काठमाडौं । आख्यानकार मीनराज वसन्तले आफ्नो दोस्रो उपन्यास ‘पिपिरी’ पाठकमाझ ल्याएका छन् । शनिबार राजधानीमा एक समारोहबीच यो पुस्तकलाई विमोचन गरियो । पिपिरीलाई अमर न्यौपाने, कवि हाङयुग अज्ञात, सगुना शाह र उपन्यासकार वसन्त स्वयंले विमोचन गरे ।
आख्यानकार तथा मदन पुरस्कार विजेता अमर न्यौपानेले पिपिरीलाई आख्यानका रूपमा व्याख्या गरे । सबै उपन्यास आख्यान हुन् तर सबै आख्यान उपन्यास होइनन् भन्दै न्यौपानेले यस पुस्तकलाई एकदम कम उपन्यासका रूपमा व्याख्या गरे । यो एउटा आख्यानभित्र दुईवटा कथा रहेका र पुस्तक घटना र अनुभवको असाध्यै मीठो संगालो भएको उनले बताए । उनले यसलाई एक आख्यानात्मक डायरीका रूपमा समेत चर्चा गरे ।
कवि अज्ञातले उपन्यास आफूले एकै दिनमा पढिसकाएको जिकिर गर्दै मीनराजले यस उपन्यासमार्फत आफ्नो छुट्टै छवि निर्माण खोजेको बताए । पिपिरीमा एउटा बाल मनोविज्ञानले समाजलाई कसरी हेर्छ भन्ने कुरा समेटिएको उनको भनाइ छ ।
लेदम सगुना शाहले आफू हुर्केको र यस उपन्यासको परिवेश भिन्न हुँदाहुँदै पुस्तकले आफूलाई आकर्षण गरेको बताइन् । पुस्तक पढ्न सुरु गर्दा पिपिरी मीठो धुन मात्र होला भन्ने सोचेकी शाहले पुस्तक पढिसकेपछि यो करुण रसले भरिएको मीठो धुन बन्न सफल भएको बताइन् ।
लेखक मीनराज वसन्तले उपन्यास लेखनका अनुभव कार्यक्रममा सुनाए । फिनिक्स बुक्सले प्रकाशन गरेको यो उपन्यासको मूल्य ४५० रुपैयाँ राखिएको कार्यक्रममा जानकारी गराइयो ।
0 comments