कल्पनाको डायरी 'मुदिर'

By Meenraj Basanta - 4:12 AM







रुद्र खड्का । पछिल्लो समय वैदेशिक रोजगारीका राम्रा/नराम्रा पक्ष समेटर पुस्तक लेख्ने लहर नै चलेको छ। वैदेशिक रोजगारीका सूक्ष्म पक्ष केलाएर होस् या सरसर्ती 'रिपोर्टिङ' लाई आधार बनाएर पुस्तक प्रकाशन गर्ने प्रतिस्पर्धाले के साँच्चिकै विसंगति नै विसंगतिले भरिएको वैदेशिक रोजगारीलाई सुधार गर्न सहयोग पुर्‍याउला? अथवा वैदेशिक रोजगारीमा रहेका गारोसारो बुझाउन मद्दत गर्ला? उत्तर आउँछ– ती आमपाठक वा वैदेशिक रोजगारीमा जानेका लागि कम उपयोगी देखिएका छन्।

अहिले वैदेशिक रोजगारीमा केन्द्रित रहँदै लेखक मीनराज वसन्तले 'मुदिर' नामक उपन्यास बजारमा ल्याएका छन्। केही समयअघि आफै वैदेशिक रोजगारीमा गएका उनले मुदिरमा उल्लेख गरेका कति कुरा सत्य हुन्, कति कल्पनामा आधारित हुन् भन्ने कुरा पाठकलाई बुझ्न हम्मे पर्छ। वैदेशिक रोजगारीको क्रममा दिनप्रतिदिन दुःख पाउने क्रम बढिरहँदा मुदिरमा लेखकले उपन्यासी भाषामा पीडाका पहाड देखाउने प्रयास गरेका छन्। तर, रोजगारी खोज्ने नेपाली विदेशमा मात्र नभई आफ्नै घर, गाउँ हुँदै राजधानीमै शोषित भइसकेको हुन्छ भन्ने कुरा लेखकले बिर्सेका छन्। वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको एक अध्ययनअनुसार वैदेशिक रोजगारीको पहिलो शोषण चिनेजानेकै व्यक्ति र त्यो पनि आफ्नै गाउँठाउँबाट सुरु हुन्छ। गाउँगाउँमा रहेका म्यानपावर एजेन्टले विदेश पठाउने कोही व्यक्ति भेटेनन् भने आफ्नै पत्नी, सालालाई समेत पठाएर कमिसन लिएको अनि गाउँमा अर्की श्रीमती भित्राएको घटना सामान्य हुन थालेको छ।

सबैलाई थाहा छ– उपन्यासमा कल्पनाको सम्मिश्रण हुन्छ। तर, वैदेशिक रोजगारी यस्तो क्षेत्र हो, जहाँ कल्पना होइन यथार्थ नै अपत्यारिला छन्। ती अपत्यारिला यथार्थ नै उपन्यासमा कलात्मक ढंगमा उतार्न सक्ने हो भने बेस्ट सेलर किताब बन्न सक्छ। अहिलेको परिवेशमा वैदेशिक रोजगारीका दुःख–सुखलाई सार्वजनिक गर्नु भनेको आमनागरिकलाई त्यसबारे जानकारी दिनुका साथै  यो क्षेत्रको विकृति, विसंगति नियन्त्रण गर्ने प्रयास गर्नु पनि हो। साहित्य केवल मनोरञ्जनका लागि लेखिँदैन। एउटा जिम्मेवार लेखकले जे लेख्दा पनि समाजप्रतिको आफ्नो विशिष्ट दायित्व बिर्सन मिल्दैन। गोपालप्रसाद रिमाल हुन् वा विश्वेश्वरप्रसाद कोइराला वा महाकवि लक्ष्मीप्रसाद देवकोटा, भूपि शेरचन सबैले नै देश र समाजको उन्नतिका लागि सुतेका नागरिकलाई उठाउन साहित्यको बाटो रोजेका हुन्।

नेपालको वैदेशिक रोजगागारीलाई सुधार गर्नुपर्छ भन्नेमा सायद कसैको विमति हुँदैन। तर, वैदेशिक रोजगारीका नाममा भइरहेको अन्याय, पीडा र ठगीको क्रम हेर्दा नीति–निर्माण तहमा बसेकाहरू सुतेको अवस्थामा छन् भन्दा फरक पर्दैन। त्यसैले लेखक वसन्तले मुदिरलाई उपन्यासभन्दा पनि वास्तविकतामा आधारित संस्मरण वा त्यस्तै विधा बनाउन सकेको भए समाज र स्वयं वैदेशिक रोजगारीमा जान खोज्ने र गएकाका लागि बढी विश्वसनीय र उपयोगी किताब हुन्थ्यो। उनले आफू वैदेशिक रोजगारीमा रहँदा भोगका वा सुनेका विषयलाई डायरी बनाउन पनि सक्थे। 

वैदेशिक रोजगारीमा जानेको पीडा लेख्न कुनै पनि लेखकले कल्पना गर्नु नै पर्दैन। वैदेशिक रोजगारीको क्रममा देशभित्र र बाहिर पीडित भएकाहरूको कथा हाम्रै वरिपरि बगे्रल्ती छन्। लेखक त झन् ३ लाखभन्दा बढी कामदार रहेको कतारमा पुगेकाले त्यस्ता पात्र भेट्न गाह्रो पर्ने अवस्था देखिँदैन। उपन्यासमा लेखकले भनेझैँ वैदेशिक रोजगारीमा तमाम समस्या र विकृति छन्। त्यसमा असहमत हुने ठाउँ नै छैन। नेपालका लागि वैदेशिक रोजगारी अभिन्न अंग बनिसकेकाले यो विषय कुनै पढालेखा वा साहित्य अध्ययन गर्ने अथवा 'इलाइट' हरूको मात्र अब रहेन। यो अब आम विषय बनिसकेको छ। आमविषयमा कलम चलाउँदा लेखक झनै बढी गम्भीर बन्नु आवश्यक हुन्छ।

आजको दिनमा वैदेशिक रोजगारीसँग नेपालको अधिकांश जनसंख्या कुनै न कुनै रूपमा जोडिएको छ। सरकारी तथ्यांकलाई आधार मान्ने हो भने पनि ४३ लाखभन्दा बढी नेपाली श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका छन्। भारतमा जानेको संख्या त कसैले बताउन सक्दैन। भनिन्छ– एउटा व्यक्तिको सम्पर्क कम्तीमा पाँच जनासँग हुन्छ। हामीले त्यसकै आधारमा व्याख्या गर्ने हो भने पनि ४३ लाखको सम्पर्क करिब डेढ करोड नेपालीसँग जोडिएको मान्न सकिन्छ। त्यस्तै, नेपाल राष्ट्र बैंकको प्रतिवेदन हेर्दा करिब ५६ प्रतिशत घरपरिवारमा रेमिट्यान्स पुगेको छ। देशको कुल गार्हस्थ्य उत्पादनमा रेमिट्यान्सको योगदान करिब एकतिहाइ छ। यसरी दिन दुई गुना, रात चौगुना फैलिरहेको वैदेशिक रोजगारीका लागि अब कुनै एउटा पात्र वा कल्पनामा रहेर उपन्यास या अन्य कृति प्रकाशित गर्दा सिंगो विषयवस्तुमाथि नै अन्याय हुन जान्छ। झन् पछिल्लो समयमा बढिरहेको जथाभावी वैदेशिक रोजगारीसँग सम्बन्धित भएर पुस्तक प्रकाशन गर्ने क्रम जारी रहने हो भने त्यसले राम्रा पुस्तकलाई पनि त्यस्तै घानमा पार्ने खतरा बढ्दो छ।

पुस्तक केका लागि लेख्ने? त्यसमा हरेक लेखक प्रष्ट हुनुपर्छ। लेख्नुअघि आफू विषयवस्तुप्रति कत्तिको जानकार हुँ भन्नेबारे आत्मूल्यांकन गर्न सक्नुपर्छ। यसो गर्दा विषयवस्तुप्रति न्याय हुन्छ र पुस्तक पठनीय बन्न जान्छ। अनि लेखकको समाजप्रतिको दायित्व पनि प्रष्ट हुन्छ। कुनै पनि कृति व्यक्तिगत सनकका भरमा लेखिनु हुँदैन। त्यसका लागि गहिरो अध्ययन, अनुसन्धान हुनुपर्छ। र, आफूले उठाएको विषयमा पुनःपरीक्षण हुन पनि उत्तिकै आवश्यक छ भन्ने कुरा अहिलेका लेखकले बुझ्नुपर्छ।

मुदिरका लेखक कतार काम गर्न गएका हुन् या कृति लेख्नकै लागि त्यो कुरा प्रष्ट छैन। यसको अर्थ एउटा पेशा अपनाएको व्यक्तिले पुस्तक लेख्नै हुँदैन भन्ने कदापि होइन। तर, उनले नेपालका लागि अपरिहार्य बनेको वैदेशिक रोजगारीसम्बन्धी उपन्यास लेख्दा विषयवस्तुमाथि कति समय अध्ययन र अनुसन्धान गर्न पाए भन्ने हो। वैदशिक रोजगारीलाई विषय बनाएर भारत (मलयालम)का लेखक बेन्यामिनले संसारै हल्लाइदिए। 'गोट डेज' नामक उनको उपन्यास नेपालीका साथै अन्य थुप्रै भाषामा अनुदित छन्। हामी सबैलाई थाहा छ– हरेक मान्छेका भिन्नभिन्न दृष्टिकोण हुन सक्छन्। तर, दृष्टिकोण फरक भए पनि सत्य एउटै हुन्छ। उपन्यास, कथा, आत्मकथा जे लेखे पनि सत्य र तथ्य भनेको एउटै हो भन्नेमा कसैको पनि विमति हुन सक्दैन। मुदिरमा लेखकले जसरी कतारको एउटा मुस्लिम परिवारको कथा उठाएका छन्, त्यतिले मात्र वैदेशिक रोजगारीको यथार्थ झल्काउन सक्दैन। यसले कतारी वैदेशिक रोजगारीको प्रतिनिधित्व गर्न पनि सक्दैन। वैदेशिक रोजगारी भनेको न दुःखको खाडल हो न त सुखको हिमाल नै! यसका राम्रा/नराम्रा दुवै पक्ष छन्। दुवै पक्ष केलाउन सकेमात्र यस्ता पुस्तकले सिंगो वैदेशिक रोजगारीमाथि न्याय गर्न सक्छ। त्यसबाट देश, समाजले केही ज्ञान लिन सक्छ, त्यो उपयोगी पुस्तक बन्न सक्छ। अन्यथा लेखक बन्ने रहरमात्र मेटिन्छ।

लेखकको यो पहिलो कृति भएकाले पनि हुन सक्छ सुधार गर्नुपर्ने थुप्रै पक्ष छन्। पहिलो त मुदिर उपन्यासले वैदेशिक रोजगारीको आमकथालाई प्रतिनिधित्व गर्न सकेको देखिँदैन। त्यस्तै, भाषाको तारतम्य मिलेको छैन। वाक्य संरचना क्लिष्ट र नबुझिने छन्। कतिपय ठाउँमा भाषालाई काव्यिक बनाउने लोभमा लेखक चिप्लिएका छन्। हिज्जेको अशुद्धताले त झनै दिक्दार पार्छ। मुदिरको अर्थ नेपाली शब्दकोशमा पाइँदैन। हुनतः लेखकले उपन्यासको पुछारमा मुदिरको बारेमा परिचय गराएका छन्। तर, उनको लक्ष्य नेपाली पाठक हुन् भने उपन्यास नाम नेपालीसँग परिचित हुन सक्नुपर्छ। पुस्तक बाहिरबाट झट्ट हेर्दा निकै आकर्षक छ। उपन्यासमा सुधार गर्नुपर्ने थुप्रै पक्ष भए पनि लेखकको प्रयास के अर्थमा सराहनीय छ भने कतारमा बस्दाबस्दै उनले लेख्ने काम गरे। उनले लेखनमा देखाएको उत्सुकता केही नेलेखी बस्नेका लागि उदाहरणीय मान्न सकिन्छ।

पुस्तक :  मुदिर

विधा :  उपन्यास

लेखक :  मीनराज वसन्त

प्रकाशक :  शिखा बुक्स

मूल्य :  रु. ३२५/

शनिबार, १८ भदौ २०७३ मा नागरिक दैनिकमा प्रकाशित । 


  • Share:

You Might Also Like

0 comments