ताजमहल: प्रेमको प्रतीक होइन

By Meenraj Basanta - 5:14 AM




मीनराज बसन्त । भारत बसाइँको लामो समयसम्म पनि मलाई आगरा पुगेर ताजमहल अवलोकन गर्ने शुभसाइत जुरेको थिएन । अझ भन्नुपर्दा ताजमहल हेर्नैपर्ने कुनै अनाम तत्वले लखेटिरहेको पनि थिएन । तर भारत बसाइँको दश वर्षपश्चात् गतवर्ष जब म पचपन्न दिनको भारत यात्रामा निस्किएँ, एकपटक ताजमहल पुगेर यसबारे केही नयाँकुरा जान्ने उत्सुकतालाई दबाइरहन भने सकिनँ ।

चैत्रमासको उखरमाउलो गर्मी । माथिल्लो शरीरमा सुतीको एकसरो टिसर्ट लगाएको छु । त्यहीपनि पसिनाले भिजाएको छ निथ्रुक्क । निधारको खेतबाट पसिनाको समाहा चलिरहेकै छ । शरीरका विभिन्न कुना कन्दरामा पसिना हाम्फाल्दै हिँडिरहेको अलग्गै थाहा पाउँछ मष्तिष्कले । कताकता आफ्नै पसिनाको नमीठो हरक आफैँलाई बिझाउँछ । आँफैलाई गन्हाउँछ ।

कतै पुराना पहेँला पात झर्दै गरेका वृक्षहरु छन् । कतै नवपल्लव पलाउँदै गरेका उजाड लाग्ने डालीहरु । यहीबेला ऋृतुराज वसन्तसँगको चरम संभोगमा अर्धनग्न अवस्थामै निमग्न छ, प्रकृति । 

आकाश कत्तिपनि अशान्त छैन । गहिरो घाउजस्तो यसको अनन्तसम्म गाढा र नीलो रङ फैलिएको छ । सेतो बादलका चकले केही ‘अब्स्ट्र्याक आर्ट’ गरेको भान हुन्छ आकाशे क्यानभासमा । ती ‘आर्ट’हरुले क्रमशः आफ्नो स्वरुप फेरिरहन्छन् । बिग्रन्छन् भत्कन्छन् । अझ ती मान्छेको कल्पनानुसार विभिन्न आकृतिमा परिणत हुँदै पनि जान्छन् । 

म ठिक ताजमहलको अगाडि उभिएँ । 

विदेशीहरुलाई एकहजार तिरेर मात्रै प्रवेश गर्न पाइने ताजमहलमा, मेरो भारतीय साथीको सहयोगमा चालीस रुपैयाँको टिकट हातमा आइपुग्यो । साथीको सहयोग यसकारण पनि लिएको थिएँ, ताकी ताजमहलका बारेमा धेरैभन्दा धेरै जानकारी उसबाट हासिल गर्न सकुँ । लम्बेतान लाइनमा उभिएर कडा चेकजाँच भएपश्चात् हामी ताजमहलको मूलद्वारबाट प्रवेश पायौँ । 

ताजमहल एकफन्को घुमिसकेपछि यसको भव्यतामा कुनै शंका रहेन । कलात्मक एवम् आकर्षक मुख्यद्वारदेखि लिएर बगैंचा, फब्बारा, बाहिरभित्र जता हेरेपनि कला सौन्दर्य र परिश्रमको उच्चता देखिन्थ्यो । चाहे मुमताज र शाहजहाँका कब्र होउन्, चाहे अनमोल पत्थरमा कुँदिएको शिल्पशास्त्र । मन लोभ्याउन यी सबै एक से एक थिए । 

प्रिय मित्रले जब ताजमहलका बारेमा केहि ऐतिहासिक रोचक कुराहरु सुनाए, त्यसपछि म झन् जिज्ञासु बनेँ । उनले केहि उमेर पाकेका आफ्ना आफन्तसँग पनि मलाई परिचय गराए । जसले गर्दा ताजमहल, मुमताज र शाहजहाँलाई बुझ्न सहज भयो । यसबाहेक ताजमहलसँग सम्बन्धित एकाध किताब पनि किनेँ । त्यसो त ताजमहलबारे फरकफरक अनुमान र भनाइहरु छन् । अड्कलबाजी छन् । लिखितम् पनि व्यक्तिपिच्छे समान छैन । यद्यपि यो आलेख यात्राका क्रममा सोधपुछ, ताजमहलसम्बन्धी किताब अध्ययन र विभिन्न खोजकर्ताका अनुसन्धानात्मक लेख पढेपछि प्राप्त भएका जानकारीको आधारमा ताजमहलको इतिहास र यससँग जोडिएका तर धेरैलाई ज्ञात नभएका केहीकुरा बताउने कोसिसमै केन्द्रित रहनेछ ।  

आगरा 

भनिँदो रहेछ कि, आगरा सबैभन्दा पुरानो शहर मात्रै नभएर ऐतिहासिक शहर पनि हो । नयाँ इतिहासकार काले र टोलेगीले समेत आगरा एक पुरानो शहर रहेको कुरालाई ‘ताजमहलः इन्क्रेडिबल सिम्बोल अफ ब्युटी’ पुस्तकमा उद्धृत गरेको पाइन्छ । अनुसन्धानका क्रममा यी दुई इतिहासकारले आगरा र त्यसवरपर दुईहजारको संख्यामा सिक्का प्राप्त गरेका थिए, जुन सिक्काहरु मेवाड गाहालन्त राजपूतका थिए । स्मरण रहोस्, सन ७५० मा गाहालन्त राजपूत आगरामा शासन गर्दथे । यस्तै प्रसिद्ध भूगोलकार टोलेनीको भनाइ अनुसार, आगरा हिन्दु राजा आगरमेष र आगरमेषवर नाम गरेका राजाको राजधानी थियो । यिनैको नामबाट शहरलाई ‘आगरा’ नामाकरण गरिएको थियो । तर यस शहरको इतिहासलाई लिएर इतिहासकारपिच्छे फरकफरक धारणाहरु रहँदै आएका पाइन्छन् । यो सुन्दर शहर आगरा, राजा अकबरका कारण पनि प्रसिद्ध छ । उहिलेदेखि हामीले विभिन्न नीति कथाका रुपमा सुन्दै र पढ्दै आइरहेका दुईपात्र अकबर र बीरबलको शहर पनि यही आगरा नै हो । यसबाहेक कलकारखाना, मुगल शासकद्वारा बनाइएका सुन्दर उद्यान, पुरानो बजार, छालाका सामान लगायत विभिन्न चीजबीजका लागि प्रसिद्ध शहर हो, आगरा । एकछिन यी सबैकुरालाई बिर्सि्दिने हो भनेपनि, आगरा सम्झिरहन एउटै चीज काफी छ । र त्यो हो, ताजमहल । आगरा अर्थात् ताजमहलको शहर ।  

ताजमहल 

यमुना नदीको बायाँ तटमा निर्मित ताजमहल दुनियाको सातौँ आश्चर्य अन्तर्गतको एक आश्चर्य त होनै, सँगसँगै दैनिक दशदेखि बाह्र हजारको संख्यामा पर्यटक आउने गन्तव्य पनि हो । सन् १९८३ मा विश्व धरोहरको सूचीमा समेत सूचिकृत यो महल मुगल वास्तुकलाको उत्कृष्ट नमुना मानिन्छ । सेतो संगमरमरको जलपले सुशोभित यो अद्भुत र दिव्य ‘ताज–भवन’ प्रेमको प्रतिकार्थ भनेर विख्यात छ । 

ताजमहल भन्दा बित्तिकै सामान्यतया हाम्रो दिमागमा दुईवटा कुरा एकसाथ आइपुग्छन् । पहिलो, ताजमहल भनेको पवित्र प्रेमको प्रतिक । र दोस्रोमा, ताजमहलको प्रष्ट र उज्यालो चित्र । जस्तो, संगमरमरले सजिएको दिव्य श्वेत महल । महलको शिरमा मस्जिद शैलीको एक ठूलो र दुई समान आकारका साना गुम्बद । प्रत्येक गुम्बदको टुप्पोमा गजुरजस्तै केहि ठठिइरहेको । महल वरपर चार दिशामा चारैवटा मिनार (खम्बा) । 

आजको दिनसम्म पनि ताजमहललाई मुगल शासनको पाँचौ सम्राट शाहजहाँले आफ्नी प्रेमीका (पत्नी) मुमताजको सम्झनामा बनाएको थियो भनेरै नै बुझिन्छ । र यो बुझाइ विश्वभर एकनास छ । संसारमा पवित्र प्रेम, प्रेमप्रतिको त्याग र सच्चा समर्पणलाई हृदयतः स्मरण गर्दा उदाहरणका रुपमा ताजमहल अग्रस्थानमा नै आउँछ । तर भारतका धेरैजसो इतिहासकारहरुले सुरुदेखी नै ताजमहललाई प्रेमको प्रतिकका रुपमा भने नकार्दै आइरहेका छन् ।

जसको प्रेमका खातिर शाहजहाँले ताजमहल बनायो वा जसलाई हामी ‘मुमताज’ भनेर चिन्छौँ, उनको असली नाम न त मुमताज नै थियो । न शाहजहाँले उनको प्रेममा पग्लिएर नै ताजमहलको निर्माण गरेको थियो । र अर्को महत्वपूर्ण कुरा के भने शाहजहाँ कुनै असल प्रेमी पनि थिएन । 

शाहजहाँकी ‘मुमताज’ बन्नुपूर्व उनको असली नाम थियो, अर्जुमन्द बानो बेगम । यिनी मिर्जा गियास बेगकी पलाँतिनी थिइन् । अर्जुमन्द कुनै कुमारी केटी नभएर एक बिबाहिता पत्नी हुन् भन्ने जानकारीको साक्षी भारतीय मुगल इतिहास छँदैछ । त्यसमाथि विभिन्न आलेख वा वृत्तचित्रले पनि यसलाई प्रमाणित गर्दछन् । यतिमात्रै होइन, इतिहाससँग पूर्ण जानकार रहेका एकाध ताजमहल घुमाइदिने गाइड र ताजमहल वरपर चिया बेचेर बस्ने बुढापाकाहरुले पनि यो सत्यतालाई स्वीकार गरेको मैले यात्राको क्रममा थाहा पाएँ । तर ‘ताजमहलः इन्क्रेडिबल सिम्बोल अफ ब्युटी’मा यी कुरा उल्लेख भएका छैनन् । अझै भनौँ, इतिहासमा शाहजहाँले गरेका कुनैपनि गद्दारीलाई परिचयात्मक पुस्तकमा राखिएको छैन । जसको आशय, ताजमहल घुम्न आउने जोकोही पर्यकटलाई यसको नकारात्मक सन्देश नजाओस् भन्ने देखिन्छ ।

 अर्जुमन्दका पति शेर अफगान खान शाहजहाँकै सेनामा सुबेदार पदमा कार्यरत थिए । उनीहरुको एउटा छोरा पनि थियो । तर यौन आशक्तिमा लम्पट शाहजहाँले अर्जुमन्दका पति शेर अफगानलाई शंकास्पद तरिकाले हत्या गर्न लगायो । पतिको विक्षिप्ततामा रहेकी यिनै अर्जुमन्दलाई शाहजहाँले जबर्जस्ती ‘आफ्नी’ बनाउन सफल भयो । यसरी बिबाह गरेपछि उसको जूठो अर्थात् शेर अफगानकी पत्नी अर्जुमन्दको नामबाट बोलाउन नचाहेर आँफैले अर्जुमन्दको नाम परिवर्तन गरि ‘मुमताज’ राखिदिएको यो सत्यता धेरै कमलाई मात्रै थाहा होला । ‘शाहजहाँ’ यो नाम पनि आँफैमा असली नाम होइन । शाहजहाँको सट्टा ‘राजकुमार खुर्रम’ उसको असली नाम थियो । 

आठ हजारभन्दा बढी रखैल राखेर यौनानन्द बटुल्ने शाहजहाँको पहिलो पत्नी पनि होइनन्, मुमताज । तेस्रो पत्नीलाई बिबाह गरेपछि चौँथो पत्नीका रुपमा मुमताजलाई जाल हानेको थियो । शाहजहाँका कुल सातवटी पत्नी हुन् । जसको पहिलो पत्नी इशरत बानो बेगम मानिन्छिन् । तर मुमताजपछि पनि उसले थप तीन बिबाह गर्यो । अब यहाँनेर स्वाभाविक प्रश्न उठ्छ, यदि शाहजहाँ मुमताजलाई साँच्चिकै प्रेम गथ्र्यो भने थप तीन बिबाह किन र केका लागि गर्यो ? यसको ठ्याक्कै ठोस उत्तर त नपाइएला । तर यौनको प्यास मेट्नकै लागि शाहजहाँले यो सब गरेको थियो भनेर अनुमान गर्न हामीलाई खासै गाह्रो चाहिँ पर्दैन ।

जीवनका सच्चाइ र प्रेम कहानी बिल्कुलै भिन्न छन् । हामीले ताजमहललाई प्रेमको निशानी वा मिसाइल जेसुकै भनेपनि यसभित्रको ‘रहस्य’ रहस्यमय नै छ । बाहिरबाट सेतो संगमरमरमा जति दिव्य, जति सुन्दर र खुलेको देखिन्छ ताजमहल, यसको अन्तर्य चाहिँ ठिक विपरीत छ । 

दक्षिण भारतमा विद्रोह चलिरहेका बेला, त्यही विद्रोह रोक्न शाहजहाँलाई मध्यप्रदेशको बुरहानपुर भन्ने क्षेत्रमा जानू थियो । यता मुमताज चौधौं सन्तानलाई गर्भमा हुर्काइरहेकी थिइन् । यद्यपि शाहजहाँले मुमताजलाई आगरादेखि दौलपुरसम्म लिएर पुग्यो । जहाँ कडा रुपमा सैन्य अभ्यास चलिरहेको थियो । आगरादेखि बुरहानपुरसम्मको लामो यात्रा तय गरेकी मुमताज अत्यन्तै थकित बनिन् । उनको गर्भमा असर पर्न गएछ । करीब तीस घण्टासम्म प्रसव वेदना खेपेर उनले छोरीलाई जन्म दिइन् । सोही समयमा डेक्कन विद्रोहीलाई सिध्याउने रणनीतिमा शाहजहाँ ब्यस्त थियो । यता मुमताजलाई छोरी भएको खबर शाहजहाँसम्म पुर्याइयो पनि । तर ऊ नियतवश गएन । पछि जब शाहजहाँ मुमताजलाई भेट्न पुग्यो उनी निकै कमजोर बनिसकेकी थिइन् । रक्तस्राव थामिएको थिएन । शाहजहाँले उनको शिर काखमा राख्दै अधैर्य बन्यो । विलौना गरेजस्तो गर्यो । र त्यहीँ दुई प्रण गरेको थियो । प्रणमध्यको पहिलो प्रण उनकै नाममा ताजमहल बनाउने थियो भने दोस्रो प्रण आजीवन बिबाह नगर्ने थियो । त्यसकै बिहान अर्थात् ७ जून १६३१ मा अठतीस वर्षीय मुमताजको मृत्यु भयो । यद्यपि उनको यो मरण सहज रुपमा हुन सकेन । 

ताजमहल निर्माण 

ताजमहल बनाउन जुन स्थान रोजियो त्यहाँ जयपुरका राजा जयसिंहको शानदार महल थियो । त्यस ठाउँमा ताजमहल निर्माण गर्न शाहजहाँले राजा जयसिंहलाई अन्यत्रै जग्गा उपलब्ध गराएको थियो । बुरहानपुरमा असामयिक मृत्युलाई पाएकी मुमताजको मृत शरीर १९ डिसेम्बर १६३१ मा आगरा पुग्यो । ताजमहल निर्माण प्रतिक्रियामै रहेकाले केही समयको लागि यमुना नदीको तटमा उनलाई दफनाइयो । 

जब शाहजहाँले ताजमहल बनाउने घोषणा गर्यो, कालिगडहरुलाई विभिन्न चित्रका साथ आमन्त्रण गरेको थियो । धेरै चित्रहरू शाहजहाँको अगाडि राखिए । अन्ततःशाहजहाँलाई टर्कीका उस्ताद इसा अफादीको (कतैकतै उस्ताद अहमद लाहौरी भनेर उल्लेख छ) चित्र मनपर्यो । त्यसै अनुरुप ताजमहल निर्माणकार्य सुरु भएको थियो ।’ (पेज नं. १३, ताजमहलः इन्क्रेडिबल सिम्बोल अफ ब्युटी) 

चीन, तिब्बत, श्रीलंका लगायतका विभिन्न स्थानबाट झिकाइएका अठ्ठाइस किसिमका बहुमूल्य पत्थरको प्रयोगमा ताजमहल ठाडो शिर गरेर आजको रुपमा उभिएको हो । यसका लागि त्यो समयमा पनि झण्डै तीन करोड खर्च लागेको थियो भनिन्छ । सन् १६३१ डिसेम्बरमा ताजमहल निर्माण कार्य सुरु भएर १६४५ मा सकिएको थियो । तर फ्रान्सीसी यात्री जिम ट्राबेनीयरको भनाइ केहि फरक पाइन्छ । उनले भनेका छन्, ताजमहल निर्माणमा कुल बाईस बर्ष लागे । यस्तै बीसहजार कामदारले आफ्नो श्रम खर्चिए । तर कुरा यतिमै सकिँदैन । शाहजहाँको दरबारका इतिहासकारद्वय अब्दुल हामिद र मोहम्मद सालिह जखमबुका अनुसार सन् १६४३ फेब्रुअरीमा सबै कामले पूर्णता पाएको थियो । मुख्य भवन बन्न बाह्रवर्ष लागेपनि अन्य संरचनाहरु बनिसक्न बाँकी दशवर्ष लाग्यो । 

मजदुरहरुमाथि अत्याचार 

ताजमहलको मकबरामा एउटा छिद्र छ, जो हेर्दाखेरी खासै देखिँदैन । तर वर्षातको समयमा उक्त छिद्रबाट अझैपनि पानी तप्किरहन्छ । यसलाई एउटा अनौठो रहस्यका रुपमा लिइन्छ । यद्यपि यसको वास्तविकता भने अर्कै रहेछ । 

जब ताजमहल निमार्णको काम सुसम्पन्न हुँदै थियो, शाहजहाँले मजदुरहरुका हात काटिदिने घोषणा गर्यो । ऊ चाहान्थ्यो कि, यिनीहरूले यस्तै महल संसारमा अन्यत्र कतै गएर निर्माण नगरुन् । अफसोच ! सम्राटको यो फैसलाले मजदुरहरूलाई दुखित तुल्यायो । यसकै परिमाण स्वरुप उनीहरूले ताजमहलमा एउटा कमी छोडिदिएका थिए । जुन कमी त्यही छिद्र हो भनिँदो रहेछ । 

शाहजहाँको प्रण 

मुमताजको अन्तिम अवस्थामा शाहजहाँले गरेका दुई प्रणमध्य ताजमहल बनाउने प्रणलाई साकार पार्न लागेतापनि आजीवन बिबाह नगर्ने प्रणलाई मुमताजकै यादमा समर्पित गरिरहन भने सकेन । फलस्वरूप मुमताज बितेको केही समयमै उनकै बहिनी फरजानासँग अर्को बिबाह गर्यो । यहाँनेर फेरि अर्को प्रश्न उठ्छ, साँच्चिकै मुमताजसँग उसको प्रेम थियो भने उनको देहावसानको लगत्तै किन गर्यो शाहजहाँले फेरि अर्को बिहे ? 

छोरीसँग सम्बन्ध 

भनिन्छ, मुमताजकी पहिली सुपुत्री जहाँआरा हुबहु आमाकै अनुहारकी थिइन् । यसकारण पनि जहाँआरा बाउकी प्यारी थिइन् । तर मुमताजको यादमा वशीभूत शाहजहाँले आफ्नै छोरीसँग जबर्जस्ती यौन सम्पर्क राख्न थाल्यो । उसले यतिसम्म छोरीसँगको सम्बन्धलाई रुचायो कि, जीवनभर जहाँआराको अरु कसैसँग बिबाह हुन दिएन । खासमा जहाँआरा महलभित्रै अरु कसैलाई प्रेम गर्थिन् । जब आफ्नै पिताले यसबारे थाहा पायो, उनको प्रेमीलाई तन्दुरभित्र बन्द गरेर जिउँदै जलाइदियो । र उनीसँग यौनको सम्बन्ध बनाइरह्यो । 

एकपटक दरबारमा बाउ छोरीको नाजायज सम्बन्धलाई लिएर चियोचर्चो समेत सुरु भयो । यसको विपक्षमा रहेको शाहजहाँले तुरुन्तै मौलवी बैठक बोलाएर आफ्नो नाजायज सम्बन्धलाई सहिसत्य प्रमाणित गर्यो । यसैबारे फ्रान्कोइस् बर्नियर लेख्छन्, ‘शाहजहाँ युज्ड् टु ह्याभ रेगुलर सेक्स विद हिज एल्डर डटर जहाँआरा । टु डिफेन्ड हिमसेल्फ, शाहजहाँ युज्ड् टु से द्याट, इट् वाज द प्रिभिलेज अफ अ प्लान्टर टु टेस्ट द फ्रुट अफ द ट्रि हि ह्याज प्लान्टेड ।’

शाहजहाँ र कालो ताजमहल 

राजा बाबरले (१५२६–१५३०) स्थापना गरेको मुगल साम्राज्यमा राजा अकबर (१५५६–१६०५) बाबरका नाति थिए । यिनै अकबरका नातिका रुपमा (१६२८–१६५८) जन्मेको थियो शाहजहाँ । शाहजहाँका पिता जहाँगिर अत्यन्तै विद्वान थिए । आमाको नाम नूरजहाँ थियो । जहाँगिर स्वयं हिन्दी र अरबी बाहेक तुर्की एवम् परशियन भाषामा पनि उत्तिकै पोख्त थिए ।

 खासमा शाहजहाँले आफ्नो लागि भनेर छुट्टै कालो ताजमहल खडा गर्न चाहन्थ्यो । तर यो यसकारण सम्भव भएन कि, ऊ आफ्नै छोराहरुद्वारा कैद हुन पुग्यो । त्यसो त शाहजहाँले पनि आफ्नो बाउ बन्दी बनाएर र दाईहरुको हत्या गरेर आँफू राजा भएको थियो । उसलाई कैद गर्नेमा मुमताजकै छोराहरू थिए भनिन्छ । छोराहरू यो कुराबाट विमुख थिएनन् कि, आमा मुमताजलाई शाहजहाँले कतै कुनैप्रकारबाट पनि प्रेम गरेको थिएन । बनाएको थियो त केवल यौनदासी । 

शाहजहाँका अन्तिम दिन निकै पिडाजनक रहे । छोरा औरंगजेबले राज्यका मन्दिरहरु नष्ट गराएर हिन्दु जनतालाई जबर्जस्ती इस्लाम धर्म मान्न बाध्य बनायो । एक बलियो मुगल साम्राज्य, जसको पिल्लर बाबरले राखे । त्यसपछि अकबरको सुझबुझले राज्य झन् बलियो हुँदै गयो । जहाँगीर न्यायप्रेमी रहे । तर विभिन्न गद्दारीका बाबजुद पनि मुमताजको मृत्योपरान्त अगणित वैभव खर्चेर बनाएको ताजमहलका लागि शाहजहाँ चर्चित रह्यो । थप पुष्टिका लागि कवि सुमन पोखरेलको एउटा कवितांश छः

शाहजहाँ 
जसले बादशाहलाई प्रेमीभन्दा होचो बनाइदियो 
जसले चिहानलाई मन्दिर 
प्रेमीकालाई ईश्वर 
प्रेमलाई धर्म बनाइदियो 

कमसेकम दुई फरक त पक्कै छ हामीबीच 
ऊ शहशांह थियो 

म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने 
ताजमहल बनाउन 
प्रेमिकाको मृत्यु पर्खने थिइनँ। 

(ताजमहल र मेरो प्रेम) 

र, ताजमहल होइन प्रेमको प्रतीक 

अखिल भारतीय इतिहास संकलन योजनाका संगठन सचिव बालमुकुन्दले एनडिटिभीसँग भनेका छन्, ‘ताजमहल प्रेमको प्रतिक कदापि हुनसक्दैन । किनकि कसैले पतिलाई मारेर उसको श्रीमतीलाई रखैलका रुपमा राख्नु, सत्र बर्षमा चौध बच्चा पैदा गर्नु, मृत्यु लगत्तै उसकै बहिनीसँग बिबाह गर्नु भारतीय चिन्तनको दृष्टिकोणले प्रेमको प्रतिक हुनसक्दैन । फेरि इतिहासको दृष्टिकोणबाट हेर्दा नारी अपमानको प्रमाण हो । तर कलाकारीताको दृष्टिमा भने ताजमहल गर्वको विषय हो ।’ 

प्रसिद्ध भारतीय कवि सायर लुधियानवीले ताजमहलाई केवल आकर्षणको केन्द्र भन्छन् । मुमताजसँगको सम्बन्धलाई प्रेममय देखाउन अर्थात् मुमताजलाई अधिक प्रेम गर्छु भन्नेकुरा सावित गर्न वैभवको सहारा लिएर शाहजहाँले ताजमहलको निर्माण गराएको थियो । यसको मतलब गरिबहरुको प्रेमको अनादर पनि हो । यसैलाई सायर लुधियानवीले व्यङ्ग्य गर्दै आफ्नो कवितामा लेखेका छन्ः

इक शहंशाह ने दौलत का सहारा ले कर । 
हम गरीबों की मुहब्बत का उड़ाया है मजाक ।। 

२७ माघ २०७४ मा अन्नपूर्ण फुर्सदमा प्रकाशित ।



  • Share:

You Might Also Like

0 comments