आफ्नो पहिलाे उपन्यास ‘मुदिर’मार्फत वैदेशिक राेजगारीकाे कथा लेखेर चर्चा बटुलेका आख्यानकार मीनराज बसन्त अढाई वर्ष पश्चात आफ्नो दोस्रो उपन्यास ‘पिपिरी’ लिएर पाठकमाझ आए । मिति २०७५ फागुन १८ गते शनिबारका दिन फिनिक्स बुक्सबाट प्रकाशित बसन्तद्वारा लिखित दोस्रो उपन्यास “पिपिरी”को अमर न्यौपाने, कवि हाङयुग अज्ञात, सगुना शाह र उपन्यासकार बसन्त स्वयंले थापागाउँ स्थित कुञ्ज थियटरमा विमोचन गरे ।
आफ्नो पहिलो आख्यान ‘मुदिर’ मार्फत गणेश हस्तकुमारी पन्त पुरस्कार, निलकन्ठ नवोद्दित प्रतिभा पुरस्कार, कविडाँडा साहित्य सम्मान, अनेसास सर्वोत्कृष्ट डायस्पोरिक वर्ष पुरस्कार जस्ता पुरस्कार र सम्मान ग्रहण गरेका बसन्तसँग दाेस्राे आख्यानको सकस, कथानक , लेखकीय जिम्मेवारी र लेखनकाे समकालीन प्रवृत्तिका विषयमा नेपालपाटीका राजु झल्लु प्रसादले पचास प्रश्न गरेका छन्।
आखिर के हो त पिपिरी?
पिपिरी, गाउँमा बच्चाहरूले पातबाट बजाउने बाजा हो । जो काभ्रो, साल, चिलाउनेको पातबाट राम्रो बज्छ । यस बाजालाई लामो समयसम्म बजाएको खण्डमा पात च्यातिन सक्छ। फाट्न पनि सक्छ।
कति समय लगाएर लेख्नुभयो ?
झन्डै डेढ वर्ष लाग्यो । खासमा पिपिरी मैले मुदिर भन्दा पहिले लेखेको थिए । त्यतिबेला अस्थिरपन्जर नाम थियो । त्यै कथालाई आधार बनाएर अहिले पिपिरी लेखे ।
अस्थिरपंजर नै पिपिरी हो ?
होइन । लेख्न त मैले शुरुबाट नै लेखेको हो । तर त्यो कथालाई आधार बनाएर लेख्दै गए । परिमार्जन गर्दा पिपिरी भयो । पहिले अस्थिरपंजर थियो, अहिले पिपिरी भयो ।
दिनहुँ लेख्नुहुन्थ्यो ? कति टाइम लेख्नुहुन्थ्यो ?
म बिहानमा लेख्थे । बिहान ४ बजेदेखि ५ बजेसम्म । अनौठो कुरा के छ भने पिपिरी सब्बै मैले मोबाइलमा लेखे । पछि त्यसलाई कन्भर्ट गरेर प्रीतिमा राखेर फाइल बनाएको हो ।
लेख्न शुरु गरेपछि कहिले सकिएला जस्तो भएन ? थकान या डिप्रेसन भयो कि ?
त्यो केहि हदसम्म भयो । कति समय चाहि केहि च्याप्टर लेखीसकेपछी म डिप्रेसनमा नै गए । आफैलाई तनाव भएजस्तो पनि भयो । मैले कति समय लेखिन पनि । ४/५ महिना मैले लेखिन, लेख्न सकिन ।
लेख्न थालेपछी फेरी रोक्नु भयो ?
अँ, फेरी रोके । अनि लेखनकै लागि भनेर गाउँ गए । कहिले म देवघाट गए । कहिले धादिंग गए । कहिले चितवनका अन्य विभिन्न ठाउँहरुमा गएर पनि कथा लेखे । विभिन्न् ठाउँमा गए ।
तपाइले भन्नुभयो कि किबोर्डमा लेखे, युनिकोडमा लेखे । लेखक बुद्दी सागर भन्नुहुन्छ, ‘कलमले लेख्दा औंलाहरु एकै ठाउँमा हुन्छन्, भावनाहरु समेटिन्छ । किबोर्डमा लेख्दा भावनाहरु छताछुल हुन्छन्, छरिन्छन् ।‘ तपाईको आफ्नो अनुभवले के भन्छ?
प्रत्येक लेखकको आफ्फ्नै नियमहरु हुन्छन । कोहि बिहान उठेर लेख्छन, कोहि दिउसो लेख्छन् , कोहि राती लेख्छन, कोहि भिडभाडमा लेख्छन । मेरो पनि आफ्नै नियमहरु छन् । मलाई लाग्दैन औंलाले लेख्दा भावनाहरु छरिने अथवा कलमले लेख्दा चाहि समेटिने हुन्छ । लेखकका आआफ्नै नियमहरु हुन्, त्यो हुनु पनि पर्छ भन्ने लाग्छ ।
कथाको मूल विषयवस्तु ?
कथाको मूल विषयवस्तु बाल्यकाल नै हो । मोटामोटी एउटा गाउँको बालकले भोग्ने बाल्यकाल हो पिपिरी ।
अलि बढी शब्दमा भन्नुपर्दा ?
समाजमा सजातीय वर्ग भित्रै जस्तो ब्राह्मण र दलित बीच भेदभाव त अझै पनि हुन्छ नै । एउटा बाहुन-बाहुन भित्रै पनि एउटा गरिब हुँदा, परिवारको मूल मान्छे नहुँदा, बच्चाहरु सानो हुँदा आइमाइलाई या त्यो परिवारलाई उपल्लो परिवारले कुन दृष्टिकोण बाट हेर्छ ? र यो कथाको म पात्रले त्यस्तै सामाजिक परिवेश भोग्छ । उसैको कथा हो पिपिरी ।
पिपिरीमा आफू कति हुनुहुन्छ ?
पिपिरिमा धेरै ठाउँमा म छु । मेरो समाज छ । अर्को गाउँको अर्को ठाउँको मान्छे पनि छन् ।
भनेपछि तपाइको आत्मकथा हो पिपिरी ?
कथामा मलाई जहिले पनि प्रथम पुरुष “म पात्र” नै भएर न्यारेट गर्न मन लाग्छ । म बनेरै लेख्छु । कतिपय सन्दर्भमा पाठकरुलाई पढ्दा खेरि लाग्न सक्छ यसको आत्मकथा रहेछ, यसको आत्मसंस्मरण रहेछ । तर त्यसो होइन ।
प्रथम पुरुष भएर लेखिनुको कारण ? म भएर लेख्दा व्यक्त गर्न सजिलो हुने हो ?
हो । पाठकलाई पनि सजिलो हुन्छ । आफुलाई अभिव्यक्त गर्न सहज लाग्छ मलाई- प्रथम पात्र भएर लेख्दा । जस्तो अगाडी खाडल थियो, खाडलको छेउमा म उभिए भनेर मैले लेखे भने मेरो पाठकले खाडल इमाजिन गरिकन आफूलाई लगेर त्यहाँ उभ्भैरहेको हुन्छ । उ उभियो भनेर लेखियो भने त्यो पाठकको सरोकार को विषय भएन । मेरो दुवै पुस्तकमा प्रथम न्यारेसन हो ।
तेश्रो पुस्तक पनि प्रथम पुरुषमा नै पढ्न पाउँछौं ?
अब म अर्कै न्यारेट गर्छु किनकि दुई वटामा प्रथम पुरुष प्रयोग गरिसके । विविधता आवश्यक छ लेखनमा । सधै दाल भात, सधै दाल भात । वाक्क लागिहाल्छ नि । पिपीरीमा लेखिएको ‘प्याट्रन’ त बासि भयो नि अब । तेस्रोमा आउदा म अर्कै शैलीमा लेख्न चाहन्छु । यदि तेस्रोमा आउदा पनि मुदिर कै शैली समाइरहे भने म फेल भए ।
मुदिर परदेशमा बसेका युवाहरुका लागि र ति युवाहरुको घरपरिवारको लागि थियो भन्नुभएको छ । पिपिरी चाहि कसका लागि ?
वैदेशिक रोजगारीमा गएकाहरुका लागि मुदिर थियो । वैदेशिक रोजगारीको कथा थियो मुदिर । तर विदेशमा जानेहरुले मात्र मुदिर पढ्नुपर्छ भन्ने होइन । तिनका घरपरिवार र समाजले पनि त पढ्नुपर्यो नि । विदेश प्रति हाम्रो अर्कै धारणा छ, विदेशमा पैसाको बोट हुन्छ भन्ने मानसिकताले आतंकित छौ हामि । तर तिनले यदि मुदिर पढ्ने हो भने आफूलाई गलत पाउछन । वैदेशिक रोजगारमा जानेहरु त सिमित छन्, तर बाल्यकाल भोग्ने को छैन ? एकैचोटी असि वर्षमा को जन्मन्छ र होइन ?
एकपटक आफ्नो बाल्यकालमा फर्कनको लागि, बाल्यकाल सम्झनको लागि र एउटा पात्रले एउटा अध्यारो ठाउँमा भोगेको दु:ख र उसको समाजको अध्यारो पक्षको बुझ्नको लागि मलाई लाग्छ पिपिरी आम-तमाम सबैले पढ्नुपर्छ । पिपिरी सबैको कथा हो ।
पिपिरीको समयकाल कहिलेको हो ?
मैले यसमा कुनै पनि ‘टाइमफ्रेम’ राखेर लेखिन । यो समय त्यो समय भन्दा पनि पिपिरी जुनसुकै समयलाई ‘सुट’ गर्ने किसिमको होस् भनेर नै लेखेको छु । आजको १०० वर्ष पछी पढ्दा पनि बाल्यकालका परिवेशहरु उत्तिकै जीवन्त हुन्छन् भन्ने लाग्दछ ।
अनि परिवेश ?
अब परिवेशको कुरा गर्नुपर्दा पिपिरीमा मैले मेरै ठाउँको परिवेश समेटेको छु । बाग्लुंग बलेवालाई ‘सेट’ गरेको छु । विश्वको कुनैपनि स्थानमा रहेर पिपिरी पढिरहनु भएको छ भने तपाइले बलेवाको बोलि, त्यहाँको आञ्चलिकता भेट्नुहुन्छ । बलेवाको लवजमा ‘आइच्च गैच्च’ भेटिन्छ । मैले यसमा त्यहि प्रयोग गरेको छु । जुन नेपाली साहित्यमा अहिलेसम्म लेखिएको मैले भेटेको छैन ।
भनेपछि तपाईले आफ्नो कथाको परिवेश चाहि पहाडलाई रोज्नुभयो ?
हजुर हो ।
नेपाली साहित्यमा घनिभूत रुपमा पहाड गुरु प्रसाद मैनालीको लेखनीमा भेटिन्छ । उहाँको र तपाईको पहाडमा के फरक ? पहाड त एकै हो ।
लेखनको मूल परिवेश पहाड भएता पनि त्यसका विविधताहरु छन् । उहाँले र मैले लेखेको पहाडमा भिन्नता भेट्न सकिन्छ । एउटै पहाडमा पनि त भोगाई र अनुभवहरु फरक हुन् सक्छन् ।
लेखनीको कुरा गरिरहँदा पात्रहरुमाथि लेखक हावी भएको देखिन्छ । पिपिरीमा बाल्यकाल लेखेको छु भन्नुहुन्छ, बालक म पात्रलाई लेखक म पात्रले कत्तीको पिट्यो या गाली गर्यो ?
हाहा, अग्गिलो उपन्यास मुदिर लेख्दाखेरी चाहि लेखक अलि बढी हावी थियो । म मा अलि ज्यादा आक्रोश पनि थियो त्यो ताका । पिपिरी लेख्दा मैले यसमा निकै ध्यान दिएको छु । सकेसम्म बालकको बोलाई, लवाइ, खुवाई, हिडाई नै लेखेको छु । सकभर लेखक भए भन्दैमा बालक म पात्र ‘देवेन्द्र‘लाई दुर्व्यवहार नै त गरेको छैन ।
देवेन्द्र कस्तो बालक हो ?
हरेक समाजका आआफ्ना विविधताहरु छन् । र मानिसका चरित्रहरु पनि त्यसै अनुरुप विकसित हुँदै जान्छन । यद्दपी समाजले मान्दै आएको आदर्श बाल मनोविज्ञानको परिधीको घेरा भन्दा बाहिरै छ देवेन्द्र । सामान्यतया हामीले अपेक्षा गर्ने बालसुलभ गुणहरु भन्दा अलग गुण उसमा भेट्न सकिन्छ । हामीले अदभुत पुर्ण क्षमता भएका बालबालिकाहरु बारे सुन्दै /देख्दै आएका छौ । मैले उपन्यासमा देवेन्द्रको केहि एकदम नितान्त फरक र अपत्यारिला गुण, व्यवहारहरु देखाएको छु । त्यसैले पनि अहिलेको समाजको लागि देवेन्द्र एउटा प्रयोगवादी मानसिकता भएको बालक हो ।
भनेपछि तपाई एक कुशल कथा वाचक ?
हो, म सपाट कथा भन्ने मान्छे हो । कथामा मैले कतै पनि ‘ट्वीस्टस्विस्ट’ राखेको छैन । मलाई पात्रलाई गज्यांगगुजुंग बनाएर पाठकलाई भ्रममा पार्न मन लाग्दैन । मलाई यस्तै कथा विकास शैली मनपर्छ ।
भूमिका को द्वारा लेखाउनु भयो ? किन ?
भूमिका छैन ।
कति पृष्ठको हो पिपिरी ?
३५५ पेजको छ ।
आवरण चित्र कसले गरेका हुन् ?
सुयोग्य काफ्ले ज्युँ ले गर्नुभयो ।
एउटा कथन छ, ‘प्राय: लेखक आफ्नो दोस्रो पुस्तकमा आएर आत्महत्या गर्छन् ।’ यो सत्यता हो कि आरोप ?
उम्, नेपालमा लेखकको दोस्रो कृति जहिले पनि सकसको विषय बनि’राछ । पहिलो राम्रो लेख्ने, दोस्रोमा अलिकति खस्किने । यसो हुनुमा पहिलो पुस्तक राम्रो भयो भने पाठकको ‘एक्सपेक्टेसन हाइ’ भैदिन्छ। दोस्रोमा त्यो ‘मिट’ गर्न नसक्दा त्यो दुर्घटना हुने हो ।
भनेपछि दोस्रो पुस्तकले तपाईलाई पनि दुर्घटनामा पार्छ ?
कथाकै हिसाबले भन्नु पर्दा मुदिरको भन्दा पिपिरिको कथा मलाई एकदम मनपरेको छ । पिपिरी एउटा बालकको गाउँले जीवनको नोस्टाल्जिया हो । हामि सबै नै बाल्यकाल हुँदै यहाँसम्म आउने हो । पिपिरिले हामी सबैलाई बाल्यकाल तीर फर्काउँछ भन्ने मलाई लाग्छ । कथाको हिसाबले, भाषाको हिसाबले, मेरो शैली दोस्रो पुस्तकमा आइसक्दा धेरै परिवर्तन भैइसकेको छ झैं लाग्छ । यसकारण पनि त्यति धेरै चाहि सकस अथवा दुर्घटित हुन्छु भन्ने लाग्दैन । मैले कोसिस गरेको छु ।
पिपिरी बगाउनु पर्यो कि बग्यो ?
यो त आफै बग्यो । यसमा मैले बगाउनुपर्ने कुरा केहि पनि भएन । म पनि भएको, मैले पनि देखेको कथा हुनाले मलाई त्यति धेरै अप्ठ्यारो भएन । लेख्दै जाँदा बग्दै गयो ।
र, मुदिर ?
होइन । मुदिर पनि बगेको हो । दुवैमा कही न कही म आफू भएका हुनाले मलाई सजिलो भयो । धेरै कथाहरु त आख्यानाकृत नै हुन्छन, गरेको छु । म ३ वर्ष कतार बसेर फर्केको मान्छे हो । त्यहाँको हावापानी, त्यहाँको परिवेश, सांस्कृतिक समाज बुझेकाले लेख्न सजिलो भयो । अब पिपिरिमा पनि बाग्लुंग बलेवा जहाँ म जन्मिए, हुर्किए । त्यहाँको परिवेश, त्यहाँको भाषा, आञ्चलिकता लेख्नको लागि सजिलो भयो ।
तर मुदिर चाहि मेरो बाध्यता हो ।
बेन्यामिनले खबुज लेखिसकेका थिए त । मुदिर आवश्यक थियो र ?
नेपालमा बेन्यामिनको खबुज अनुवाद भएर आउनुभन्दा अगाडी नै खबुजको सयौं संस्करण आइसकेको थियो । मेरो मुदिर प्राविधिक कारणले ढिलो भएको हो । जबकी मैले उतै कतार बस्दाखेरी नै मुदिर लेखिसकेको थिएँ । यहाँ आएर पनि २ वर्ष लाग्यो निस्कन । मुदिरमा नेपाली पात्र छ त ! बेन्यामिनको खबुज र मेरो मुदिर बिल्कुल फरक छ । उनीहरु फरक तरिकाले, फरक कामका लागि कतार जान्छन्, ‘गल्फ कन्ट्री’ जान्छन्, हामी फरक तरिकाले जान्छौं ।
मुदिर कति प्रति बिक्री भयो ?
४००० प्लस गयो होला । दुई चोटी प्रिन्ट आयो, दोस्रो संस्करण आयो ।
अधिकांश पुस्तकहरु कुनै पनि पुरस्कार या सम्मान पश्चात मात्रै चर्चामा आउँछ । र पाठकले पढ्छन् । एउटा पुस्तक प्रकाशनमा आइसकेपछि पुरस्कारको भूमिका कत्तिको हुन्छ ?
नेपालमा त्यो परिपाटी छ । केहि पुरस्कार पायो भने पढ्ने अथवा आलोचना गर्ने वा समिक्षा गर्ने । मलाइ यो कुरामा विश्वास लाग्दैन । समय पनि आउनुपर्छ झैँ लाग्छ । जस्तै उलार आजभन्दा २० वर्ष अघि निस्क्कियो । त्यतिखेर खासै पढिएको पुस्तक होइन – उलार । दुई दशकको समय अन्तरपछी अहिले उलार खोजिखोजी पढिन्छ । जब कि उलाराले कुनै पुरस्कार पाएको छ जस्तो मलाई लाग्दैन ।
पुरस्कारको सन्दर्भमा के हो भने एउटा लेखकलाई लेख्दै जाने क्रममा निस्पक्ष तरिकाले निर्णय गरेर यो पुस्तक यो पुरस्कार पाउन लायक छ भनेर दिइयो भने लेखकलाई एउटा पुरस्कार भनेको लेखन यात्राको उकाली ओराली गर्दैगर्दा बिसाउने ठाउँ, चौतारी हो । त्यसरी आयो भने ठिक छ । म पुरस्कारको लागि लेख्दिन । कहीबाट निस्पक्ष रुपमा यसलाई दिइयो भने त्यो पनि ठिकै छ ।
समकाललाई नियाल्दा उपन्यास मोह पाठकमा ज्यादा देखिन्छ, लेखकमा त छँदै छ । पाठक उपन्यासमा बढी रमाईरहेको पाउछौं । पाठकको यै मानसिकता बुझेर दोस्रो उपन्यास लेख्नु भएको हो ?
लेखनमा जहिले पनि आ-आफ्नै बिट हुन्छ । लेखन भनेको एउटा मात्रै विधामा हुनुपर्छ जस्तो पनि लाग्दैन । मेरो कुरा गर्दा मैले पहिलो कृति नै मुदिर लेखेको हो । उपन्यास लेखेको हो । म कविता पनि लेख्ने मान्छे हो, गजल पनि लेख्ने मान्छे हो । तर मलाई के लाग्छ भने उपन्यास लेख्दाखेरि मैले न्याय गर्न सक्छु । यसैकारण मैले उपन्यास छानेको हो । अर्को कुरा बजारलाई हेर्दा पनि उपन्यास हो भने प्रकाशक गृहले सजिलै छाप्छ । उपन्यास हो भने बिक्छ पनि ।
‘प्रकाशक गृहले सजिलै छाप्छ । उपन्यास हो भने बिक्छ पनि‘, यसैकारण दोस्रो पनि उपन्यास नै लेख्नुभएको ?
होइन । बिक्छ र छाप्छ भन्नको लागि मैले लेखेको होईन । स्कुल पढ्दा ताका नै उपन्यास लेख्ने मोह थियो । त्यतिबेला लेखिएका दुईचार वटा पाण्डुलिपी थिए, छन् अहिले पनि । आफूलाई अभिव्यक्त गर्नको लागि र पहिले देखि नै उपन्यास लेख्ने मोह राखेका हुनाले उपन्यासमा आएको हो ।
संसारमा नेपाली भाषिक कम छन् । नेपालमै पनि नेपाली पढ्ने पाठक अझै कम छन् । अझ त्यसमा पनि बौद्दिक पाठक त झनै कम छन् । बजार अनुसार पढ्छन । चलेका नै पढ्छन । मुदिर अनुवाद किन गर्नुभएन ? लायक थिएन र ?
अनुवाद हुनुपर्छ भन्ने लाग्छ । हाम्रा लेखकहरु अंग्रेजीमा लेख्न सक्दैनन् । त्यसो हुनाले अरुबाट अनुवाद गराउनुपर्छ । अनुवाद भएर नेपाल बाहिर जानु, नेपालका कथा बाहिर पुग्नु राम्रो हो । पछिल्लो समय केहि त्यस्तो प्रयोग भैरहेको पनि छ । मुदिर अरबी भाषामा र हिन्दी भाषमा अनुवाद गर्ने कुरा भएको थियो । केहि कुराहरुले गर्दा रोकियो । त्यस कुरामा म अझै पनि ‘पोजेटिभ’ नै छु ।
अनि पिपिरी ? पिपिरी गर्ने कि नगर्ने ?
पिपिरीको पनि अनुवाद हुन्छ भन्ने मलाई लाग्छ । हुनु पनि पर्छ किनकि मेरो गाउँको कथा अर्को देशको मान्छेले पढ्दा खेरि मेरो समाज बुझ्न पाउँछ । महसुस गर्न सक्छ । उसले नेपाललाई केहि अर्कै मानिरहेको हुन्छ, तर हाम्रो कथा त्यहाँ पुग्दा उसले हाम्रो वास्तविकतालाई विश्वास नगर्न पनि सक्छ । अनुवाद हुनुपर्छ भन्ने लाग्छ, हेरौ सबै कुरा मिल्यो भने अनुवाद गर्ने हो ।
पाठकहरु लेखकभन्दा सक्षम छन् । पाठकको बौद्दिकतासँग तपाइको गुनासो पिपिरीलाई लिएर ?
मलाइ त एकदम खुसि छ । त्यस्तो गुनासो केहि पनि छैन । किताबका कभर, संगीतहरु बजार यदि त्यसरी आएको छ भने लुक्न सक्दैन । लेखक भन्दा पाठक कयौ गुणा अब्बल छन । यसमा म खुसि छु ।
डर त छैन नि ?
छैन । मलाइ किन पनि डर छैन भने मैले जे लेखेको छु, आफुले भोगेको, आफुले देखेको लेखेको छु । तर कहिलेकाही के हुनसक्छ भने हो त्यस्तै कथा अरुका पनि हुनसक्छन् । बाल्यकाल लेख्ने सन्दर्भमा बाल्यकालको चंचलता सबैको एकै प्रकारको हुन्छ । त्यै गाउको ‘पेरोफेरी’मा मेरो जस्तो बाल्यकाल अरुको पनि हुन सक्छ । ति फरक कुरा हुन् । कथामा दुर्घनामा परुला, ‘ प्रिजेन्टेसन’मा चिप्लिन सकूला । तर कथाको हिसाबले म डराउनु पर्ने छैन । एकदम ढुक्क छु यसमा ।
साहित्य प्रति रहर कि मोह ?
विद्यार्थी जीवन देखि नै कविता राम्रो पाठ गर्थे । लयबद्द तरिकाले पढ्थे, वाचन गर्थे । त्यै बेलामा नै ४ लाइने कविता जस्तो लेखेको रहेछु । यो कुरा पिपिरीमा पनि आउँछ, खाजा खान पैसा हुँदैन थियो । विभिन्न साहित्यिक पत्रिकाहरु आउथे । ती पत्रिकाहरुबाट केहि लाइनहरु चोरेर, अझै मिठास थपेर पत्र लेखिदिन्थे । ती पत्रहरु साथीहरुलाई बेचेर तरकारी दुनोट पनि खाइयो ।
मलाई लेख्छु, यहाँ सम्मु पुग्छु भन्ने त कहिल्यै पनि लागेको थिएन् । यदि म कतार गएको थिईन भने म लेखक हुदिन थिए । राम्रो स्यालरी, राम्रो कम्पनि, सजिलो काम या त्यहाँ दु:ख नपाएको भए म त्यहिँ भुलिरहन्थे । तर मैले दुःख पाए । त्यसपछि कतारको बारेमा केही लेख्नुपर्छ भन्ने लागेर मुदिर लेखे । लेखे पनि । लेख्न सक्ने खुबी रहेछ झैँ लाग्छ । यसो भनु पहिले रहर थियो अहिले मोह । तर मुदिर चाहि मेरो बाध्यता हो ।
दोश्रो पुस्तकमा आइपुग्नुभयो । कुनै पनि त्यस्तो रमाइलो घटना साट्न चाहनुहुन्छ यहाँसम्मको यात्राको ?
मेरो आमा चाहि हात हेराउन गै’रहनुहुन्थ्यो । पिपिरीमा यो कुरा पनि छ । कोहि ठाउमा चामल हेर्थे, कोहि ठाउँमा हात हेर्थे । हेराउने मान्छे फलानो ठाउँमा छ रे भनेपछि आमा त्यहाँ पुगिहाल्नु हुन्थ्यो । ‘मेरो भविष्य के छ, छोराको भविष्य कस्तो छ ?’ त्यतिबेला आमालाई ज्योतिषहरुले के भनिदिन्थे रे भने, ‘तपाइको छोराले लेखेर खान्छ । कलम घुमाएर खान्छ भन्थे अरे ।’ पढाइ पनि म लद्दु नै हो । मध्यम थिए । जागिर खाने लक्षण पनि थिएन । कसरि चाहि लेखेर खान्छु होला भन्ने लागिरहन्थ्यो। यो कुरा मैले आमालाई त भनिन । ज्योतिषले अरु कुरा गलत गरे पनि एउटा कुरा सहि भनेका थिए झैँ लाग्छ । अहिले म लेखेरै खाने प्रयास गरिरहेछु ।
लेखनीको ह्यांगबाट उत्रिन कतिको गाह्रो छ ? निस्कनु भयो कि निस्कनु भएको छैन अहिलेसम्म ? पुस्तक प्रकाशित भै‘सक्यो त्यो बालक नै हुनुहुन्छ अहिले पनि ?
काल्पनिक कथा थियो भने एक दुई दिनमा उत्रीन सक्थे होला । आधा भन्दा बढी कथामा म आफू भएको हुनाले मलाई यो ह्यांगओभरबाट उत्रन समय लाग्छ ।
अब पठन संस्कृतिको कुरा गरु । एउटा लेखकलाई पढ्दै आएकाहरु सोहि लेखकमै अड्किन्छन् । सोहि लेखेकको अर्को किताब पर्खेर बसिरहेको थुप्रै पाठकहरु भेट्छौं । एउटा लेखकलाई मात्रै पढीरहनु या सो लेखकको अर्को किताब पर्खेर बस्ने प्रवृतिबारे तपाईलाई केहि भन्नु छ ?
साँचो बोल्नुपर्दा नेपालमा ‘रिडिंग कल्चर’ छैन । पढ्नको लागि एउटा लेखकलाई त पढें – यो एउटा कुरा भयो । तर त्यहाँबाट बाहिर निस्कन सके भने ती पाठकले फड्को मार्छन । सफलता प्राप्त गरेको मान्न सकिन्छ । तर एउटा ‘जनरा’मा अड्किरहनु असफलता हो पाठकहरुको । त्यो त एउटा लेखकप्रति पूर्वाग्रही भएर मात्रै पढिएको हो । हामी त्यसबाट बाहिर आउन जरुरि छ । एउटा लेखकलाई जिन्दगिभर च्यापेर बसिरहनु पाठकको सबैभन्दा ठुलो असफलता हो ।
दोस्रो पुस्तकसम्म आइपुग्दा समग्रमा के सिक्नुभयो ?
लेखक आफ्ना किताब जति निकाल्दै जान्छ । चिप्लीदै जान्छ । यो नहुने पर्ने हो । मुदिरमा मैले जुन भाषा प्रयोग गरेको थिए, यसमा फरक छ । मुदिर पछी मैले धेरै अनुभव बटुले । धेरै लेखकहरुलाई पढे । पिपिरीमा भाषा शैली देखि अनेक पक्षमा एकदम ‘अप’ गरेको छु । आफ्नै भाषा शैली निर्माण गर्ने जमर्को पनि छ यसमा मेरो । एउटा लेखकले कसरि लेख्नु पर्छ भन्ने कुरा पनि थाहा पाए ।
बुक लन्च हुनु अगाडी किताब फरक छ, फरक छ भनिन्छ। मेरो एकजना अंकल हुनुहुन्थ्यो, हुनुहुन्छ । उहाँ भन्नुहुन्थ्यो की, ‘तरकारी भनेको ब्यानबेल्कै एउटै खानु हुन्न् । बिहान आलुप्याज खाको छ भने साझ प्याजआलु खानुपर्छ ।‘ कतै मुदिर आलुप्याज र पिपिरी प्याजआलु त होइन नि ?
यो सन्दर्भमा प्याजआलु र आलुप्याज छैन भन्ने मलाई लाग्छ । किनकि मेरो नितान्त विषय फरक हो । मुदिरको इसु’ जल्दोबल्दो ‘इसु’ हो । सरकाले उठाउनुपर्ने कोइसन, मैले रेइज गरेको हो । खाडीको अनुभव भएको हुनाले सरकाको काम केहि हद सम्म मैले गरे । यता आउँदा खेरि एउटा बालकको बाल्यकाल छ । आलुप्याज मुदिर हो भने पिपिरी ‘करेला र आलु’ छ ।
इतिहास र विगतलाई नयाँ स्वरूप दिनु प्रगतिशील लेखन हो भन्छन् मुलधारका लेखकहरु । तपाई पिपिरी लेखिरहँदा यस बारे कत्तिको सचेत रहनुभयो ?
आजभोली त प्रगतिशील संस्थाहरु नै खुलेका छन् । तर एउटा जिम्मेवार लेखकले कहिल्यैपनि समाज विध्वंस या हिँसा उन्मुख होस् भन्ने चाहदैन । सामान्यतया लेखनको मामलामा प्रगीतिशीलता अपनाइन्छ । लेखकहरु समाजको हित नै चाहन्छन् । समाजलाई प्रगतिउन्मुख बनाउन शुरुमा त समाजको यथास्थिति नै चित्रण गर्न जरुरि छ । जहाँसम्म सचेतताको कुरा छ, मेरो उपन्यास मुदिर प्रगतिशील उपन्यास नै हो ।
भन्न मन लागिरहेको, नभनु जस्तो पनि लाग्ने तर भन्नैपर्ने, त्यस्तो केहि छ ?
हाउ लाखे ! त्यस्तो त केहि छैन । तर पनि…..किताबकै सन्दर्भमा भन्ने हो भने, देवेन्द्रको एउटा अपत्यारिलो स्वभाव देख्न सकिन्छ । उसमा त्यति सानै उमेरमा पनि यौन उत्तेजना हुने गर्छ । पाठकले यो कुरालाई अविश्वास पनि गर्न सक्लान । तर नढाटी भन्नुपर्दा त्यो गुण म मा पनि कही न कहि थियो । त्यति कथा चाहि मेरो हो ।
प्रसंग आइहाल्यो, साहित्यमा यौन अपरिहार्य विषय हो र ?
यौनलाई मात्रै ‘फोकस’ भएर लेखिएका कथाहरु हस्तमैथुन गर्नु अगाडिको पिरियड जस्तो लाग्छ । स्खलन भएपछी सकियो त्यो । भोलि इतिहासमा कहा उद्दरण हुन्छन् ती कृति ? इतिहासले समिक्षा गर्दैन ती कृति माथि । इतिहासमा यदि कसैले गएर वैदेशिक रोजग्गार माथि लेखिएको किताब भनेर खोज्यो भने मेरो मुदिर आउन सक्छ । प्रेमको बारे लेखिएको कहाँ छ भनेर त इतिहासले खोज्दैन नि। किनकि हरेक मान्छेसँग प्रेम हुन्छ । हरेक मान्छेले प्रेम गर्छ ।
तपाइँ प्रेम नलेख्ने ?
होइन, म पनि लेख्छु । मीनराज बसन्त भनेको इसु मात्रै उठाएर हिड्ने मान्छे होइन । हुनसक्छ मेरो आगामी कृति चाहि प्रेमको बारे आउन सक्छ । नित्तान्त फरक चाही आउँछ । या सामजिक पनि आउँन सक्ला । अथवा प्रेमिल पनि आउन सक्ला । अलग विषय ल्याउने कोसिस मेरो रहनेछ ।
पाठकलाई केहि भन्नु छ ?
समग्रमा भन्नुपर्दा चाहि पाठकले पढिदिउन, स्वस्थ आलोचना र सन्तुलित प्रशंशा गरिदिउन भन्ने अपेक्षा गर्छु ।
केहि छुट्यो कि ?
समिक्षा होस्, समालोचना होस् । अतिरन्जना नहोस् । यत्त्ति त हो ।
अन्त्यमा, मलाई कुनै प्रश्न ?
हेहे, त्यस्तो केहि छैन । आफुलाई लागे जत्ति कुरा त मैले भनिहाले । किताब पढ्नुहोला नी ।
0 comments