वारबीमा हराएको रात

By Meenraj Basanta - 6:16 PM


स्केचः नयाँ पत्रिका ।

दस दिनको जापान बसाइ अत्यन्त रमाइलो र बेफुर्सदिलो बन्दै थियो । भेट्नुपर्ने साथीभाइ, इष्टमित्र र प्रियजनहरू थुप्रै । यी थुप्रैमध्येमा नभेटी नहुने पनि उत्तिकै थिए । त्यसैले त रात बस्न सयौँ किलोमिटरको यात्रा तय गरेर कहिले कसकोमा पुग्थेँ, कहिले कसकोमा । दिनभरजसो घुमघाम हुन्थ्यो । घुमाउने पनि साथीहरूको पालो लागेको थियो, पानी भर्ने पालोजस्तै । जसमा विशेषगरी प्रकाश दाइ, दीप दाइलगायत थिए । धेरै यात्रा त हामीले साथसाथै पनि गर्‍यौँ ।

जापान पुगुँ र मेरो बालसखा दीपेन्द्रलाई नभेटुँ, कदापि हुन सक्दैनथ्यो । म आउने थाहा पाएपछि नै उसले दुई दिनको छुट्टी हालेको थियो, कम्पनीमा । ऊ भन्थ्यो–‘तँ आएसी टोकियोका गल्लीगल्ली घुम्नुपर्छ । अनि नाइट लाइफको नि मजा लिनुपर्छ ।’ 

‘ओके ओके’ मैले हौसिँदै भनेको थिएँ । 

०००

गाउँमा हुँदा । ऊ र म जति नजिक थियौँ, सोहीअनुसार नजिक थिए, हाम्रा घरहरू पनि । दुवैका घर खरले छाइएका । मेरो त घर भन्नु गाईबस्तु पाल्ने गोठ थियो । ‘घर’ त्यसैलाई भन्ने बानी परेको थियो । आखिर घर भन्ने भनेकै आफू जहाँ ओत लागिन्छ त्यसैलाई त रहेछ नि !

तर, उसको त साँच्चिकै ‘घर’ थियो । पूर्ण संरचना नै घरको । बा उसका मद्रासमा पार्मेट (परमानेन्ट) नोकरी गर्नुहुन्थ्यो । वर्षमा एकपटक आउनुहुन्थ्यो गाउँ । उसका बा आउँदा मलाई मेरै बा आएजस्तो लाग्थ्यो । (मेरा बा भने म सानै हुँदा स्वर्गे भइसक्नुभएको थियो ।) बा आएपछि पक्का मन्रासी (मद्रासी) मिठाइ ल्याउनुहुन्थ्यो । मैले पनि मुख गुलियो गर्न पाउँथेँ । आमाले अलिकति जिरा–मसला पाउनुहुन्थ्यो, मन्रासी प्रसादको रूपमा । भारु पैसा सरसापटमा पाउनुहुन्थ्यो । पछि कुनै न कुनै शारीरिक श्रम गरेर कटौती गर्नुहुन्थ्यो ।

बच्चै थियौँ हामी । र, त त्यतिवेला उसलाई म धनी हुँ भन्ने अहं अंकुराएन । म गरिब हुँ भन्ने पनि मैले बिर्सिएँ । यसरी हामी मिल्ने साथीसाथी बनेका थियौँ । अहिले सम्झँदा लाग्छ– सम्बन्धलाई बलियो राख्ने हो भने सम्बन्धबाहेक अरू सबै बिर्सिदिनुपर्ने रहेछ ।

हामी सँगै खेल्थ्यौँ । झगडा पनि सँगसँगै गथ्र्यौँ । गुच्चादेखि डुम्लीचसम्म हाम्रा प्रिय खेल थिए । बाँसका सुप्ला सापेर भिरालो जमिनमा चिप्लेटी खेल्यौँ । तिनै सुप्लाका फिरफिरे बनाएर उडायौँ । पानीपिच्चा छोपेर त्यसको पुछारमा डोरी बाँधी हेलिकोप्टर सम्झेर पनि उडायौँ । गर्न त गर्‍यौँ गर्‍यौँ । नगर्नु पनि गर्‍यौँ ।

जसरी वर्षभरिमा थोरै समय मात्र पानी पर्छ र पानी परेकोमध्ये पनि एकदम थोरैपटक चट्याङ पर्छ । त्यसरी नै एकदिन समयको नमीठो र दुर्लभ चट्याङ पर्‍यो हाम्रो मित्रतामा । उनीहरू त्यो पुरानो घर छाडेर अन्तै बसाइँ सर्ने भए । यो थाहा पाउँदा, त्यो जस्तो खल्लो समयावधि मलाई अर्को लागेन ।

बसाइँ सरेको टाढा पनि होइन । एउटै गाउँको तल्लो माथिल्लो भेग हो । तर, मलाई पायकचाहिँ परेन । त्यतिवेला बस् नरमाइलो लाग्यो । हुन सक्छ मेरो संगत छुटाउन उसका अभिभावकले त्यसो पो गरेका थिए कि त ?

भौतिक बसाइ–सराइँले आत्मिक मित्रता (सम्बन्ध) का फूलहरू पनि ओइलाएजस्तै भए, बिस्तारै । भेटघाट पातलियो । झन्डै मित्रताको डोरी चुँडिए–चुँडिएजस्तो भो । आजभोलि लाग्छ, सम्बन्ध भनेका विभिन्न ‘एप्स’ हुन् । जुन नियमित अपडेट भइरहेनन् भने बिस्तारै निष्क्रियप्रायः बन्छन् ।

त्यसपछि ऊ कता भयो, म कता ! लामो समय एउटै भूलोकमा फरकफरक समय र अवस्था भोगिरह्यौँ हामीले । 

यसबीचमा प्रविधि भित्रियो । ऊ जापान पनि पुग्यो । अनि फेरि हामी उही पुरानो मित्रतामा फर्कियौँ । त्यसका लागि खोलो फर्किने बाह्र वर्ष लाग्यो ।

०००

दिनभरको घुमाइ भयो हाकोने माची (डाँडा) । टोक्योबाट झन्डै सय किलोमिटर दक्षिणमा पर्ने हाकोने माची विशेषगरी ज्वालामुखी, ओन्सेन (तातोपानी), कालो अन्डादिका लागि प्रसिद्ध रहेछ । (हाकोने माचीबारे विस्तृतमा अर्को आलेखमा लेख्नेछु । किनकि मैले यहाँ लेख्न खोजेको कुरा अर्कै छ ।) साथमा थियौँ– पाँचजना यात्रीहरू । रमेश पौडेल, प्रकाश पौडेल, दीप पाठक, गिरिजा गैरे र म ।

हाकोने माचीबाट योकोहामा फर्किँदा रातको ८ बजिसकेको थियो । योकोहामामा हामीलाई भूमिका–अमृता भाउजू, दीपा–इन्दुजी र मित्र अरुणले कुरिराख्नुभएको रहेछ । खानाका विभिन्न परिकार तम्तयार थिए । हामी आउनासाथ रमाइलोको एउटा चरण सुरु भइहाल्यो । 

चिप्लेकिरा झैँ समय चिप्लिरहेको थियो । सबैजना रगत सफा गर्ने औषधि (पेय पदार्थ) लिँदै गफको सारंगी रेटिरहेका थियौँ । बाहिर सामान्य देखिए पनि मेरो मन भने भतभत पोलिरहेको थियो । आत्तिइरहेको थियो । किनकि मलाई योकोहामा टु वारबी–साइतामा पुग्नु थियो । साथी दीपेन्द्रकोमा ।

मेरो हतारले अरूलाई पनि अत्यायो क्यारे ! सबैजना खाना खाने सहमतिमा पुग्यौँ । रमेश दाइचाहिँ प्रकाश दाइकोमा बस्नेवाला हुनुहुन्थ्यो । अरुण दम्पतीको बसाइ योकोहामामै थियो । बाँकी ढिलो–चाँडो छुटिनेमा पाठक र गैरे दम्पती अनि म थियौँ । र, पनि सबभन्दा टाढा पुग्ने भनेको फेरि पनि मै थिएँ ।

०००

जापान पुग्दासाथ मैले दीप दाइसमक्ष सिमकार्ड लिने प्रस्ताव गरेको थिएँ । यता नेपालमा उस्तै परे चिया पसलमा पनि सिम कार्ड किन्न पाइन्छ । सिम कार्डबारे मेरो यही सोचाइ बन्यो, जापान पुग्दा पनि । तर, के–को सिम लिन पाउनु जोकोहीले ? साना दुःखले पाइन्न रैछ सिम ।

अब सिम नै नभएपछि सम्पर्कको माध्यम यसै साँघुरियो । न कल, न डाटा । नयाँनयाँ मान्छेलाई झन् एक्लै हिँड्न परेको खण्डमा योजस्तो चर्को समस्या अर्को के हुन्छ ?

जापानमा एउटा सानो पकेट वाइफाई पाइँदो रहेछ । जहाँ जाँदा पनि साथमै लग्यो, हिँड्यो । अनि मस्तले चलायो । तर, छोटो समयका लागि महँगैजस्तो लाग्ने शुक्ल तिरेर वाइफाई किन्ने कुरा पनि भएन । रमेश दाइ र मैले सल्लाह गरेरै किनेनौँ । वास बस्ने घर–घरमा वाइफाई हुन्थ्यो नै । बाँकी यताउता हिँड्दा नचलाई राखुम्ला भनेर चित्त पनि बुझायौँ ।

तर संयोग न हो !

अनेसासको स्वर्ण शृंखलामा सहभागी जनाउन आएका एकजना मित्र, जो रमेश दाइका प्रशंसक थिए, उनले जापान बसाइ अवधिसम्मलाई भनेर आफूसँग रहेको पकेट वाइफाई दिए । मैले त्यसको नाम ‘डल्लो’ राखिदिएँ । डल्लोले हामी दुवैजनालाई काम दिने भयो । तर, त्यसका लागि म रमेश दाइसँग हुनु अनिवार्य थियो । किनकि डल्लो दाइकै कन्ट्रोलमा थियो । दाइको साथ छुट्यो कि मेरो मोबाइलको सासै छुट्थ्यो ।

०००

योकोहामा स्टेसनबाट केहिन्तोहोकु लाइन भएर सीधा जेआर (जापन रेलवे) चल्छ । खासमा यो जेआरले ओफुनादेखि ओमियासम्मको गन्तव्य भर्छ । यही बीचमा पर्छन्, योकोहामा, ताकादानोबाबा, वारबी आदि स्टेसन ।

योकोहामाबाट वारबीको दूरी थियो, ६७ किलोमिटर । इन्धनस्वरूप त्यसले खाने जम्मा समय– एक घन्टा २१ मिनेट । हामी योकोहामाबाट जेआर ट्रेन चढ्यौँ । दीप दाइ–भाउजू त्यहीँबाट छुटे । मलाई अलि परसम्म छाड्ने भनेर गिरिजा दम्पती मसँगै थिए । ट्रेनमा सँगै भइन्जेल दीपेन्द्रसँग उनीहरूकै मोबाइलबाट अपडेट भइराखेको थिएँ ।

‘ल अब ननिदाउनू । पन्ध्र–बीस मिनेटमा वारबी स्टेसन आइपुग्छ, झर्नू’ म ट्रेनमा उँघिरहेको देखेर गिरिजाजीले सचेत गराए– ‘नत्र फेरि स्टेसन छुट्ला नि !’ 

गिरिजा दम्पती ताकादानोबाबा स्टेसनमा झरे । झर्ने वेलामा अन्तिमपटक उनैले दीपेन्द्रलाई फोन लगाएका थिए । साथी दीपेन्द्रले मलाई लिन आफू वारबी स्टेसनमै आउँछु भनेको थियो । ‘वारबीमा एउटा मात्रै छ एक्जिट,’ उसले भनेको थियो–‘दायाँ–बायाँ कतै नलाग्नू । एक्जिट भएर बस्नू ।’

जापानकोजस्तो सभ्य र शिष्ट ट्रेनयात्रा अन्त कतै गरिनँ मैले । मान्छे आ–आफ्नो पायक स्टेसनबाट चढ्छन् । र, गन्तव्यमा झर्छन् । ट्रेनभित्र फोनमा होस् वा एक–आपसमा कुराकानी गर्दैनन् । गर्नुपरे धीमा आवाजमा गर्छन् । सिटमा बस्दा कतै अर्कोलाई ‘टच’ हुन्छ कि भनेर सतर्कता अपनाउँछन् । छुँदै छुँदैनन् । कसैगरी छोइहाले शिर निहुराउँछन् र सुमिमासेन (सरी) भन्छन् ।

ताकादानोबाबाबाट म युद्ध लड्ने सिपाहीजस्तो चनाखो बनेँ । झर्ने स्टेसन छुट्ला भन्ने पिरले । एक्लोमा एक्लो । सम्पर्कको सबै माध्यम सकियो । बोल्न, सोध्न उनीहरूको भाषा म जान्दिनँ । मेरो उनीहरू जान्दैनन् । न स्टेसनमा वाइफाई नै छ । लौ अब परेन फसाद !

‘नेक्स्ट स्टेसन इज वारबी’ ट्रेनभित्र स्वचालित यन्त्र बज्यो । भन्न त पहिले जापानिज भाषामा भन्यो । त्यसपछि अंग्रेजीमा । मैले अलिअलि बुझ्ने भनेको यही अंग्रेजी न हो, बुझेँ । र, वारबी स्टेसनमा झरेँ । ट्रेनले आफ्नो यात्रा जारी राख्यो । मैले मेरो । तिनै यात्रुको पछि लागेर म ‘एक्जिट’तिर लागेँ । कार्ड स्वाइप गरेँ र बाहिरिएँ । तर हेर्छु, मलाई लिन आउने भनेको साथी त छैन । लाग्यो– आउँदै होला, एकछिन कुर्छु ।

कार्ड स्वाइप गर्ने ठाउँको ठीक अगाडिपट्टि । भित्तामा अडेस लगाएर एकछिन प्रतीक्षा गरिबसेँ । फेरि अर्को, झन् अर्को ट्रेन आयो । उसैगरी यात्रु झरे । र, बाहिरिए । तैपनि साथी आइपुग्दैन । अब भने मनमा के गरुँ कसो गरुँ भो !

‘कुर्नु कुर्नु बरु स्टेसन बाहिरै गएर कुर्छु’ मन दोमन भइरहेका वेला निर्णयको जरा बलियो भयो ।

म सीधै बाहिर निस्किएँ ।

यसअघि एकचोटि आएको थिएँ, वारबी । उही दीपेन्द्रसँग । त्यो जापान पुग्दाबित्तिकैको समय थियो । त्यतिवेला उसले मलाई मोन्जेन नाकाचोबाट रिसिभ गरेको थियो । वारबी स्टेसन झरेर साइतामा भने आफ्नो रुमतिर लगेको थियो । लगभग पन्ध्र मिनेटजति हिँडेका थियौँ हामी । मैले स्टेसनबाहिर उभिएर त्यही सम्झेँ । अनि कुरिरहेँ उसलाई ।

घडीमा नेपालकै समय ‘सेट’ थियो, हेरेँ । आधा घन्टा भइसकेछ साथीलाई कुरेको । छटपटी बढिरहेको छ । समय घर्किरहेको छ । तर, डुबेको घामजस्तो उसको चाँ–चुँ केही छैन । निकैबेरसम्म पनि नआएपछि ‘अब यसरी पार लाग्दैन’ भन्ने भयो ।

पहिलोपटक उसकोमा जाँदा मैले तीन कुरा याद गरेको थिएँ । एक, स्टेसन बाहिरिनेबित्तिकैको सीधा पिच बाटो, जसको छेउमा हरियो रङ लगाइएको थियो । दुई, थोरै अगाडि पुगेपछि स्काई ब्रिज, जो भुइँबाट भर्खर सुरु हुन्थ्यो । र, तेस्रो तथा अन्तिम, ब्रिजकै आडमा साइकल पार्किङ र त्यहीँनेर फनक्क मोडिएको बाटो । अनि यही बाटो सम्झेर म लुखुरलुखुर हिँडिरहेँ ।

झन्डै दस मिनेट हिँडे । न हरियो रङवाला सडक आयो । न ब्रिज । न साइकल पार्किङ । म त अक्क न बक्क परेँ । थाहा भइसक्यो कि म गलत बाटो हिँडिरहेको छु । अबको उपाय थियो, स्टेसनतिरै फर्कने । म फर्किएँ । जति समय जाँदा लाग्यो, उति नै फर्कँदा पनि लाग्यो ।

वारबीमै आइपुगेँ । स्टेसनबाहिरको पारिपट्टि उभिएको छु । इँटा लगाएर चिरिच्याट्ट पारेको फराकिलो फुटपाथ छ । छ, साइकल लेन पनि । दुवैतिर बडेमानका भवन छन् । बत्तीको ‘दीपावली’ छ । मान्छेहरू आवतजावत गरिरहेका छन् । एकदमै हतारमा देखिन्छन् सबै । कोही कसैको मुखमा हेर्दैनन् । कोही बोल्दैनन् । तिनैमध्येमा म दीपेन्द्रलाई खोजिरहेको छु । उसकैबारे सोचिबसेको छु । तर, अहँ उसको पत्तो लाग्दैन अझै । 

‘एउटालाई रिक्वेस्ट गर्छु र दीपेन्द्रलाई फोन गरिमाग्छु’ समस्यासँगै उपायको बत्ती बल्यो, ‘ऊ जहाँ भए पनि एकपटक सम्पर्क भयो भने कम्तीमा ढुक्क त हुन्छ ।’

मेरोनजिकै भएर गुज्रिरहेका छन् मंगोलियन अनुहारहरू । उनीहरूको शरीरको चिम्नीबाट हर्हर अत्तरको बासना प्रवाहित छ । कोही नेपाली र भारतीय जस्तो–जस्तो पनि देख्छु । त्यहीवेला मनले फ्याट्ट ‘यसैलाई भन्छु’ भन्छ । अनि कान चनाखो बनाएर उनीहरूले बोलेको सुन्न खोज्छु । केको नेपाली वा हिन्दी बोल्नू ? खोइ अर्कै कुनै भाषा पो बोल्छन् ।

‘डु यु स्पिक इंग्लिस ?’ अन्त्यमा मेरो केही सीप चलेन । नचलेपछि मैले एकजना ट्याक्सी ड्राइभरलाई हातले इसारा गरेर मतिर बोलाएँ र सोधेँ । मलाई सामान्य अनुमान के भयो भने, पोखरा वा काठमाडौंतिर ट्याक्सीवाला काम चलाउ अंग्रेजी बोल्छन् । सायद यो पनि बोल्ला ।

‘नो नो’ ट्याक्सीवाला मतिर त आयो । तर, दुवै हात उचालेर बाई–बाई गरेजस्तो ग¥यो अर्थात् हल्लायो । यसको मतलब ‘मैले अंग्रेजी जान्दिनँ’ भन्ने भाव थियो उसको ।

‘उस्’ मैले लामो सुस्केरा हालेँ । 

मोबाइलको नोट प्याडमा टिपेको थिएँ, दीपेन्द्रको नम्बर । उसलाई त्यो नम्बर देखाएँ । र, इसाराले ‘यसमा फोन लगाइदे न’ भनेँ । उसले सहजै मेरो अनुरोध स्विकार्याे । फोन लगाइदियो । तर, तीन–तीनपटकसम्म फोन गर्दा पनि साथीले उठाएन । भएन अब मर्नु !

खासमा साथीले मोबाइल चार्जमा राखेर मलाई लिन स्टेसन आएको रहेछ । अब तपाईं अनुमान लगाउन सक्नुहुन्छ, अञ्जान ठाउँमा अञ्जान मान्छेको के हाल भयो होला भनेर । यद्यपि म भन्छु नि ! त्यही भन्न त यति लेखेको ।

जहाँ म उभिएको थिएँ, त्यहीँबाट फेरि सीधै अगाडि लागेँ । अघि म जुन बाटो गएको थिएँ, त्यसकै आडमा थियो यो । र, उही दिशातिर जान्थ्यो बाटो पनि ।

जाँदाजाँदै अलि अघि पुगेपछि ठूलो जेब्राक्रस आइपुग्यो । तर, आइपुगेन, हरियो रङ लगाएको बाटो । ब्रिज र साइकल पार्किङ । मैले सम्झन खोजेँ, पहिलोपटक आउँदा पनि यति ठूलो जेब्राक्रस त थिएन । फेरि पनि म दोस्रोपटक गलत बाटो हिँडिरहेको छु भन्ने बोध भयो । जब यति भयो अनि नफर्केर भो ?

वारबी स्टेसनतिरै फर्किएँ । ओठ मुख बर्खामा फुटेर हिउँदमा सुकेका मूलझैँ चिप्रिक्क भए । आफ्नै अनुहार खुम्चिएको महसुस गर्छु । भोक लागिरहेको छ । मनमा ‘अब के होला ?’

को हुन्डरी चलिरहेको छ । सजिलो छैन, फर्केर योकोहामा नै पुग्न पनि । त्यसै दिमाग भाइरस पसेर ह्याङ भएको कम्युटरजस्तो बनेको छ ।

स्टेसनबाहिर आएर उभिएँ उसैगरी । उही ठाउँमा । फेरि फोन गर्न सहयोग गर्ने कोही अर्को मान्छेको अनुहार खोजिरहेँ । त्यो पनि भेटियो । र, फोन गरेँ ।

‘साले...!’ उताबाट हेलो भन्नुअघि नै म कर्किएँ । मलाई ऊसँग खुब रिस उठिरहेको थियो । तर, झ्याप्पै ब्रेक लाग्यो बोलीमा । किनकि त्यो फोनबाट कुनै महिला स्वर गुन्जियो, ‘हजुर को ?’ 

‘दिपे छैन ? म उसको साथी ।’ 

‘ए–ए अस्ति आउनुभा मीन दाइ हो ?’

‘हो ।’ 

‘दीप दादा त त्यही स्टेसनको एक्जिटमा हुनुहुन्छ रे । माथिपट्टि । हजुर त्यहीँ जानू रे छिटो । अघि नै देखिन् खोजिराख्नुभाछ’ फोनमा बोल्ने महिलाले बताइन् ।

म दौडेर स्टेसनको माथि पुगेँ, एक्जिटमा, जहाँ म केहीबेर उभिएर उसकै प्रतीक्षा पनि गरेको थिएँ । त्यहीँ बल्ल भेटियो, दीपेन्द्र । ऊसँगै अर्का एकजना साथी पनि थिए ।

यति पढेपछि तपाईंलाई लाग्ला– कसरी चार्जमा छोडेर आएको मोबाइलमा पहिले नउठेको फोन पछि उठ्यो ? कसले उठायो र सम्पर्क भयो ? यो पनि म भन्छु ।

जापानमा कोठामा ताला लगाउने चलन खासै छैन भन्दा पनि हुँदो रहेछ । यसबारे जिज्ञासा राख्दा प्रकाश दाइले पनि आफूले दसैँमा घर जाँदा मात्रै ताला लगाउने कुरा बताउनुभएको थियो । यता दीपेन्द्रले पनि आफ्नो कोठामा ताला लगाएको थिएन । 

स्टेसनमा दीपेन्द्रसँगै रहेका मान्छे उसको ‘फ्ल्याट मेट’ रहेछन् । उनी ड्युटीबाट आउँदै गर्दा एक्जिटमा मलाई पर्खिरहेको दीपेन्द्रसँग उनको भेट भएछ । उनले आफ्नो मोबाइलबाट रुममेटलाई फोन गरेर चार्जमा रहेको दीपेन्द्रको मोबाइलमा फोन आएको खण्डमा उठाएर ‘स्टेसनमै छ भन्दिनू’ भनेका रहेछन् । यसरी सम्पर्क भएको थियो मेरो ।   

यो त भयो सम्पर्कको कुरा । अनि त्यसपछि... ? 

हामी दुवै भेट भयौँ । तर, कुनै उत्साह थिएन । मलाई ऊदेखि हदै रिस उठिराखेको थियो । मदेखि उसलाई उठिराखेको रहेछ । ऊ भन्थ्यो, ‘गल्ती तेरै हो । किन एक्जिटमा पर्खी भनेर बाहिरबाहिर हिँडिस् ?’ मेरो तर्क थियो, ‘मान्छे लिन आउँदा मोबाइल किन चार्जमा राखेर आइस् तँ ? त्यसैले हन्ड्रेड पर्सेन्ट गल्ती तेरै हो ।’

यसरी एकले अर्कोलाई आरोपित गर्दै, बाझ्दै, रिसाउँदै, फन्कँदै वारबी–साइतामा पुग्यौँ हामी । अन्तिममा सहमति जुट्यो– सिक्स्टी पर्सेन्ट गल्ती उसको बाँकी मेरो ।

२०७६ मङ्सिर १४ शनिबार नयाँ पत्रिका (झन् नयाँ)मा प्रकाशित ।

  • Share:

You Might Also Like

0 comments