'सेल्फ क्वारेन्टाइन'को समयलाई यसरी गर्नुहोस् सदुपयोग

By Meenraj Basanta - 9:16 PM


१. हामी धेरैजसो समय गाउँबाहिर बस्छौं, हुन्छौं । अत्यावश्यक परेको खण्डमाबाहेक गाउँ जाने हाम्रो मन भएर पनि फुर्सद हुँदैन । कि विशेष पर्वहरू जस्तै; दसैं, तिहार नै कुर्नुपर्छ । अहिलेको जुन समय छ, आफ्नो गाउँ फर्किने समय हो । हाम्रो मूल जरा पनि कतै न कतैबाट गाउँसँग जोडिएको हुन्छ । स्वच्छन्दता, पवित्रता, प्राकृतिक परिपूर्णताका साथै गाउँ अनुशासनको एउटा कडी पनि हो । यसले हरेक विपत्तिमा बाँच्न र हाँस्न सिकाउँछ । ऊर्जा दिन्छ ।

२. यदि गाउँमा पुग्नुभएको छ वा जाँदै हुनुहुन्छ भने, गाउँको माटोसँग खेल्नुहोला । बारी, करेबासी, खेतमा शारीरिक श्रम गर्दा प्रत्यक्ष दुइटा फाइदा हुन्छन् । एक, सहरमा बिहानबिहान मर्निङ वाक गरेभन्दा बढी फाइदा यसमा हुन्छ । शरीर चुस्त बन्छ । दुइ, तपाईंको थोरै श्रम-सहयोगले बा-आमालाई पनि खुसी मिल्छ ।

३. आफ्ना नानीबाबुहरू छन् भने सबैभन्दा पहिले उनीहरूलाई खेलकै रुपमा भए पनि गाउँको भाषा बोल्न सिकाउनु राम्रो हुन्छ । यो रोचक र ज्ञानवर्धक पनि हुन सक्छ । यस्तै, उसका साथीसँग खेल्ने वातावरण निर्माण गरिदिनुस् । छन् भने ढुङ्गेधारा, झरना, खोलामा नुहाउन लैजाउनुस् । गाउँ घुमाउनुस् । इष्टमित्र, नाता-सम्बन्ध र ठाउँ चिनाइदिनुस् । खेत-खलिहान चिनाइदिनुस् । ताकि आफ्नो पुर्खाको माटोप्रति उनीहरूको श्रद्धा बनिरहोस् । [माटोको महत्व कत्तिको हुन्छ, 'मदर इन्डिया' फिल्म हेर्न सक्नुहुन्छ ।]

४. हामी जन्मिनुभन्दा अघिदेखि आमाले (वा जो हुनुहुन्छ) चुलो-चौको गर्दै आइरहनुभएको हामीले देख्दै आइरहेका छौँ । यदि तपाईंलाई कुकिङमा मज्जा आउँछ भने पालो दिनुहोस् । केही आफूले जानेका परिकार बनाएर खान दिनुहोस्, आफूले खानुहोस् । योभन्दा आनन्द अर्को कुनै कुरामा हुँदैन । छैन पनि ।

५. अर्को महत्त्वपूर्ण कुरा छ, आगो । अहिले त गाउँमा पनि घरघरमा ग्याँस होला । तर, तपाईं दाउराको आगोमा पकाउनुहोस् । यसरी पाकेको खाना स्वादिष्ट हुनुकासाथै पोषणयुक्त पनि हुन्छ । ग्याँस त अघिपछि आमाले पकाउन काम लाग्छ । खानामा मुख फेरियो भनेझैं पकाउनमा पनि आगाको स्वाद फेरिन्छ । सजिलो हुन्छ ।

६. यदि तपाईंलाई काम गर्न मन लाग्दैन भने गाउँका वृद्ध बाआमालाई भेट्नुस् । उनीहरूसँग बसेर एकछिन कुरा गर्नुस् । उनीहरूलाई सुनिदिनुस् । त्यसवापत तपाईंले विश्वविद्यालयमासमेत नपाइने ज्ञानार्जन गर्नुहुन्छ । यस्तै, किताब पनि पढ्न सक्नुहुन्छ । मेरो विशेष अनुरोध, अनुकूल हुन्छ भने गाउँमा हुँदा तपाईं पर्ल एस बकको उपन्यास The good earth पढ्नुहोस् । झन् गजप हुनेछ । मजा आउनेछ ।

७. जो विविध कारणले गाउँ जान सक्नुभएको छैन अर्थात् सहरमा हुनुहुन्छ, तपाईं यो समयलाई क्रियटिभ काममा लगाउन सक्नुहुन्छ । इन्टरनेट त अहिले अपरिहार्य जस्तै भाको छ । यसैको प्रयोगमार्फत तपाईं आफूलाई मनपर्ने फिल्म, कमेडी सो, सिरिज, गीत-संगीत हेर्न वा सुन्न सक्नुहुन्छ ।

८. आफ्नो रुचिको क्षेत्र के हो ? पत्ता लगाउनुहोस् । त्यसअनुसारका सामाग्री इन्टरनेटमा उपलब्ध हुन्छन् । मलाई ग्राफिक्समा रुचि छ, त्यसैले म ग्राफिक्ससम्बन्धी ट्युटोरियल्स गर्छु । कुकिङमा रुचि हुनेले विभिन्न परिकार कसरी बनाउने भन्नेबारे युट्युबमा थुप्रै भिडियो भेटिन्छन् । त्यसैलाई फलो गर्दै आफ्नो भान्सा आफैं तयार गर्न सक्नुहुन्छ । थाहा छ नि ! गुगल र युट्युब अहिलेका सबैका गुरु हुन् ।

९. सरकारले विभिन्न निर्देश जारी गरेको छ । तिनलाई पछ्याउनुहोस् । होहल्ला, अफवाह र अनाधारित मिडियाबाट आएका खबरलाई इग्नोर गर्नुहोस् । सचेत रही अरूलाई पनि सचेत राख्न सहयोग गर्नुहोस् । अघिपछि हामी सँधै व्यस्त भैरहन्छौं । सामाजिक संजालमा जोडिएका कति साथीभाइसँग जन्मदिनको शुभकामना दिनेबाहेक बोल्ने फुर्सद र ख्याल हुँदैन । अलिकति समय ती साथीभाइलाई पनि दिनुहोस् । सही तरिकाबाट कुराकानी गर्नुहोस् ।

र, अन्त्यमा:

१०. कोरोना-क्वारेन्टाइनमा बस्दा तपाईंको अनुभव कस्तो रह्यो ? लेख्नुहोस् । भोलि यो एउटा सुन्दर सम्झना बन्नेछ !

  • Share:

You Might Also Like

0 comments