनका लागि उपयुक्त प्रविधी र प्राविधिक कुरा थिएनन् होला, जुन कुरा आजभोलि फिल्म हेरिरहेका हामीलाई थाहा हुन्छ । तर आज लगभग धेरै कुरा छ नेपाली सिनेकर्मीको पहुँचमा । कथा भने फितला छन् । स्तरको घट्दो छ ।
•••
गाउँमा भर्खर भित्रिएको ब्ल्याक एन्ड ह्वाइट टिभीमा शुक्रबार प्रसारण हुने (?) सन्तोष पन्त निर्देशित 'हिजो आजका कुरा' सिरियल हेरिन्थ्यो । अहिले कमेडी च्यापिनसम्म आइपुग्दा पनि उनी मलाई मन पर्ने कलाकार हुन् । रेखाको के कुरा गर्नू, कुनै समयमा रेखा थापा भन्दासाथ नाक खुम्च्याउँथे मान्छेहरू । तैपनि मलाई मन परिन् । आजपर्यन्त उनको बोल्डनेस गजपको लाग्छ ।
मितिनी, दुई प्यारा साथीहरूको बाल्यकालदेखि विवाहसम्मको कथा त हो नै । विभेद र समानताको कुरा पनि छ । साथै यसले हाम्रा पुर्खा (सरकारले कमैयामुक्त घोषणा गरेता पनि कहीँकहीँ यो कमैया प्रथा अझै पनि छ ।) कसरी मालिकको दास बन्न बाध्य थिए, उनीहरूको खुसीका लागि आफू कसरी बलिमा चढ्नु पर्थ्यो भन्ने कुरा बताउँछ । आकाशले प्रेममा गरेको समर्पण (जब ज्योतिको अर्कै केटीसँगको बिहे हुने कुरामा जबर्जस्ती खुसी हुन विवश हुन्छ । जबकि अन्तमा त्यो खुसी पाउँछ ।) ले प्रेमलाई बलियो बनाउँछ ।
अन्त्यमा:
यो फिल्म हेरेपछिको प्रभाव नि, होस्टेलमा मीत लगाउने लहर नै चल्यो । मैले पनि लगाएथेँ ।
यदि आजभोलि यो फिल्म हेर्ने हो भने गाउँको जैविक बाल्यकालको सम्झना गराइदिन्छ । त्यो हाम्रो समय, ती साथीभाइ, त्यो झगडा, ती बदमासीहरू साँच्चिकै प्यारा थिए, छन् ।
0 comments