मैले यो लेखिरहँदा विश्वभरमा दुईलाख सात हजार जनाले कोरोनाकै कारण मृत्युु वरण गरेका छन् । सङ्क्रमितको सङ्ख्या झन्डै तीस लाख छ । नेपालमा बाउन्न जनामा देखिएको कोरोना सङ्क्रमण अहिले छत्तीसमा झरेको छ । सोह्र जना निको भैसकेका छन् । धन्न ! यसकै कारण कसैले नेपाल-धराबाट उठ्नु परेको छैन ।
मलाई थाहा छ- समय प्रतिकूल छ । यस्तो समयमा रुन्चे वा दु:ख मनाउका कुरा लेख्नु किमार्थ राम्रो होइन । यसै त तनाव छ । त्यसमाथि झन् निरासा वा कुण्ठा लेखेर अरूलाईसमेत आक्रान्त पार्नु हुँदैन । आफूलाई कमजोर र असहाय देखाएर सहानुभूति बटुल्ने काम गर्नु हुँदैन ।
मैले यही सोचेर आजका दिनसम्म केही लेखिनँ । सोचेँ, यो संकष्टबाट यथाशक्य छिटो उद्धार हुनेछ । स्थिति छिटै सहज हुनेछ । गृह-बन्दी जीवनको पिँजडाबाट मुक्ति मिल्नेछ, उसैगरी । तर त्यसो भएन । किस्ताकिस्तामा लकडाउन थपिइरह्यो । योसँगै सुरु भयो, लक यानकी भाग्य- डाउन ।
तपाईंहरूलाई लाग्न सक्छ, आखिर हामी सबै फसेकै छौं । योचाहिँ कुन नयाँ कुरा भो र ? किन लेख्नुपर्यो यस्ता कुरा ?
यदि तपाईं यस्तो लाग्यो भने पनि ठीकै हो । लाग्न सक्छ । लाग्न पाउनुपर्छ । तर तपाईंहरू जसरी फस्नुभएको छ र म फसेको छु, त्यो फसाइ फरक छ । त्यसको पीडा फरक छ । अनि पीडाको रङ पनि । आज त्यही कुरा गरेर म हलुका हुन चाहन्छु ।
***
मेरी आमाका अनुसार मसान्त, दुई गते, बीस गते, मंगलबार र शनिबार घातक साइत हुन् । आफैंलाई विश्वास नहुँदानहुँदै पनि मप्रति आमाको चिन्ता कम होस् भन्नका लागि सकभर माथिका साइतमा यात्रा गर्दिनँ । गर्नै परे पनि आमालाई खबर दिन्नँ । अहिले यो बानीजस्तो भैसकेको छ ।
वर्षमा एक-दुई पटक भारत आउनू मेरा लागि सामान्यजस्तो भैसकेको छ । कहिले विभिन्न कामको सिलसिलामा त कहिले साथीभाइ भेटघाट गर्न यता आइरहेको हुन्छु । यता आउनुको अर्को फाइदा, पढ्न चाहेका केही राम्रा पुस्तक, जो नेपालमा विरलै पाइन्छन्, किन्न पाउनु पनि हो । त्यसमाथि नयाँनयाँ ठाउँ घुम्ने योजना त हुन्छ नै ।
यसपालि एउटा सानो अभ्यास-कार्यक्रम थियो । त्यो सकेपछि नैनीताल र टिहरी बाँध घुम्ने रहर पनि । यसैका लागि चैत एक गते चितवनबाट यात्राको 'शुभ-साइत' गरेँ । भित्ते पात्रोमा चैत एक्काइस गतेलाई नेपाल फिर्ने दिनको रुपमा 'रेड मार्क' गरेको थिएँ ।
घरबाट निस्कँदा स्थिति त्यति खराब थिएन । ठीकठाक थियो । ठीकठाक त के भन्नु, ठीकठीकै थियो । चीनको वुहानबाट उदाएको कोरोनाले विश्वयात्रा गरिरहेको थियो । विकसित र सम्पन्न थुप्रै मुलुकहरूमा आँधीको लयमा नाचिरहेकै थियो यो । तर नेपालमा कोही संक्रमित भैसकेका थिएनन् । हँ, जोखिम जरुर थियो । तर जसै म यता आएँ स्थिति यता तीव्र र उता बिस्तारै बिग्रँदै गयो । संक्रमितहरू एकपछि अर्को देखिन थाले । यसैलाई मध्यनजर गर्दै भारत र नेपाल सरकार दुवैले देशव्यापी लकडाउन घोषणा गरे । जुन आजसम्म चलिरहेको छ ।
यतिखेर म युपी राज्यको मुजफ्फरनजर सहरदेखि केही किलोमिटरको दूरीमा छु । यो ठाउँ न सुगम हो, न त दुर्गम । तर दिन-प्रतिदिन समस्या र पीडाहरूसँग भने नजिकै हुँदै छु ।
एकजना भाइ-भरोसाले आश्रमको आश्रयमा छु । ऊ आफैं पनि आश्रमको कर्मचारी (शिक्षक) हो । नरुचे पनि आश्रमले बिहान-बेलुका शाकाहारी खान दिइरहेको छ । बस्न पाइरहेकै छु । खान बस्नकै त चिन्ता छैन । तर अन्य थुप्रै महत्त्वपूर्ण कुराहरू छोडेर अर्काको देशमा खान-बस्न पाउनु नै पनि ठूलो कुरा होइन भन्ने लागिरहेको छ ।
आश्रममा खाना ठीक बन्दैन । अझ यसो भनौं, मेरो जिब्रोलाई रुच्दैन । खानै नरुचेपछि आश्रमका दुई-तीनजना साथी मिलेर हामीले बेलुकीमा आफैं खाना बनाउन थाल्यौँ । बिहान छदेखि नौबजेसम्म खुल्छ मार्केट । गयो, खान मन लागेको तरकारी ल्यायो । बेलुकी पकायो, खायो । खान पनि यसरी खाइएछ कि बीस-बाइस दिनका लागि अड्कलेको मेरो खर्च-पानी सकिइसकेको छ । रित्तो छु । साथीभाइसँग पनि क्यास छैन । बैङ्किङ कारोबार ठप्प छ । उनीहरू आफैं समस्या छन् । अब तत्काल लकडाउन खुलेर नेपाल फर्किन पाइहालेँ भने पनि मसँग भाडा छैन ।
यसरी विगत डेढ महिनादेखि भारतमा फसिरहेको छु ।
भारत आएको यत्रो समयमा आमासँग तीन-चारपटक मात्रै कुरा भयो । त्यसमाथि आमाले नेट चलाउनु हुन्न । मोबाइलमा ब्यालेन्स हालेर कुरा गरीसाध्य छैन । चर्को छ कल-रेट । तैपनि केही भन्नुहुन्छ कि भनेर आमासँग कुरा गर्न पनि डर लाग्छ । त्यसै पनि चैत एक गते शनिबार परेको रहेछ । आमाको भाषामा अशुभ साइत । त्यसपछि त कुरा गर्न झन् डर लाग्छ । केही दिनअघि आमा औंसीको बिहानै फोन गरेको थिएँ । आमाले मायालु स्वरमा सोध्नुभयो- 'सर्खारले सीमानाट कति नेपालीलाई उद्दार गरो रे त । तँ किन नआको ?'
'स्थिति सजिलो छैन आमा ।' मैले यति नै भनेँ । तर आमालाई म कसरी सम्झाउँ- दुवै देशमा सवारीसाधन फिटिक्कै चलेका छैनन् । सुनौली सीमानासम्म पुग्न पनि म बसेको ठाउँबाट झन्डै आठसय किलोमिटरको दूरी तय गर्नुपर्छ । म मुम्बई एअरपोर्टवाला प्रेमराज पान्डेय त होइन नि ! जसले आफ्नो घर (करिब १ हजार ४ सय किलोमिटर) पुग्न झन्डै तीन लाख (भारु) खर्चेर पच्चीस सय किलो प्याज र तेह्र क्विन्टल तरबुजा किने । सत्तरी हजारमा ट्रक भाडामा लिए । र, आफूलाई तरकारी विक्रेता बताउँदै, तरबुजा र प्याज बेच्दै घर (मुम्बई टु प्रयागराज) पुगे । म यस्तो महँगो तिकडदम गर्न सक्ने अवस्थामा पनि छैन । तर घर-देश फर्किन भने चाहन्छु ।
यसबीचमा उद्धारका लागि केही नेता-नेतृसँग पनि कुरा नभएको होइन । कसैले म कोअर्डिनेट गर्छु भने । कसैले जहाँ छु त्यहीँ बस्नु नै उत्तम बताए । तर मेरो पीडालाई गहिरोसँग महसुस गर्ने भने कोही भएनन् ।
मूलधारका सबैजसो समाचारहरू हेर्छु, पढ्छु । कोरोना र यसको कहरले थिचिए-मिचिएका खबर र कथाबाहेक अरू खासै केही छैन । कहिले सोलुबाट आसारामहरू हिँडेर कैलाली गएको दर्दनाक कथा पढ्छु । कहिले सडक छेउमा रुँदै 'घर पठाइदे सरकार' भनिरहेका समाचार । यी सबै आफ्नै भोगाइजस्तै लाग्छ ।
मेरो पनि नेपाली मन हो । कति-कतिबेला हिँडेरै देश फिरौँझैँ लाग्छ । सीमावारि अड्किएको एकमुठी सास उतै पुगेर फेरौँ लाग्छ । मरे पनि आफ्नै देश र माटोमा मरौँ लाग्छ । तर जब सम्भावनाका झ्यालढोका पूर्ण बन्द भएको पाउँछु, अत्तालिन्छु । यहाँ गेटभित्रै कैद भएको जीवन सडकमा निस्कनु पनि खतरापूर्ण छ । यस्तोमा हिँड्ने विकल्प पनि मसँग छैन ।
कैयौं विकसित राष्ट्रले हाम्रै आँखा अगाडि जहाज चार्टर्ड गरेर आफ्ना नागरिकको उद्धार गर्यो । भुटानजस्तो देशलेसमेत आफ्ना दुई नागरिक लिन विमान चार्टड गर्यो । तर मेरो देशको दुई तिहाइको सरकारले भने उखान टुक्का सुनाएर, तर्कहीन र अप्रासंगिक कुरा गरेर, पैदलै हिँड्न विवश नागरिकको खिल्ली उडाउँदै किस्ताकिस्तामा लकडाउन बढाएर आफूलाई सफल ठानिरहेको छ, आफैं । सरकारले चाहे र पहल गरे के हुँदैन होला र ? आफ्ना नागरिकप्रति नै असंवेदनशील सरकार पनि केको सरकार ?
मजस्ता भारतका विभिन्न ठाउँमा फसेका आम नेपालीको एउटै इच्छा हो, छिटो भन्दा छिटो देश फिर्न पाऊँ । सीमा वा सरकारले तोकेको स्थानमा क्वारेन्टाइनमा बस्न तयार छौँ । म त सीमासम्म पुग्न पाएँ भने, त्यहाँबाट चितवनसम्म हिँडेरै जान पनि तम्तयार छु । तर सरकार जिउँदो छ भन्ने महसुस हुनु पर्यो, बस् ।
0 comments