सरकारले उठाउनुपर्ने विषय उपन्यासमा उठाएँ

By Meenraj Basanta - 5:22 AM



मीनराज वसन्त बाग्लुङमा जन्मेर काठमाडौंलाई कर्मथलो बनाइरहेका छन् । लामो समय वैदेशिक रोजगारीमा रहँदा उनले ‘मुदिर’ नामक उपन्यास लेखे । आख्यानकार मीनराजसँग गरिएको लेखक वार्ताः

तपाईं किन लेख्नुहुन्छ ?

तपाईंले यो प्रश्न सोधिरहँदा मलाई भारतीय प्रगतिशील लेखक प्रेमचन्दको सम्झना भइरहेको छ । उनले कतै भनेका छन्, ‘लेख्ने त ती मान्छेले गर्छन्, जसभित्र केही छटपटी हुन्छ ।’ वास्तवमा उनको भनाइ ‘म किन लेख्छु’ भन्नेसँग सम्बन्धित छ जस्तो लाग्छ । त्यसकारण म आफूभित्रको आवेग, संवेग, छटपटी, उकुसमुकुसलाई अभिव्यक्त गर्नका लागि लेख्ने गर्छु ।

यो त आधारभूत कुरा मात्रै भयो । तर, यति भनिरहँदा केचाहिँ स्पष्ट हो भने एउटा लेखक आफूकेन्द्रित वा आफ्ना कुण्ठा मात्रै पनि लेखेर बस्दैन । विषयमा कहिलेकाहीँ विकेन्द्रीकरण पनि हुन सक्छ । 

यहाँनेर अर्को कुरा जोड्न चाहेँ– म फरक–फरक कारणका लागि लेख्छु र लेखिरहेको हुन्छु । जस्तो– मैले पहिलो उपन्यास ‘मुदिर’ लेखिनैपर्छ भन्ने लागेर लेखेको थिएँ । वैदेशिक रोजगारीमा जाने नेपालीको वास्तविक कथाबारे धेरैभन्दा धेरै जानकार हुनुपर्छ भन्ने ठानेर लेखेँ ।

तर, अब त्यही अवस्था रहेन । लेखिनुका कारण फेरबदल भए । किताबले केही पाठक र शुभेच्छुक पायो । लेखक र पाठकबीच सम्बन्ध बने । तिनले ‘के लेख्दै हुनुहुन्छ ? अर्को किताब कैले आउँछ ?’ भनेर झकझक्याइरहन्छन् । केही आशा र अपेक्षा राख्छन् । अनि त फेरि लेख्नुपर्छ भन्ने लाग्छ । यसरी नै म लेखिरहेको हुन्छु ।

कुन समय र अवस्थामा लेख्नुहुन्छ ?

लेखनमा लेखकका आआफ्नै नियम हुन्छन् । र, मेरा पनि छन् । विशेषगरी मलाई ब्रह्म मुहूर्तमा लेख्न मन पर्छ । मेरा लागि लेखन भनेको गहिरो साधना हो । होहल्लाबीच यस्तो साधनाको उपासना म सहज देख्दिनँ । त्यसैले म प्रायः एकान्त अवस्थामा लेख्छु । लेख्नकै लागि भनेर एकान्त चहार्दै म देशका विभिन्न ठाउँ पनि पुगेको छु ।

तपाईंका कृतिबाट पाठकले के अपेक्षा गर्न सक्छन् ?

जसरी जिब्रोअनुसार स्वाद फरक हुन्छ, उसैगरी पाठकपिच्छे अपेक्षा पनि फरक हुन सक्छन् । स्वभावतः नै हजारौँ पाठकको अपेक्षालाई एउटै कृति वा लेखकले सम्बोधन गर्न नसक्ला । तर, पाठकले पहिलो कृतिको तुलनामा दोस्रो कृति ‘अझ राम्रो’ भैदियोस् भन्ने चाहन्छन् जस्तो लाग्छ । जुन, स्वाभाविक पनि हो । म लेखनमा विविधता मन पराउँछु । सरसर्ती हेर्दा समाज, त्यहाँको परिवेश, भूगोल, जनजीवन आदि–इत्यादि आओस् भन्ने लाग्छ आफ्नो लेखाइमा । सायद, पाठकको पनि मबाट यही अपेक्षा पो छ कि ?

उपन्यास लेख्दै गरेका नवप्रवेशीलाई तपाईंको सुझाब ? 

पछिल्लो समय नेपाली साहित्यमा आख्यानलगायत थुप्रै कृति प्रकाशित भइरहेका छन् । जसले पनि ‘लेखक बन्ने’ रहर बोकेको छ । केही ‘अफ द बिट’ लेख्छु भनेर लागिरहेका पनि छन् । यो राम्रो कुरा हो । तर, लेख्ने भन्दै मनगढन्ते कुरा लेखेर मात्रै पनि हुँदैन । उचित विषय, परिवेश, भाषाशैली आदि पनि लेखनका मूलभूत तत्व हुन् भन्ने बिर्सिनुहुँदैन। 

लेखनमा बारबार ‘पुनर्लेखन’ जरुरी हुन्छ । आज आफूलाई खतरा लागेको त्यही कुरा केही समयपछि आफैँलाई झुर लाग्छ । मैले पनि मुदिरअघि तीन–चारवटा उपन्यासको पाण्डुलिपि तयार गरेको थिएँ । अहिले ती हेर्दा आफैँलाई लाज लागेर आउँछ । नछापेर ठिकै गरेछु भन्ने लाग्छ ।

किनकि, ती कच्चा पदार्थ मात्रै थिए । त्यसैले लेखन भनेको प्यास होइन, ‘प्यासन’ हुनुपर्छ । दीर्घसाधना गर्न‘पर्छ । र, सबैभन्दा महत्वपूर्ण कुराचाहिँ लेखनका लागि अध्ययन अति आवश्यक छ । अध्ययनविनाको लेखन निरर्थक हुन्छ ।

पहिलो कृति नै उपन्यास लिएर आउनुभयो, जोखिम कत्तिको थियो ?

साहित्यिक हिसाबले म पर्दापछाडि नै थिएँ । लेख्थेँ, तर त्यसको आयतन फराकिलो थिएन । परिचय, संगत पनि सीमित थियो । यसकारण पनि नयाँ लेखकका रूपमा ह्वात्तै आउँदा मलाई जोखिम अवश्य थियो । जोखिम, विषयको भन्दा बढी बजारको थियो । किनकि, बजार नाफामुखी छ ।

बजारमा ‘नाम’ बिक्छ । तर, त्यही बजारका लागि म त बिल्कुलै नयाँ थिएँ । तर, यी सब अनुमानले त्यतिवेला फेल खाए, जतिवेला ‘मुदिर’ बजारमा चल्यो । यसरी चल्नुको पछाडि ‘व्यक्ति’ नभएर ‘विषय’ थियो । किनकि, मैले सरकारले उठाउनुपर्ने विषय उठाएको थिएँ ।

अबको योजना के छ ? के लेख्दै हुनुहुन्छ ?

त्यस्तो बृहत्तर योजना त खासै छैन । म त्यस्तो योजना बनाउनेमध्येमा पनि पर्दिनँ । मलाई लाग्छ, कथं योजना बनाएर गरिने कामले पूर्णता पाएन भने म स्खलित हुन्छु वा मभित्र निराशाको सियो रोपिन्छ । तर, यदि सबै कुराले साथ दिइरह्यो भने लेखनमै लागिरहने कि भन्ने सोचाइसम्म छ । त्यसैअनुरूप अहिले दोस्रो उपन्यासमाथि काम गरिरहेको छु ।


  • Share:

You Might Also Like

0 comments