लकडाउन डायरी: मृत्यु पठाउने ठेगाना

By Meenraj Basanta - 8:16 AM



आज नेपालमा एकहप्ते लकडाउन अन्तर्गतको सातौं दिन । भारतमाचाहिँ ३ हप्ते लकडाउनको पनि आज सातौं दिन । नेपालमा लकडाउनको मिति थप्ने कुरा छ । सायद भारतमा पनि थपिन्छ होला ।

मैले यो 'लकडाउन डायरी' लेखिरँहदा विश्वभरमा कोरोना प्रकोपका कारण लगभग पैंतीस हजार जनाले मृत्युवरण गरेका छन् । नेपालमा अझैसम्म त्यो स्थिति आइसकेको छैन । यता भारतमा आज मात्रै थप २ जनाको ज्यान गयो भने अन्य ४७ जना संक्रमित देखिए । भारतको संख्या मैले यसकारण उल्लेख गरें, किनकि म यतिबेला भारतको मुजफ्फरनगरमा 'लक्ड' छु ।

°°°
[एक]

थाहा छैन कहाँ जानको लागि भनेर हो म माइक्रो चढें । चितवन-काठमाडौं चल्ने माइक्रोजस्तै थियो त्यो माइक्रो । अगाडिको सिटमा थिएँ । बायाँ झ्यालतिर एकजना महिला थिइन् । बीचमा म । दायाँछेउतिर ड्राइभर । मेरो छेउमै बसेकी ती महिलालाई प्रभाव पार्न धेरै कोसिस गरेँ । केही कुरा एकाध झुट बोलेर सत्य बनाएँ । उनी मेरा कुरा सुन्दै गइन् । आफू पनि खुल्दै गइन् । त्यही मौकामा पर्सबाट निकालेर आफ्नो भिजिटिङ कार्ड थमाउन भ्याएँ । आशाको दियो जल्यो, पक्कै उनले फोन गर्नेछिन् । 

यात्रा गर्दागर्दै भोकको रात छिप्पियो । खाना खान भनेर कुनै होटल अगाडि माइक्रो रोक्यो । सबैजना झर्‍यौं । खाना खायौं । ती महिला र म एकै टेबुलमा बसेर खाना खाएको सम्झन्छु । जब खाइसकेर माइक्रो चढ्न खोजेको, माइक्रो नै छैन । के गर्ने कसो गर्ने, हामी दुई त्यहीँ अलपत्र पर्‍यौं । 

[दुई] 

तीनजना साथी मिलेर कुनै पहाडको यात्रामा निस्कियौं । त्यो पहाडको नाम पनि यसअघि मैले कतै सुनेको थिइनँ । यसकारण पनि मलाई यात्रामा रुचि जाग्यो । दुई साथी उमेरमा मभन्दा कान्छा थिए । यद्यपि सबैकुरा उमेरले मात्रै कहाँ गर्छ र ? उनीहरूकै 'गाइडेन्स'मा यात्राको गियर बढ्यो । 

दक्षिणी इन्डोनेसियाको बर्नियो जंगलजस्तो विशाल, भयंकर र बाक्लो जंगल छ । हामी तीनजना यात्रामै छौं । जति हिँड्दा पनि सकिँदैन ।  कतैबाट कुनै मसिनो डोरेसो पत्ता लाग्दैन । भोक लागिसक्यो । तिर्खाले अँठ्यायो । केही सीप नलागेपछि हामी हरायौँ । बाँच्नु न मर्नुको स्थितिमा पुग्यौं । 

°°°

चैत एकदेखि घरबाट निस्कँदा सब ठीकठाक थियो । ठीकठाक त के भन्नू, ठीकठीकै थियो । चीनको वुहानबाट उदाएको कोरोनाले विश्वयात्रा गरिरहेको थियो । विकसित र सम्पन्न थुप्रै मुलुकहरूमा आँधीको लयमा नाचिरहेकै थियो  यो । तर नेपालमा कोही संक्रमित भैसकेका थिएनन् । हँ, जोखिम जरुर थियो । 

यात्राका क्रममा कतिले सीमा बन्द भएको जिकिर गरे । कतिले आज अन्तिम दिन, त्यो पनि १२ बजेसम्म मात्रै खुल्ने बताए । तर हामी (प्रदीप भाइ र म) ले यी कुराको वास्तै गरेनौं । नभन्दै सुनौली नाका खुल्ला थियो । निर्वाध यात्रा गर्न पायौं । यात्राको मुख्य उद्देश्य थियो,  चैत ७ (मार्च २०) बाट हुने एउटा सानो प्राक्टिस । अलिअलि घुमघाम ।

चैत ५ गतेसम्म भारतमा थुप्रै शैक्षिक संस्था, थिएटर, सपिङ मलादि बन्द भैसकेका थिए । परीक्षा स्थगन भए । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले त १२ मार्चमै यो घोषणा गरिसकेका थिए । केरला राज्यले अझ योभन्दा अगाडि नै गर्‍यो । नेपालमा पनि विस्तारै यसको प्रभाव देखिन थाल्दै थियो । यद्यपि हाम्रो प्राक्टिस रोकिने कुनै छाँटकाट देखिएन । यसको मतलब प्राक्टिस चल्छ भन्नेमा म ढुक्क । 

तर दुर्भाग्य ! २० मार्चबाट हुने प्राक्टिस १९ को बिहान आएर कोरानाकै कारण रद्द भयो । साथै अप्रिल १ पछि हुने खबर पनि हात लाग्यो । यस्तो स्थितिमा फर्कौं, दुईदिन लामो यात्रा गर्नुपर्दा संक्रमणको भय । भनेकै मितिमा प्राक्टिस सुरु भए दोस्रो हप्ता फेरि यहीँ आइपुग्नुपर्ने अर्को झन्झट । नफर्कौं, के हो ? कसो हो स्थिति ? बुझ्नै गाह्रो । 

राम्रो होस् वा नराम्रो । जीवनमा मैले सपना र साइतको विश्वास कहिल्यै गरिनँ । पारिवारिक कारणले कहिलेकाहीँ साइत भने बार्नुपर्छ । जस्तो कि; मसान्त, दुई गते, बीस गते यात्रा गर्न शुभ हुँदैन भन्नुहुन्छ आमा । यस्तो बेला नमानेर धर पाउँदिन । जब २० गतेको प्राक्टिस रद्द भयो, त्यसको अघिल्लो दिन मैले माथिको एक नम्बर सपना देखेको थिएँ । कताकता च्वास्स घोच्यो । यस्तो बेला अनेक कुरा र विश्वासहरूले अनायासै गिजोल्दा रहेछन् । म त्यसकै सिकार भएँ । 

यति हुँदा पनि एक मनले 'घर फर्की । गैहाल । भागिहाल्' भनेर उक्सायो । उक्सिएँ । फेरि सोचेँ- कोरोनाबाट बच्न अन्यले सामाजिक, शारीरिक दूरी बढाइराखेका छन् । सरकारले बारम्बार ख्याल राख्न आग्रह गरिराखेको छ । यस्तोमा यति लामो यात्रा तय गरेर घर फर्किनुको अर्थ के ? स्वस्थ मान्छे फेरि चपेटामा आए बर्बाद । बरू यतै बस्छु केहीदिन । प्राक्टिस सकेर जान्छु । 

२२ मार्चका लागि मोदीले भारतभरि 'जनता कर्फ्यु' लगाए । कोही कसैलाई घरबाट बाहिर निस्कन अनुरोध गरे । जसको उद्देश्य, मानिस-मानिसबीच दूरी राख्नू थियो । यही दूरीले संक्रमणको मापन गर्थ्यो । हामी सबैले पालना गर्‍यौं ।

यति हुन नपाउँदै भारतीय प्रधानमन्त्री मोदीले पुनः अर्को निर्णय लिए- तीन हप्ताको लागि सम्पूर्ण देश नै लकडाउन । 

त्यसकै बिहान मैले दुई नम्बरको सपना देखेको थिएँ । यहाँ पनि म सपनाकै सिकार भएँ । संकेत सुन्दर थिएन ।

यतिबेला बल्ल आफू अर्कैको देशमा फसेको अनुभव गरिरहेको छु । एक हिसाबले कैदी जीवन ।

यतिखेर म उत्तरप्रदेशको मुजफ्फरनगर अन्तर्गत पर्ने शुकतार भन्ने ठाउँमा छु । यो भीडभाड वा अत्यन्त चहलपहल हुने बजार क्षेत्र होइन । दुर्गम गाउँ पनि होइन । ठीक्कैको ठाउँ हो । यहाँ एउटा आश्रम छ । म त्यसकै शरणागत छु । सो आश्रमको शिक्षक हुन्, प्रदीप । उनकै पिछा गर्दै यहाँसम्म आइपुगेको हुँ । 

खान बस्न खासै समस्या छैन । शाकाहार-आहार चलेकै छ । स्कूलको जस्तो घण्टी लाग्दा थाल लियो, गयो । खायो, फर्कियो । तर कस्तो गाह्रो भने नि ! दाल, तरकारीमा रातो खुर्सानी ठोकेकै छन् । चिल्लो उस्तै । मसला उस्तै । उही 'नखाऊँ भने दिनभरको आहार, खाऊँ भने कान्छाबाको अनुहार' झैँ भाको छ । 

यसै पनि प्रायः बन्द कोठाभित्र बसेर लेख्ने पढ्ने मान्छेलाई लकडाउन खासै ठूलो कुरा त होइन । तर म यतिबेला आफ्नो देशमा छैन । आफूले मन परेका किताब पढ्न पाउने पहुँचमा छैन । लेखिरहेको नयाँ उपन्यासमा थपथाप गर्न मसँग त्यो फाइल छैन, ल्यापटप छैन । मन लाग्दा चिया कफी पिउन सक्दिनँ । धुँवापानको व्यवस्था छैन । 

दैनिकी साह्रै पट्यारो लाग्दो छ । 'ट्राभलिङ टु किचन, किचन टु रूम' बाहेक अन्त जाने नयाँ ठाउँ छैन । ठाउँ त छ तर  निस्कन निषेध छ । गेटमा हरबखत ताला झुन्डिएर बसिरहन्छ । गेट बाहिर सानो बजार छ । एकाध पसलहरू बिहान एकचट खुल्छन् । त्यसपछि दिनभर बन्द । मान्छेको आवतजावत छैन । कुनै होहल्ला छैन । एकदम सुनसान छ । 

गोरखपुर स्टेसनमा केही किताब किनेको थिएँ धन्न ! अमृता प्रीतमको आत्मकथा- 'रसीदी टिकट', वेद प्रकाश शर्माको उपन्यास- 'डायन', इस्मत चुगताईको उपन्यास- 'मासूमा' लगायत अन्य केही किताब । यी लगभग पढिसकेँ । 'डायन'ले खासै आकर्षित गरेन । त्यसैले अधूरै छोडिदिएँ । बरू अहिले प्रकाशनको अन्तिम चरणमा रहेको गणेश लाठको व्यङ्ग्य उपन्यास 'अघटित' पढ्दैछु । पिडिएफमा । धेरै समयपछि व्यङ्ग्य उपन्यासले यसरी तानेको छ । भाषा र कथाको शिल्पले लोभिएको छु ।

भारतमा मोबाइल डाटा सस्तो छ । २५० मा एक महिनाका लागि दैनिक डेढ जिबीजति आउँछ । त्यही प्याकेज एक्टिभ गरेको छु । पढ्न झ्याउ लाग्दा युट्युबमा संगीत सुन्छु । फिल्म वा कमेडी सिरियल हेर्छु । फेसबुक, टुइटर चलाउँछु । साथीहरूसँग मजाले गफिन्छु । तर पनि मेरो समय राम्ररी सदुपयोग भैरहेको छैन भन्ने म जान्दछु । 

कोरानाले कसैलाई अस्तव्यस्त पारेको छ भने, त्यो मलाई पारेको छ । आमा गाउँ हुनुहुन्छ । म यता । अरू परिवार चितवन । मलाई देश फर्कन नपाउनुको पीडाले गाँजेको छ । अरूलाई गाउँ जान नसक्नुको चिन्ताले । एउटै परिवारका मान्छेका व्यथा फरकफरक छन् यतिखेर ।

अब तपाईंलाई हिजो साँझको एउटा घटना भन्छु ।

प्रदीप भाइ मेरो रूममा आएर सोधे- 'दाइ तपाईंको पूरा ठेगाना भन्नुपर्‍यो ।'

'किन र ?' आत्तिएको उसको अनुहार हेरेँ ।

'महाराजजीले...' एकछिन रोकिएर भन्यो- 'आश्रममा रहने सबैको नाम, ठेगाना टिपेर ल्याउन भन्नुभाको छ ।' 

जुन आश्रममा अहिले शरणागत छु, त्यसको संरक्षण गर्ने एक महात्मा (महाराजजी) छन् । जसलाई सिधा भाषामा जोगी भनिन्छ । उनकै अगुवाइमा संस्था चल्छ । सयौंले दैनिक भोजन गर्छन् । गौसेवा चल्छ । गुरुकुल चल्छ । तर जब कोरोनाको प्रकोप आयो संस्थाबाट थुप्रै विद्यार्थी र कर्मचारीहरू आफ्नो घर फर्किहाले । आश्रमले पनि 'पुस' गर्‍यो । हामी टाढाका यतै फस्यौँ । खासमा म । 

आफ्नो पूरा ठेगाना प्रदीपलाई बताएँ । उसले लेख्दै गयो ।  त्यसपछि उसले मोबाइल नम्बर सोध्यो । मैले आमाको नम्बर भने । त्यसैबेला गजलकार प्रदीप रोदनको एक शेर आयो-

   आमा मरेको खबर छोरालाई सुनाइदिए हुन्छ ।
   छोरा मरेको खवर आमालाई नसुनाइदिनुस् ।।

मैले तुरुन्तै आमाको नम्बर काट्न लगाएर परिवारका अरू सदस्यको नम्बर लेखाएँ । भरेको कुरा कसलाई के थाहा ?

'भन् न यार' प्रदीपलाई कर गरें, 'महाराजजीले किन यसरी सबैको ठेगाना खोजे । त्यो पनि नम्बरसहित ।

'डेड बडी पठाउन रे दाइ !' ऊ अपूर्ण हाँस्यो ।

म भने अहिलेसम्म यही सोचेर हैरान छु, ठेगाना मलाई सकुशल पठाउन होइन, मृत्युु (शव) पठाउन पो मागिएको रहेछ । 






  • Share:

You Might Also Like

4 comments

  1. "परिवारको अन्य सदस्य", "अरु" भनेको चाहिँ को नि ? लेख राम्रो छ, जोगिएर बस्नुस् ।

    ReplyDelete
  2. वाह ! समयको सदुपयोग अत्यन्त सिर्जनात्मक तथा भावनात्मक र मर्मस्पर्शी हुनुका साथै सन्देशमूलक छ । Keep it up वसन्तजी !

    ReplyDelete
  3. वाह ! समयको सदुपयोग अत्यन्त सिर्जनात्मक तथा भावनात्मक र मर्मस्पर्शी हुनुका साथै सन्देशमूलक छ । Keep it up वसन्तजी !

    ReplyDelete