स्केचः समित |
मीनराज बसन्त । चैत-वैशाख गर्मी र पुस-माघमा जाडो। तर बिग्रिएको सम्बन्धलाई के चैत-वैशाख, के पुस-माघ ? सधैंभरि चिसै चिसो।
गोवर्द्धन आफ्नो भाइसँग चिसिएको सम्बन्ध सुधार्न चाहन्थ्यो।
अग्लो कद। जीउ सुहाउँदो मोटाइ। पुक्क गाला। ठुटे नाक। र ठुल्ठुला आँखीभौं छन् गोवर्द्धनका। तर बाहिरबाट देखिने जति ठाउँमा उसको छाला गोरो कही“ छैन।
‘ल भनओ’, साना केटाकेटीलाई जम्मा पाथ्र्यो गोवर्द्धन। वा आफैं उनीहरू जम्मा भएको, खेलेको ठाउँसम्म पुग्थ्यो। अनि हातमा पैसा देखाउँदै सोध्थ्यो, ‘म कस्तो देख्याछु ? ’
‘एकदम राम्रो’, केटाकेटीले भनिदिन्थे। र हल्ला गर्दै रानोको वरिपरि अन्य मौरीझैं गएर झुम्मिन्थे।
गोवर्द्धन त्यो पैसा तिनै केटाकेटीलाई बाँडेर एक्लै लुरुलुरु फर्किन्थ्यो, ‘केटाकेटी झुट बोल्दैनन्।
०००
गोवर्द्धन र सोबिता एकअर्कालाई चिन्छन् मात्र। उनीहरूको सहरभित्रको गाउँ फरक छ। धेरैजसो त यी दुईको भेटै हुँदैन। अक्कलझुक्कल उही बजारतिर वा कतै हि“ड्दाखेरि बाटोमा भेट हुन्छ। भेट हुँदा सोबिता तर्किन खोज्छे। गोवर्द्धन त्यसो हुन दिँदैन। उसलाई थुनछेक गरेर पनि वशमा पार्न खोज्छ, फकाउँछ।
गोवर्द्धन सोबितालाई एकछत्र मन पराउँथ्यो। नपराओस् पनि कसरी ! चन्द्रमाझैं उज्याली थिई ऊ। कुनै झर्ना झरिरहेकोजस्तो लामो सिलिक्कको कपाल थियो। पुष्ट वक्षस्थल। उठेको नितम्ब। तर सोबिताको आँखामा गोवर्द्धन कसिंगरसरह थियो। किनकि ऊ कालो थियो।
खासमा गोवर्द्धन सोबितालाई प्रेम गर्दैनथ्यो। उसको दिमागमा प्रेम, विवाह, सन्तानसुख, सुखद भविष्यको योजनादि केही थिएन। थियो त अर्थोकै केही।
०००
‘छोरी अब उमेरमै घर गरेको खाएको राम्रो हुन्छ। बढ्दो लहरोले थाँक्रो भेट्यो भने माथितिरै उक्लिन्छ।’
एक साँझ। खाना खाने बेला हुँदै थियो, बत्ती गयो। सोबिताले मोबाइलको मधुरो लाइट बालिदिई। त्यसकै उज्यालोमा आमाले मैनबत्ती जलाइन्।
‘छोरी भएर जन्मेसी यस्तै हो’, आमाले उसको बिहेको संकेत गर्दै सुनाइन्, ‘हामीले तेरो बेको कुरा चलाएका छौं। बाबाले पनि केटाको तस्बिर हेरे“ भन्नुभको छ। चित्त बुझ्यो रे। अब के भन्छेस् तँ ? ’
बिहेका कुराले एकछिन त सोबिताका कान सन्न भए। मुखमा हालेको भातको गाँस यत्तिकै अड्कियो। आँखा आश्चर्यले भरिए। तिनै आँखा उठाएर उसले आफ्ना बाआमातिर पुलुक्क हेरी। अनि मुखको गाँस निली। भान्साबाट सीधै हात धोएर कोठामा छिरी। र आफ्नै शरीरको माया नलागेजसरी डङ्ग्रङ्ग बिस्तारामा पछारिई।
‘लौन के भो ? ’ भान्साबाट आवाज सुनिरहेकी आमा हड्बडाइन्। अनि जुठै हात लिएर छोरीको कोठातिर भागिन्।
‘के भको हैछ ? ’ भान्सामा पुग्दा सोबिताका बाले सोधे। यतिन्जेल बत्ती पनि आइसकेको थियो।
‘क्यै हैन’, बलिरहेको मैनबत्ती निभाइन्, ‘हुर्के बडेकी छोरी। बेको कुरा गर्दा अप्ठेरो लाग्यो होला नि त !’
एकछिनका लागि मृतप्रायः भयो वातावरण।
‘हेर्... अरूका जस्ता बिग्रेका छैनन् हाम्रा छोर्छोरी’, छोरीमाथि बाउको विश्वास बलियो भएर आयो, ‘नत्र त अचेल हुर्केबडेका छोर्छोरीबारे अनेक थरीका कुरा सुनिन्छन्। धन्न हाम्रो पारिवारिक संस्कार राम्रो थियो र...!’
‘अँ हो’, भन्ने भावमा बूढीले बिस्तारै टाउको हल्लाइन्। उनलाई बोल्न मन थिएन।
खाना खाइसकेर जूठो भाँडो गरिन्। घरधन्दा सकिन्। ग्याँस जलाएर दूध तताइन्। तीनवटा गिलासमा भाग लगाइन्। छोरीलाई दिने गिलास भने उनले भरिदिइन्। अरूमा त्यति नै राखिन्, जति पुग्छ।
‘दूध लौनु’, उनले एउटा गिलास बूढालाई जिम्मा लगाएर सरासर छोरीको कोठामा प्रवेश गरिन्।
‘सोबी...’, सोबितालाई आमाले प्रेमपूर्वक ‘सोबी’ भन्थिन्। यसै पनि आमालाई छोरी नै प्यारो हुन्छ। छोरो सीए पढ्न भनेर दिल्लीमा थियो। घरमा सहारा भनेको पनि उही थिई, ‘उठ छोरी उठ।’
तर सोबिता सजिलै उठिन। निदाइसकी कि भन्ने लाग्यो आमालाई। अनि जोरले कुम समातेर झ्याँकिन्, ‘उठेर दूध खाइदे मलाई।’
बल्लबल्ल एकछिनपछि उठी सोबिता। आँखा मिचेजस्तो गरी। दूधमा दूधकै जालो बसिसकेको थियो। तातो पनि थिएन।
०००
एकैचोटि पाँच वर्षमा सुरज दुबईबाट फक्र्यो।
नेपाल हुँदा ऊ दुब्लो, ख्याउटो थियो। धेरैले उसलाई सुरजको साटो ‘सुके’ भनेर बोलाउँथे। अब ऊ खाइलाग्दो भएर आएको थियो। जजसले सुके भन्थे, तिनीहरूको मुखमा बुजो लगाइदिएको थियो।
होटल म्यानेजमेन्टमा ब्याचलर गरेको केटा हो सुरज। एक दुई ठाउँमा जागिर पनि खायो। तर खै, भनेजस्तो भएन। कमाइ र खर्च बराबर। मन भड्किरह्यो। त्यसपछि उसले बिदेसिने निर्णय गरेको थियो।
पर्सि दसैंभन्दा आज्जसो घर आइपुग्यो ऊ। चालीस दिनको छुट्टीमा। वर्षौंपछि दसैंका टीका र जमरा लगाउँदै थियो। कुनै जुठो सुत्केरो नपरे तिहारमा दिदीबहिनीको हातबाट भाइटीका लगाएर फर्किने उसको सोच थियो।
‘अब गएसी फेरि आउनी कैले हो कैले ? ’, सुरजका बाले एक दिन अचानक बिहेको कुरा कोट्याए, ‘बुहारी ल्यार छोड्दे। बुढेसकालमा रेखदेख गर्नी कोही भएन।’
सुरजले सुनी मात्रै रह्यो।
‘हो त’, सुरजलाई बाआमाले भनेको कुरा ठीकै लाग्यो, ‘कमाउने मान्छेको के भर ? दुःख-बिमार पर्दा पैसाले मात्रै सबै काम गर्दैन। बाआमालाई तलमाथि केही भइहाल्यो भने पनि पानी ख्वाउने मान्छे हुँदैन। बरु गाउँतिरकी सोझी केटी हेरेर बे गर्छु। यति भएसी मलाई पनि ढुक्क।’
सुरज घर आउनुअघि नै हो, बाले बिहेको कुरा चलाएका। केटी खोज्ने जिम्मा सुरजका मामाले पाए। उनी बराउनी गर्नमा सिपालु मानिन्थे। भनेजस्ता केटीकेटी जुटाउँथे। कतिपयले त उनको नाउँ नै तोकेर भन्थे, ‘हरिशरणले गरेको बराउनी फाप्छ।’
एक दिन डुल्दैडुल्दै हरिशरण दिदी (सुरजकी आमा)को घर आइपुगे। भाइ आएको देखेर खुसी भइन् दिदी। चिसो पानी पिउन दिइन् र आफू चिया बनाउन भित्र पसिन्। साला-भिनाजु बाहिर बसेर गफको धुवाँ उडाउन थाले।
‘भेटिइन् त बुहारी ? ’ गफकै सिलसिलामा सुरजका बाले सोधे, ‘अब छोरो आउनी बेला भइसक्यो।’
‘केटी त कतिकति’, हरिशरणले कोटको खल्तीमा हात हालेर तीनवटा तस्बिर निकाले। अनि भने, ‘भान्जालाई जस्तोतस्तो पारेर नि भएन। यीमध्ये कुन चैं मन पर्छ हेर्नोस् त।’
तीनैजना बसेर चिया खाँदै, गफ गर्दै र तस्बिर हेर्दै गरिरहे।
बूढालाई जुन तस्बिर मन पथ्र्यो, बूढीलाई पर्दैनथ्यो। बूढीलाई परे बूढालाई पर्दैनथ्यो। कसैको आँखामा खोट देख्थे, कसैको निधारमा। कुनै डल्ली लाग्थी, कुनै सुइखुट्टे। एउटै तस्बिरमा सबै थोक मिलेको भेट्न उनीहरूलाई धौधौ पर्यो। अन्त्यमा एउटा तस्बिरमा गएर उनीहरू ठहरिए।
एक दिन मेसो जुर्याएर भिनाजुलाई त्यही केटी देखाइदिए हरिशरणले। देख्नेबित्तिकै उनलाई मन परिहाल्यो। ‘पक्का मेरी हुनेवाली बुहारी यिनै हुन्’, केटी हेरेपछि छोरा सुरजलाई सम्झिए बूढाले।
०००
एक दिन बजारमा गोवर्द्धनको अकस्मात् सोबितासँग जम्काभेट भयो। तर सोबिताले उसलाई चिनिन।
त्यस दिन सोबिता एक्लै थिइन। उससँग आमा, दिदी उमेरका अन्य मान्छे थिए। सबैले हातमा केही न केही सामानका पोका झुन्ड्याएर जेब्राक्रसबाट बाटो काट्दै थिए। संयोगले त्यहाँ बाइकमा सवार थियो गोवर्द्धन। बाटो काट्न थालेपछि बाइकको गति कम गर्यो। र दुइटै खुट्टाले भुइँमा टेक्यो। उसले देख्यो, बाटो काट्नेमध्येकी एक उही सोबिता हो। तर न हर्न बजाउन सक्यो, न बोलाउन। मात्रै हेरिरह्यो।
हेल्मेट लगाएको गोवर्द्धनलाई सोबिताले चिनोस् पनि कसरी ?
गोवर्द्धनलाई अरूको के मतलब ? सोबिताले कालो टाइट जिन्स र सेतो टिसर्ट लगाएकी थिई। पछाडिबाट अघाउँजी हेरिरह्यो। जिब्रो पड्कायो। आँखीभौं तन्कायो। मुखको पहरोबाट पानी रसाउन थाल्यो। मन उद्वेलित भयो। हेल्मेटभित्रका आँखामा उत्तेजनाको चस्मा लाग्यो। शरीर सिरिंग सिरिंग गर्यो। दुई खुट्टा टेकेर पनि उभिन नसकेकोजस्तो भयो। एक मन त उसकै पिछा गरौं कि भन्ने पनि नसोचेको होइन तर हच्कियो फेरि।
०००
अन्ततः सुरजको बिहेको दिन आयो।
सुरजको बिहेबाट सबैभन्दा बढी खुसी बाआमा नै थिए। सुरज आफू गम्भीर थियो। उसलाई परिस्थितिले तत्काल बिहे गर्ने पार्यो र मात्रै ! नत्र उसको योजना अर्कोपटक आउँदा गर्ने थियो।
इंगेजमेन्टमा दुलही पक्षले एउटा सर्त राखेको थियो। त्यो सर्त जन्ती कम ल्याउने भन्ने थियो।
नछुटाई नहुने, आफ्ना आफन्त, नातागोतालाई बिहेको निम्तो बाँडियो। रोटी हाल्नेले हाले। कसार बाट्नेले बाँटे। गेट बन्यो। ध्वजापताका टाँगिए। घरै उज्यालो देखियो।
बिहेको बिहान आफन्तहरू जम्मा भए। कोही अघिल्लै दिन आइसकेका थिए। सुरज बेहुलावतारमा झल्क्यो। शिरमा फूल भरेको ढाका टोपी। कोट पाइन्ट। काला जुत्ता। अरबको अत्तरको कडा हरक। सबैको हेराइ सुरजमै पुगेर टुंगिन्थ्यो। आखिर उक्त विशेष दिनको केन्द्रबिन्दु नै त थियो ऊ।
जम्माजम्मी बयालीसजना भए जन्ती।
जन्ती दुलहीको घर पुगे। गेटमा स्वागत गर्न बसेकाहरूले निधारमा रातो टीका लगाइदिए। खाम राखिदिए हातहातमा। सगुनस्वरूप मिठाई दिए। दुलहाले गेटको बीचोबीच टाँगिएको रिबन काट्यो। लगत्तै उसलाई आँगनतिर लिएर गए। कोही ऊसँगै गए, कोही वरै बसिरहे।
जन्ती बनेर गएको गोवर्द्धनले जब सोबितालाई दुलही बनेको देख्यो, खुट्टा चिप्लेर ह्वात्तै भीरबाट खसेझैं भयो। उसलाई कुनै फिल्मजस्तो लागिरह्यो यो दृश्य। पत्याउनै गाह्रो। तर वास्तविकता उसकै अगाडि थियो।
‘ए...’, गोवर्द्धनले माथिल्लो दाँतले तल्लो ओठ टोक्यो। शीर तलमाथि हल्लायो, ‘तँलाइ पख् न। अब त झन् कहाँ जान्छेस् र ? ’
०००
बिहेपछिका केही दिन बूढाबूढी मस्तैसँग घुमे। कहिले मनकामना पुगेर फेसबुकमा फोटो पोस्ट्याए। कहिले काठमाडौं पशुपतिनाथबाट। पोखरा, बागलुङ, इलाम, सौराहासम्म पनि पुगे उनीहरू। यसबीचमा दुवैले घरव्यवहारका पनि कुरा गरे। सुरजले आफ्नो घरको संस्कार, बुहारी बनेर आएकी श्रीमतीले निभाउनुपर्ने काम-कर्तव्यबारे सम्झाइबुझाइ गर्यो।
तर दिन बित्न के बेर ! हेर्दाहेर्दै सुरजको फिर्ती समय आयो।
‘परदेशीको भर हुन्न’, हि“ड्ने बेला सुरजको मन साह्रै गह्रुँगो भयो। उसले बूढीलाई सम्झायो, ‘राम्ररी बसे। आमाबाको ख्याल गरे। फोन, मेसेन्जरमा कुरा त भैहाल्छ। टाढा हुने शरीर हो, मन र माया त होइन नि !’
‘हस्’, सोबिता सुँक्कसुँक्क गरी। पछ्यौरीको फुर्कोले आँखाका चेप पुछी, ‘राम्रोसँग जानू। पुगेर फुन गर्नू।’
सूर्यजस्तो जाज्ज्वल्यमान छोरो अर्कै देशमा उदाउन हि“डेपछि बाआमा पनि अँध्यारा भए। निराश बने।
०००
झमझम झरी परेको एक साँझ। गोवर्द्धन र रमन भट्टीमा जमिरहेका थिए। यो सुरज गएको ठीक चार महिनापछिको कुरा थियो।
भन्नैपर्दा गोवर्द्धन र रमन जिग्री हुन्। दिनमा कम्तीमा पनि एकपटक यिनीहरू भेट्छन्, भेट्छन्। फोन र मेसेजको त के कुरा भो। यिनीहरू एकअर्कोलाई उडाउँछन्, होच्याउँछन्। यस्तै गरेर मजा लिने यी दुईको बानी भइसकेको छ। तर पर्दामा ज्यान पनि दिन्छन्।
‘साहुजी...’, गिलास खाली भएपछि रमनले आवाज उच्च गर्यो, ‘एइ साहुजी यता आउनुस् त।’
‘हजुर आएँ सर’, साहुजी उनीहरूले डाकेको स्थानमा हाजिर भए।
‘सितनमा अरू के के छ ? ’ सोध्यो गोवर्द्धनले।
‘छोयला, सुकुटी, चिकन-मटन...।’
‘उम् यसो गर्नुस्’, एकछिन सोचेजस्तो गरेर ऊ रमनतिर फर्कियो। साहुजी उनीहरूको अर्डर सुन्न उभिइरहेका थिए।
‘पहिले एक थपौं’, खाली गिलास देखायो गोवर्द्धनले, ‘अनि एक पिलेट सुकुटी र मकै पनि ल्याउनू। चाहिए थप्दै जाम्ला।’
‘हस् हुन्छ’, उनीहरूको अर्डर टिपेर साहुजी निस्किनै के लागेका थिए, दुवै मोबाइलमा वाइफाई जोडिदिन भन्यो।
गोवर्द्धन र रमन बिस्तारै लट्ठिँदै गए। सिस्नोले पोलेझैं शरीर झमझमाउँदै गयो। अब उनीहरूको बोली स्पष्ट थिएन। जिब्रो पनि लर्बराउन थालिसकेको थियो।
‘यार रमन एउटा सहयोग गर् न मलाई।’
टेबलमा उनीहरूको अर्डर आइसकेको थियो। बाहिर झरीले थामिने नामै लिएको थिएन। यसकारण पनि बसाइ लम्बिइरहेको थियो।
‘के ? ’, एक घुट्को निल्यो। सिन्काले सुकुटीको पिस घोचेर उठाउँदै मुखमा लग्यो, ‘ल भन् कस्तो सहयोग हो ? ’
‘...तेस्तो क्यै हैन। मेरी ब्वारीको चरित्र चेक गर्नुपर्ने थ्यो ? ’
‘कस्तो चरित्र चेक ? कि म गएर...? ’
‘हैत तेस्तो हैन...’ यति भनेर गोवर्द्धनले सुकुटी चबाइरह्यो। रमन सतही हाँसो हाँस्यो।
‘फेसबुक खोल् त। एउटा काम छ’, भट्टीमा पनि एकदम सिरियस देखियो गोवर्द्धन।
‘ला तैं खोल्’, मोबाइल नै जिम्मा लगायो रमनले। त्यसमा उसको फेसबुक प्रायः लग इन नै रहन्छ।
निकै हतारले फेसबुकको सर्च बक्समा गएर टाइप गर्यो, सानु माया।
एकछिनमै थुप्रै सानु माया देखिए। सानु माया, सानु माया गुरुङ, सानु माया तामाङ। तर गोवर्द्धनले खोजेको नाम सानु माया मात्रै थियो। त्यसैमा क्लिक गर्यो।
‘यै हो !’ गोवर्द्धनको खुसीले आवाज बढ्यो।
‘खै खै’ रमन उसको नजिकै जोडिन आइपुग्यो।
‘तर तँ योसँग कसरी एड भइस् ? ’, मेसेजको चिह्न देखिएको सानु मायामा गोवर्द्धनले फेरि क्लिक गर्यो।
‘को सानु माया हो ? ’, रमनले उसलाई साँच्चिकै आफूले नचिन्ने बतायो, ‘पोर्फाइल पिक्चर हेरम् त।’
‘अरे, यो त सोबिता होइन र ? ’, रमनले गोवर्द्धनतिर हेर्यो, ‘येल्ले कैले नाम फेरिछे हँ ? ’
गोवर्द्धन बाठो र बांगो दुवै थियो। रमन सीधा र सोझो। कतै सोबिताबारे केही फुत्काई पो हाल्छ कि भनेर सोध्यो, ‘तैंले कसरी चिन्छस् सोबितालाई हँ ? ’
‘मेरै गाउँले हो त सोबिता।’
‘अनि तैंले कसरी चिनिस्, त्यो चैं भन्दैनस् ? तीव्र जिज्ञासासहितको प्रश्न सोध्ने पालो रमनको थियो।
गोवर्द्धन बोल्दै बोलेन।
०००
हिजोआज गोवर्द्धन बाक्लै सोबिताको कर्मघरमा आउजाउ गर्छ।
बिहेपछि सोबिता उसकी आफन्त बनेकी छे। नाताले भाइबुहारी। खासमा सुरज फुपूको छोरा पर्छ।
भाइ विदेश। बुहारी नेपाल। गोवर्द्धन सोच्छ, भाइले काउकुती लगाएर छोडेको शरीरले फेरि पनि काउकुती नै खोजिरहेको हुनुपर्छ। चाहना कसको हुँदैन र ? त्यसको एक मात्र उपाय भनेको मै हुँ।
हप्तामा दुई दिनजति आफ्नी फुपूको घर पुग्छ ऊ। हालखबर सोध्छ। अनि सोबितालाई देखेपछि कि पानी ल्याऊ भन्छ कि चिया पकाऊ। चिया पकाउन लाग्दा उसकै पछि लागेर भान्सामा जान्छ। यसलाई फुपू फुपाजुले सामान्य नै भन्ठान्छन्।
एक दिन अलि बढी नै भयो।
गोवर्द्धन उसैगरी फुपूको घरमा पुगेको थियो। सोबितालाई देख्नेबित्तिकै ‘कस्तो च्या खान मन लाछ ब्वारी’ भन्यो।
‘मलाई नि दुई सुर्की जति बनाऊ है’, सासूले भनिन्। र आफू आँगनतिर भुलिन्। ससुरा दिनभरजसो बाहिरैबाहिरै हुन्थे।
‘पानी खान पर्यो !’ बुहारी चिया बनाउन भान्सामा पसेको एकैछिनमा गोवर्द्धन उसकै पिछा गर्दै लुसुक्क छिर्यो। र हेरिरह्यो पछाडिबाट। थुक निलिरह्यो। बिस्तारै शरीरका संवेदनशील अंगका नशा तन्किए। कामातुर भयो। उसलाई लाग्यो, योजस्तो सुन्दर मौका अर्को हुनै सक्दैन।
गोवर्द्धनले पछाडिबाट च्याप्प बुहारीका स्तन समातिदियो।
‘खबरदार !’ चिया चलाउँदै गरेको डाडु समातेर गोवर्द्धनतिर फर्किई सोबिता। आँखामा क्रोध भरिएको थियो। भनी, ‘जेठाजु न सेठाजु, एक पाइला बढ्यौ भने...।’
गोवर्द्धन कालोनीलो बन्यो। न ऊ त्यहाँ बसेर चिया पिउन सक्ने अवस्था भयो। न निस्कन सक्ने। तै तै कसरी हो, भाग्न भ्याएछ। ऊ भागेको सासूबुहारीलाई नै थाहा भएन।
त्यही दिन। सोबिताले यो घटना सुरजलाई जस्ताको तस्तै बताई। यो सब सुनेर परदेशमा ऊ स्तब्ध भयो। रिसको झोकमा ‘तँ पनि गतिली होइनस्’ भनेर बूढीलाई हकार्यो। सोबिता ‘मेरो के गल्ती ? ’ भन्दै क्वाँक्वाँ रोई। गोवर्द्धनलाई पनि फोन गरेर भक्कु थर्कायो। र त्यही दिनदेखि सुरज र गोवर्द्धनको बोलचाल सधंैका लागि बन्द भयो।
०००
के तपाईंहरू त्यस दिन भट्टीमा गोवर्द्धन-रमनबीच अरू केके भयो भनेर जान्न चाहनुहुन्छ ? त्यसोभए सुन्नोस् ः
‘किन बोल्दैनस् हँ ? ’ रमन गोवद्र्धसनँग झोक्कियो, ‘कि ऐलेईबाट बैरो भइस् ? ’
‘खै कसरी चिने“ चिने“’, योभन्दा अर्को गतिलो उत्तर गोवर्द्धनसँग थिएन।
‘ल ल भयो’, आफू हारेजस्तो गर्यो रमनले।
‘आजको सप्पै खर्च म बेहोर्छु’, गोवर्द्धन त्यस्तै जोस्सियो। फेरि अर्को लट साहूलाई बोलाएर अर्डर गर्यो। सितनमा चिकन चिल्ली थियो। र चुरोट पनि।
झरी थामिइसकेको थियो। शीतल थियो मौसम।
‘सुन् ए रमने ? ’,
‘अँ भन् !’
‘त्यो सानु माया उर्फ सोबिता छे नि, तेल्लाई मेसेज पठा त।’
‘हैत ! पठाउनु र ? के भनेर पठाउने ? ’
‘परेको म बेहोर्छु, तँ चिन्ता नगर्। आई लब यु लेख् न त।’
‘पछि...’
‘भने“ त म छु भनेर।’
रमनले फेरि पनि मोबाइल गोवर्द्धनलाई नै सुम्पियो। उसैले हात कपाउँदै मेसेज लेख्यो, ‘आई लभ यु सोबिता।’
‘आई लभ यु बाँदर’, उताबाट त्यसको मीठो जवाफ आइसकेको थियो। यो खबरले दुवैजना खुसी भए।
यसअघि पनि रमनको सोबितासँग कुरा हुन्थ्यो। जुन कुरा च्याटले प्रमाणित गथ्र्यो। रमनले सामान्य रूपमा जिस्क्याउँथ्यो। उसको जिस्काइमा त्यस्तो केही थिएन। सोबिता पनि त जिस्किदिन्थी।
‘ल यसको स्क्रिन सट् तु मलाई पठाइहाल् त’, गोवर्द्धनले रमनलाई मोबाइल फिर्ता दिँदै भन्यो, ‘अरू नभए नि मनको सन्तोष त होला।’
रमनले त्यो च्याटको स्क्रिनसट गर्यो र गोवर्द्धनलाई पठायो।
‘अब उठौं’, बसाइको बिट मार्दै गोवर्द्धन कुर्सीबाट उठ्यो, ‘अबेर पनि भो। तर पैसा चैं मै तिर्छु है।’
भट्टीबाट दुवै निस्किए। अलि पर पुगेपछि एउटा चोक आयो। त्यहाँबाट दुवैले आआफ्नो घरको बाटो पक्रिए, ढुनमुनिँदै।
बाटो पक्रिएपछि गोवर्द्धनले सन्तोषको लामो सास फेर्यो। भट्टीमा एक्लैले पैसा तिरेर पनि उसको मुहारमा खुसीको सूर्य उदाएको थियो। यो सबको कारण थियो, स्क्रिनसट।
बाटैबाट फेसबुक खोलेर सुरजलाई तु. त्यो स्क्रिनसट पठाइदियो।
‘हेर् भाइ, म गलत होइन’, मुनि मेसेज पनि लेख्यो, ‘तेरी बूढी नै उस्ती हो।’
गोवर्द्धन विश्वस्त भयो कि भाइसँग चिसिएको सम्बन्ध अब यही“बाट सुध्रिनेछ।
०००
‘कता हो बाँदर ? ’, एक हप्तापछि। सोबिताले रमनलाई मेसेज गरी।
रमन रातको खाना खाइवरि युट्युबमा म्युजिक भिडियोहरू हेर्दै पल्टिराखेको थियो। कोठामा मधुरो बत्ती बलिरहेको थियो। घडी हेर्यो, रातको १० बज्न केही मिनेट बाँकी रहेछ।
‘घरमै छु’, रमनले झुटो जवाफ लेख्यो, ‘टीभी हेरेर बसिरहेको छु।’
‘आज मेरो श्रीमान् हुनुहुन्न। घरमा आउनू न...।’
‘किन ? कता जानुभो र ? ’
‘आफन्तकहाँ जानुभको छ। म एक्लै छु घरमा।’
‘है ? तर त्यस्तो सोच्नुहुन्न नि।’
‘किन ? अर्काकी स्वास्नीलाई आई लभ यु भन्न हुने। अघिपछि सधैं आउन हुने, आज नहुने ? ’
यो मेसेजले रमन अलि सतर्क बन्यो। उसलाई लाग्यो, आइमाईको कुनै भर हुन्न।
‘लौ किन येस्तो कुरा ? मैले तपाईंलाई कैले भेट्या छु र ? ’
केही बेर सोबितातिरबाट कुनै मेसेज आएन। रमन छटपटिन थाल्यो। दमाहाजस्तो उसको मुटु बज्न थाल्यो, ढ्वाङ्ढ्वाङ्।
एकैछिनमा टुप्लुक्क मेसेज देखियो। तस्बिरसहितको मेसेज थियो त्यो। रमनले क्लिक गरेर हेर्यो। त्यो त उसैले पठाएको मेसेजको स्क्रिनसट थियो; जसमा लेखिएको थियो, ‘आई लभ यु सोबिता।’
उसको हंशले ठाउँ छोड्यो।
‘को हो तपाईं ? ’, रमनले लेख्यो, ‘यो मेसेज मैले नै लेख्या हो। तर किन यतिपछि आयो ? ’
‘तँ तुरुन्त आइजा र तेरो स्वास्नी लिएर जा’, उताबाट च्याँट्ठिएको पुरुष आवाजमा भ्वाइस मेसेज आयो, ‘दाइजोसाइजो क्यै दिन सउतिन।’
अब रमनको होशहवास उड्यो। सुरज कति छिटो नेपाल आइसकेछ। उसले अलिअलि शंका त पहिले नै गरेको हो। नत्र सोबिताले त्यसरी रातिमा कहिल्यै मेसेज गर्दिनथी। गरे पनि त्यस्तो कुरा भन्दिनथी। यो सब बूढाको जासुसी हो भनेर बुझ्न उसलाई समय लागेन। उसले यो पनि बुझ्यो, यसमा खलनायकको भूमिका खेल्ने, छिर्के हान्ने साथी गोवर्द्धन नै हो।
रमनले पनि भ्वाइस मेसेजमार्फत रिप्लाई दियो, ‘महाशय, मैले के गरेको छु र तपाईंको स्वास्नी लैजान ? ’
‘पिलिच मलाई नपिट्नुस् न’, महिला आवाजमा चित्कारसहितको अर्को मेसेज आयो, ‘यसमा मेरो केही गल्ती छैन।’
रमनका परेली रसाए। यसरी लोग्नेको चरम यातना खेपिरहेकी सोबिताप्रति करुणाले भरियो। तर अब के गर्ने भन्नेबारे केही मेसो पाएन।
‘पिलिज आज मेरो घरमा आउँदै नआउनू है। मार्छ बूढोले। फोन, एसेमेस नि नगर्नू’, केही समय ठप्प भएको संवाद फेरि चालू भयो। सायद लुकेर गरेको मेसेज हो यो, रमनले सोच्यो।
रातको साढे ११ बजिसक्यो। रमन सोबिताको घर नगई सुखै पाएन। उसले कतै मारिन्छु कि भन्ने डरले साथी लिएर गयो।
घरनजिकैको चउरमा बसेर चर्काचर्की भयो। रमनको साथी, जो भर्खरै बहराइनबाट आएको थियो, मध्यस्थकर्ताको भूमिका खेल्यो। सम्झायो। सुरज र रमन दुवैले आआफ्नो इज्जतको सवाल रहेको बताए। रमनले त्यही मेसेजबाहेक अरू प्रमाण देखाउन कर गर्यो। नभएको प्रमाण बिचरो सुरजले देखाओस् पनि कहाँबाट ?
अन्तमा सहमतिनजिक पुग्यो कुरा। सुरजकै आग्रहमा फेसबुक, इमो, भाइबरमा ब्लक गर्यो। नम्बर डिलिट गर्न लगायो। भन्यो, ‘अब आयन्दा यस्तो सुन्नु नपरोस्।’
रमनले यतिभाँति पाएको दुःखको ब्याज उठाउनुपर्ने थियो। जसै सुरज दुबई फर्कियो, गोवर्द्धनको काम अब उसले सुरु गर्यो।
+++
बसन्त ‘मुदिर’ र ‘पिपिरी’का लेखक हुन्।
२३ कार्तिक २०७६ मा अन्नपूर्ण फुर्सदमा प्रकाशित ।
0 comments