प्रिय किताबप्रेमीहरू !
पठन संस्कृतिको विकास गर्ने उद्देश्यले यहाँहरूले सातदिनसम्म आफूलाई मन परेका सातवटा किताबको कभर हरेक दिन पोस्ट गर्ने अभियान चलाउनुभएको छ । आफूले पोस्ट गर्दै आफ्नो नजिककको साथीलाई पनि उक्त अभियानमा सहभागी बनाउनुपर्ने नियम छ । यो देखेर मलाई खुसी भैरहेको छ ।
पछिल्लो समय किताब-बजार (विविध कारणले) खस्किएको छ । एक त हामी (नेपाली किताबका) पाठक कम छौं । त्यसैमाथि हाम्रो पठन-अभ्यास पनि कमजोर बन्दै गैरहेको छ । (यसमा हाम्रा लेखकीय कमी-कमजोरी पनि हुन सक्छन् ।)
यस्तो समयमा यो अभियान साँच्चिकै राम्रा पुस्तक पढ्न चाहिरहेका उत्सुक एवम् जिज्ञासु पाठकका लागि लाभदायक हुन सक्छ । यो अभियानको, चर्चा नगरिएको तर
विशेष फाइदा, अनुजदेखि अग्रजसम्मका पाठकले कस्ता किताब पढ्दा रैछन्, कस्ता किताब मन पराउँदा रैछन् भन्ने पनि हो । यहीँबाट हाम्रो चेतनाको स्तरको पनि थोरबहुत मापन हुन्छ भन्ने मेरो ठहर छ ।
आज एकैसाथ सात पुस्तक, जो मलाई अत्यधिक मन परे, यहाँ साझा गरेको छु ।
आजसम्म पढेका केही किताबमध्येबाट मलाई यी सात किताब छान्न निकै गाह्रो भयो । यसर्थमा कि, मन परेका थुप्रै किताबहरू छन् । तीबारे पछि लेखौंला । अहिलेलाई निम्न सात किताब र संक्षेपमा तिनबारे आफ्नो धारणा राखेको छु ।
एक: द गुड अर्थ- पर्ल एस. बक
अहिले पनि हाम्रो देश कृषिप्रधान नै छ । यो भनाइमा मात्र सीमित भयो अब त । जहाँ किसानहरूले आत्महत्या गर्छन्, काठमाडौं आएर उखुको भुक्तानी माग्दै नुनिला आँसु झार्नु पर्छ, त्यो देश कसरी कृषिप्रधान ? त्यहाँ कृषको मजाकबाहेक अरू के हुन सक्ला ।
'द गुड अर्थ' यस्तै एक इमान्दार, मिहिनेती कृषक (वाङलुङ) र पत्नी (ओलान) को संघर्षशील जीवनको सम्मोहक कथा हो । २० औं शताब्दीमा चीनमा आएको परिवर्तन र त्यसले आम मान्छेमा पारेको प्रभावबारे यो किताब बोल्छ । जुन किताब पढेपछि किसान र कृषि पेशाप्रति सम्मानभाव जाग्छ । यसकै लागि सन् १९३८ को नोवेल पुरस्कार दिइएको थियो ।
दुई: सिद्धार्थ- हर्मन हेस
गौतम बुद्धको नाम-चरित्रसँग मिल्दोजुल्दो एक पात्रको हो, सिद्धार्थ । एक सुन्दर ब्राह्मण पुत्र । जोसँग सबै छ । तर जीवनदेखि असन्तुष्ट छ । एक दिन ऊ आफ्नो साथी गोविन्दसँग मिलेर गृह-त्याग गर्छ र तपस्वीको समूहमा मिसिन्छ । ज्ञानको खोजमा निस्किएका उनीहरूको आध्यात्मिक एवम् रोमाञ्चक कथा हो, सिद्धार्थ ।
तीन: दर्शन-दिग्दर्शन- राहुल सांकृत्यायन
राहुल सांकृत्यायनद्वारा लोखित यो दार्शनिक- किताब आफैंमा ज्ञानको विशाल भण्डारण हो । भारतीय दर्शन परम्पराको अपूर्णतालाई यो किताबले बुझ्न सहयोग गर्छ ।
चार: लोलिता- भ्लादिमीर नाबोकोभ
हालसालै मात्रै एक वृद्धले युवतीसँग बिहे गरेको चर्चाले सामाजिक सन्जाल तात्तियो । यो नेपालको सन्दर्भ । तर उहिल्यै योभन्दा पनि कम उमेरकी बालिकासँगको प्रेम र शारीरिक सम्बन्धलाई लिएर भ्लादिमिर नाबोकोभले उपन्यास लेखेका थिए, लोलिता ।
एक अधबैंसे पुरुष (हम्बर्ट) र १२ वर्षीय (लोलिता) बीचको सनसनीपूर्ण प्रेम र शारीरिक सम्बन्धबारे सन् १९५५ मा प्रकाशित कृति हो, लोलिता । लेखक भ्लादिमिर नाबोकोभद्वारा लिखित उल्लेखित किताब सर्वाधिक विवादास्पद पनि हो । एक नाबालिकप्रतिको आफ्नो यौन-प्रेमबारे लेखिएका कारण कुनै पनि प्रकाशक छाप्न तयार भएनन् । पछि पेरिसको एक कम्पनी, जसले पोर्नोग्राफी छाप्थ्यो, उसले लोलिता छाप्यो । किताब प्रकाशित भएपछि फ्रान्स र बेलायतमा प्रतिवन्ध भयो ।
पाँच: स्टिभ जब्स- वाल्टर इसाक्सन
आज हाम्रो हातमा एप्पलका आइफोन, आइपड, नोटबुकलगायतका सामाग्री छन् । प्रविधिमा विशेष सतर्कताकासाथ निर्माण गरिएका एप्पलका उत्पादन विश्व बजारमै सर्वाधिक लोकप्रिय छन् । तर के हामी यसको जन्म, नामाकरण र विकासकर्ताको पर्दा पछाडि रोमाञ्चक र प्रेरणादायी कथा पढेका छौ ? छैनौं भने यो पढ्नुहोला ।
जीवनमा केही राम्रो गर्न असली पागलपनको सख्त जरुरी हुन्छ । त्यही पागलपनले कसरी सफलताको शिखरमा पुर्याउँछ भन्ने कुरा 'स्टिभ जब्स'ले बताउँछ ।
छ: एन अटोबायोग्राफी अफ अ योगी- परमहंस योगानन्द
कुनैकुनै किताब पढ्दा रेफ्रेन्सले झन् फाइदा पुर्याउँछ । डबल फाइदा । वाल्टर इसाक्सनद्वारा लिखित 'स्टिभ जब्स' पढेपछि त्यस्तै भयो । किताबमा ठाउँठाउँमा 'एन अटोबायोग्राफी अफ अ योगी'बारे उल्लेख छ । उक्त किताब पढेर गुपचुप रुपमा भारतसमेत आएर थुप्रै समय जब्सले आफू यति सफल हुनुको एउटा श्रेय उक्त किताबलाई पनि लिएका छन् ।
भारतको गोरखपुरमा मुकुन्दलाल घोषका रुपमा जन्मेर परमहंस योगीसम्मको यात्रा यसमा वर्णित छ । यसमा उनले आफ्नो आध्यात्मिक यात्रा-साधनाबारे मात्र नभएर अनेक संत महापुरुषसँगको सान्निध्यको विराट चर्चा पनि गरेका छन् । आध्यात्मिक दृष्टिकोणबाट लेखिएको यो आत्मकथाले आध्यात्मिक धरातलका सूक्ष्म आयामहरूलाई अनावृत गरेको छ । वास्तवमै यो एक अद्भुत किताब हो ।
सात: १९८४- जर्ज अरवेल
फासीवाद, नाजीवाद, स्टालिनवाद र अधिनायकवादको चर्को विरोध गर्ने लेखकमध्येका एक हुन्, जर्ज अरवेल । सन् १९४८ मा '१९८४' शीर्षक दिएर लेखिएको यो किताब राजनीतिक केन्द्रमा छ । आफ्नो समयभन्दा अघिको कल्पना गरेर सत्ताले नागरिकमाथि सन्देहपूर्ण नजर राखिरहेको कुरा यसमा उल्लेख छ । सत्तालाई 'बिग ब्रदर' नाम दिएर 'बिग ब्रदर वाचिङ यु'जस्तो अवधारणा ल्याएका छन् । जुन कुरा अहिलेको दुई तिहाको सरकारसँग मिल्दोजुल्दो छ ।
0 comments