मीनराज वसन्त, युवा आख्यानकार
आफ्नो किताब छापिँदा कति खुसी लाग्दोरहेछ ?
अपार खुसी मिल्दोरहेछ । पहिलो उपन्यास ‘मुदिर’को कोमल स्पर्श पाउँदा बेहद खुसी भएँ । प्रसव पीडापछि स्वस्थ सन्तान जन्मिएझैँ लाग्यो । त्यो सब वर्णनातीत छ ।
लेखक बनेपछिको सुख र दुःख के रैछ ?
लेखक बन्नु नै सुख हो मेरा लागि । त्यसपछिका अन्य सुख पनि छन् । जस्तो, परिचय फराकिलो बनेको छ । प्रिय पाठकबाट अगणित माया पाएको छु । आफूलाई हेर्ने दृष्टिकोणमा फरकपन भेट्छु अचेल । अब दुःख त के भन्नु ? पाउनु दुःख त किताब प्रकाशन हुनुअघि पाइयो । अबचाहिँ चुनौती थपिएको महसुस गरेको छु ।
मानिसलाई खासमा केले लेखक बनाउँदो रहेछ ?
भोगाइ, अनुभव र संघर्षले लेखक बनाउँदो रहेछ । तर कहिलेकाहीँ सामाजिक परिवर्तन, विषय वा प्रेमले पनि मान्छेलाई लेखक बनाउँछ ।
कविताको किताब निकाल्नचाहिँ आँट नआएको हो ?
हो, कविताको पाण्डुलिपि थन्किएर बसेको थुप्रै भैसक्यो । आफ्नै लगानीमा प्रकाशन गर्न सकिँदैन, प्रकाशकले पत्याउँदैनन् । कविता बिक्दैन भनेर तर्साइएको छ । त्यसको शिकार म पनि बनिसकेको छु । उपन्यासचाहिँ प्रकाशकले नै सोधीखोजी गर्दा रहेछन् ।
अबचाहिँ कुन विधाको किताब आउँछ तपाईंको ?
मैले लेख्ने आख्यान नै हो, त्यसैले उपन्यास आउँछ । कविताको किताब निकाल्ने धोको पनि उत्तिकै छ ।
0 comments