मीनराज बसन्त । नेपालकै ठूलो ताल राराबारे उहिल्यै किताबमा पढिएन कि ? हाजिरीजवाफ प्रतियोगितामा यसको सही जवाफ दिएर थप एक अंक जोडिएन ? पछि प्रविधिको फड्कोसँगै यसका तस्बिर इन्टरनेट, सामाजिक संजालमार्फत पनि खूब हेरियो । यति हुँदा समय पनि फेरिइसकेछ । अब नेपालको ठूलो ताल रारा हो भनेर मात्रै नहुने दिन आए । भनाइ फेरियो– ‘एकपटक रारा नपुगी मरियो भने त आत्माले पनि शान्ति पाउँदैन, भड्किरहन्छ ।’
धर्तीको स्वर्ग, तालहरूकी रानी, स्वर्गकी अप्सरादिका रुपमा व्याख्या हुँदै आइरहेको छ, रारा ताल । तर, त्यहाँसम्म पुग्ने उत्कट इच्छा हुँदाहुँदै पनि विभिन्न कारणले म जान सकिइरहेको थिइन । कहिले पर्याप्त बजेटको अभाव । कहिले मनमिल्ने दौँतरीहरूको । त्यसमाथि सरकारले २०७५ लाई ‘कर्णाली–रारा पर्यटन वर्ष’ घोषणा गरिदियो । म थप तनावका सुइहरूले रोपिएँ ।
संस्कृतमा एउटा कथन छ– ‘ऋणं कृत्वा, घृतम् पिबेत्’ अर्थात् ऋणै गरेर भए पनि घिउ खाऊ । मैले यही भनाइ सम्झिएर आफ्नो इच्छा मिसाएँ– ‘यो वर्ष जसरी पनि रारा पुग्छु, पुग्छु ।’
किसानलाई मंसिरमा धान थन्काउने चटारो भएजस्तै मलाई रारा पुग्ने चटारो थियो । यो तिजताकाको कुरा हो । मेरो ‘मंसिर’ भनेको दसैँ वरिपरि थियो । त्यसकै छेकोमा रारा जाने योजनाको जाल बुन्दै गर्दा एकदिन सुर्खेती मित्र पहल असीमको फोन आयो । उनले रारा किनारमा ‘बृहत साहित्यिक तथा सांस्कृतिक कार्यक्रम’ हुन गइरहेको जानकारी ‘कानाकुर्र’ गराए । र, सोधे– ‘के तपाईं नि रारा जानुहुन्छ त ?’
जहाँ पुग्न म तड्पिरहेको छु, त्यही ठाउँ जाने भन्दा कसरी नाइँ भन्न सक्थेँ र मैले ? उनको प्रस्तावलाई सहृदयतापूर्वक स्वीकारेँ । खुसी भएँ । पछि थाहा पाएँ कि, उक्त कार्यक्रमको संयोजक पनि उनै मित्र रहेछन् ।
यसरी, अनमोल स्मृति प्रतिष्ठान, सुर्खेतको तर्फबाट रारा जाने अपूर्व मौका जुर्याे मलाई ।
कार्तिक दस गते । सुर्खेती बिहान चिसै थियो । चिसो बिहानमा सदावहार साथी, चिया छँदै थियो । शरीरलाई न्याया लुगाले देखभाल गरिरहेका थिए । बाटो मर्मत हुँदै गरेको मुख्य सडकमा धूलोको कुहिरो लाग्न थालिसकेको रहेछ । हामी सबै लोक दोहोरी प्रतिष्ठानअघिको चौरमा भेला भयौँ ।
रारा जानका लागि भनेर अनमोल स्मृति प्रतिष्ठानले दुइटा बस रिजर्भ गरेको रहेछ । एउटामा सांस्कृतिक कार्यक्रम लागि गायक–गायिकाहरूको जम्बो टोली थियो । वाद्यवादन सहितको । र, अर्कोमा साहित्यकारहरू ।
रारा जाने भनेपछि साथीहरू आआफ्नै ढंगले उत्साहित देखिन्थे । उनीहरूको कुरा गराई, शरीरको ऊर्जा, अनुहारको उज्यालो आदिले यही भन्थ्यो । तर, मलाई सबैभन्दा बढी उत्साहित हुने मै हुँ जस्तो लागिरहेको थियो । किन पनि भने, नेपालगन्ज कटेर यसअघि कहिल्यै यात्रा गरेको थिइन । झन्डै दस वर्षअघि टेकेको नेपालगन्ज पनि लगभग स्मृतिमा धुमिल भैसकेको रहेछ । बिर्सिसकेको रहेछु धेरैकुरा ।
कलाकारहरू आफ्नो गाडीमा बसे । हामी आफ्नोमा । बाठा साथीहरू अघि नै गएर सिट कब्जा गरिसकेका रहेछन् । चिया पिएर गाडीमा चढ्दा एउटै सिट पनि खालि देखिएन । उभिनेमा पहल, प्रतिष्ठानका संरक्षक निराजन शाही, महेन्द्र चन्द महासागर, विमर्श कँडेल र म पर्यौं ।
बसमा मैले चिनेका केही मात्र साथीहरू थिए । केही साथी कलाकारको बसमा पनि मिसिएका थिए । त्यसबाहेक पूरै अपरिचित अनुहार । यिनै अनुहारले बस भरिएको देखेपछि मैले झट्ट अघिल्लो दिन निराजन दाइले भनेको कुरा सम्झिएँ । उहाँले भन्नुभएको थियो– ‘रारा जाने रहर सबैको छ । तर, एक्लै जाँदा बजेट पनि बढी लाग्ने । अन्य कुरामा पनि समस्या हुने । त्यसैले रारा जान इच्छुकसँग हामीले प्रतिव्यक्ति दस हजार उठाएका छौँ । सुर्खेतबाट फेरि सुर्खेत नआइपुगुन्जेल खान, बस्न सबै हाम्रो । हिसाब गर्ने हो भने यो रकम केही पनि होइन ।’
बसले लय पक्रियो । साथीहरू कोही दोहोरी गाउन थाले । कोही ताली बजाउन । कसैले सिठी बजाए । कोही चुपचाप मुस्कुराइरहे । उभिएरै त्यसको दर्शक बनिरह्यौँ हामी ।
बिस्तारै बस उकालो चढ्यो । सुर्खेतबाट माथि दैलेखतिर देखिने छंगाछुर भीरमा बस गुडिरहेजस्तो लागिरहेको थियो । साँघुरो सडक । अनेक घुम्ती र मोडहरू । जब बसले ‘टर्निङ’ लिन्थ्यो हामी उभिनेहरू ढलपलिन्थौँ । हातले चपक्क डण्डी पक्रेर धानिन खोज्दाखोज्दै पनि बस घुमेकैतिर हामी कक्रक्क पथ्र्यौँ । तर, यही हालतमा दुईदिनको यात्रा गर्न सकिन्छ जस्तो मलाई लागेन ।
बस आफ्नो रफ्तारमा कुदिरहँदा गाउने साथीहरू गलिसकेका थिए । एकछिन एकछिनमा गाउँथे । हाँस्थे । अनि फेरि चुप लाग्थे । अर्थात् उनीहरूको गति समान थिएन । यता हामी उभिनेले पनि खुट्टाको दुखाइ महसुस गरिरहेका थियौँ ।
गजलकार एवम् पत्रकार विमर्श यो मामलामा एकदम सचेत देखिए । उनी बसको पछाडिबाट सोझै क्याबिनमा प्रवेश गरे । उनले हातको इशारा गरेर अर्का मित्र महेन्द्रजीलाई पनि बोलाए । ‘म पनि अगाडि नै जान्छु’ भन्दा साथीहरूले मलाई चाहिँ रोकिराखे । त्यो पनि हँसाउने, रमाइलो गर्ने मान्छे चाहिन्छ भनेर ।
यात्रा गर्दा, अझ त्यो पनि नयाँ ठाउँको । म सँधै झ्यालतिर बस्न रुचाउने मान्छे । नयाँ दृश्य, अनुभवका नयाँ तह बनाउँदै आँखाको क्यामेरामा कैद गर्न चाहने मान्छे ! कहाँ बसको खोल्सामा पुग–नपुग गर्दै डण्डी समातेर उभिइरहेको छु । खुट्टा बाङ्गा भैसकेका छन्, उभिँदा उभिँदा । अब योभन्दा बेसी पार लाग्दैन भन्ने अनुभूत गरेपछि म पनि क्याबिनतिरै सोझिएँ । निराजन दाइ र पहल बसको ढोकाछेउ नै उभिइरहेका थिए ।
क्याबिनः एक परिवार
गुरूजी खाइलाग्दै थिए । कृष्ण वर्णका । हट्टाकट्टा । शरीर अनुसारको दक्षता पनि थियो उनमा । भीर कोट्याएर बनाइएको ‘वन वे’ जत्रो बाटोमा पनि बस फिलिली हाँक्थे । सितिमिति हर्न पनि नबजाउने । यता हाम्रो मुटु छड्किन्थ्यो, भातझैँ । अझ डर त कहाँ लाग्थ्यो भने, हाम्रै गाडी ब्याक गरेर उताबाट आइरहेका अरू गाडीलाई साइड दिनुपथ्र्याे । उनको ब्याक गर्ने स्टाइल पनि गाडी अगाडितिर हाँकेजस्तै हुन्थ्यो । साह्रै भएपछि मैले उनलाई सविनय भनेँ पनि– ‘दाइ बिस्तारै जाम् । हतार छैन । यसो घुम्तीतिर हर्न पनि बजाउँदै गर्नु न हौ ।’
गुरूजीसहित क्याबिनमा हामी एघार जना भयौं, अटेसमटेस गरेर । सबैको गन्तव्य पनि एउटै ठाउँ र बसभित्रको स्थिति पनि लगभग उस्तै भएपछि हामीहरू एकआपसमा नजिकिँदै गयौं । आत्मीयताको तह बढ्दै गयो । परिवारका सदस्यझैँ लागे सबै । बाटो काट्ने ओखती होस् भनेर हँसाउने प्रयासमा म धेरैभन्दा धेरै बोलिरहेँ पनि ।
भयको भण्डार
भीरैभीर त होला ! बस कुदिरहेकै थियो । रूख र झाडीको छेलबाट तल गहिराइमा मैले जीवनमै पहिलोपटक कर्णाली नदी देखेँ । जुन, बाङ्गोटिङ्गो हुँदै पुग्नुपर्ने ठाउँतिर चुपचाप हिँडिरहेको थियो । नीलो । एकदम शान्त, कर्णाली । बिस्तारै बस ओरालो लाग्यो । अब हामी कर्णालीको छेउछाउ हुँदै यात्रा गरिरहेका थियौँ । पाल्ताडामा खाना खाएपछि त झन् कर्णालीकै हात समातेर हिँडेकोजस्तो अनुभूति भयो । यही मौकामा पिशाब गर्ने बहाना बनाई हामीले बस रोक्न आग्रह गर्यौं । र, कर्णालीलाई पृष्ठभूमिमा राखेर खूब फोटो खिचियो । धीत मरुन्जेल ।
जहाँजहाँ पिशाब गर्न बस रोकिन्थ्यो, अर्को गाडीका साथीहरू त्यहीँ भेटिन्थे । अनि सुनाइहाल्थे– ‘दाजु, रारा त पुगिन्छजस्तो लाग्दैन त । चैने, क्यै भैहाले घरतिर खबर पु¥याइदिनु है ।’ उनीहरूको स्वरमा अविश्वास र दुविधा भेट्थेँ म । तर, तिनीहरूलाई के थाहा ? यता हाम्रो हालत पनि उस्तै थियो ।
बसमा हामी छेउ अर्थात् नदीतिर थियौं । विमर्श, छोरीसहित शारदा अन्टी, एकेन्द्र खड्का र म । बस कहाँ हो कहाँ भीरैभीर हुइँकिइरहेको थियो । बेला बेला त ‘लौ बस गयो गयो’ भन्नेसम्म हुन्थ्यो । शरीरमा जिरिङ्ग काँडा उम्रिन्थे । मुटुमा सिल्का हान्थ्यो । अनि एकले अर्कोलाई चपक्क समात्थ्यो । सबैभन्दा बढी डराउने त साथी ईश्वर दाहाल नै थिए । एकेन्द्र र म अलिक कम नै डरायौँ । तैपनि मेरो पापी मनले सोचिहाल्थ्यो– ‘भगवान् यस्तो त नहोस् । तर, केही जानी यहाँबाट खसियो भने पूरै पीठो परिन्छ ।’
हत्तुहैरान परेको भरियाझैं, शेरीघाटको पुल तरेर बस उकालै उकालो लाग्यो । ऊ...माथि डाँडाको टुप्पोमा फलेकोझैँ लाग्थ्यो, कालीकोटको मान्म बजार । बाटो पनि, बाटो पत्ता लगाउने खेल जस्तो । घुमेको घुम्यै । जति बस माथि चढ्दै गयो, उति तल छंगाछुर भीर बन्दै गयो ।
क्यानबिनको ढोका लगाएपछि हाम्रो ‘परिवार’को आफ्नै संसार भयो । पछाडिका साथीहरू कोही निदाइरहेका थिए । कोही गफ गरिरहेका थिए । यता विमर्श ‘स्लिपिङ ट्याब्लेट’ खाएर झुम्दै थिए । जब आफ्नो साइडपट्टि भीर पथ्र्यो, शारदा अन्टी हेर्न नसकेर गाडीको गियर लगाउने चौकोमाथि घोप्टी पर्नुहुन्थ्यो । उहाँलाई साथ दिने छोरी छँदै थिइन् ।
मुटु दह्रो त के भन्नू, गाँठै गाँठा पार्दै म क्याबिनको झ्यालबाट चिहाइरहन्थेँ । फोटो–भिडियो खिच्थेँ । भित्र डरले मुटुकलेजो खाए पनि बाहिर खुसीसाथ गफ गर्नेमा एकेन्द्र, महेन्द्रजी र म नै थियौँ । एकाध पटक रारा पुगिसकेका महेन्द्रजीले हामीलाई बाटो, विभिन्न ठाउँको नामादि जानकारी गराइरहेका थिए ।
गोठीजिउलामा बास
सिरसिर हावा चलिरहेको थियो । घाम पनि लागिरहेकै थिए । मान्म बजारमा एकछिन रोकेर हामीले चिया नास्ता गर्याैं । फोटो खिच्यौँ । सुर्खेतदेखि यति टाढा, यस्तो रूखो भीरमा पनि ‘आधुनिक सहर’ बसेको देखेर म छक्क परेँ । सुर्खेत छोडेपछि बजारजस्तो ‘बजार’ बल्ल देख्न पाइएको थियो ।
मान्मबाट अगाडि लागेपछि सुरु भयो फेरि उस्तै भीरको बाटो । तर, अब देखिने डाँडाहरू हरिया थिएनन् । सुख्खा र उजाड । काठको दलिन ताछेजस्ता । चुच्चे डाँडा, थुम्के डाँडा । जता हेरे पनि डाँडैडाँडा । तिनै अग्ला डाँडा त हुन् भीर भनेका । जहाँजहाँ आंशिक हरियोझैँ देखिन्थ्यो, ती बुट्यान या झारपात यस्तै केही हुन्थे । त्यही डाँडामा वारिपारि मान्छेहरूको पातलो बस्ती देख्न सकिन्थ्यो । कताकति खेतका भिराला फाँट र खर्क पनि नदेखिएका होइनन् ।
भीरको कम्मरजस्तो अर्थात् आधाउधि भागमा बस गुडिरहेको छ । गाउँमा बस्तुभाउ हिँडाउने डहर भन्दा पनि सानो लाग्छ मलाई, रारा पुग्ने ‘राजमार्ग’ । झन् बसको क्याबिनबाट सिधा अगाडि हेर्दा, बाटोभन्दा बस ठूलो लाग्छ । पाङ्ग्रा सडकबाहिर निस्केझैँ पनि लाग्छ । जब यति लाग्छ, मुटुले फेरि ढ्याङ्ग्रो ठटाउन थाल्छ । मुखले हनुमान चालिसा भट्याउँछ । अनि मनले शंका गर्दै सोध्छ आफैँलाई– ‘के यसैगरी रारा पुगेर फर्किइन्छ होला त केटा ?
बिस्तारै उज्यालो हराउँदै गयो । बसले आफ्ना आँखा उघारेर उज्यालो छर्दै हिँडिरह्यो । बसमा अब होहल्ला वा कुनै आवाज थिएन । क्याबिनका साथीहरू पनि अप्ठ्यारो गरी निदाइसकेका, उँघिरहेका थिए । एक म थिएँ, जसका आँखामा निद्राको साटो डर थियो । अर्का थिए, ड्राइभर दाइ । जसले हाम्रा कैयौँ जीवनहरूको ‘स्टेरियङ’ एकसाथ घुमाइरहेका थिए ।
दस गतेकै दिन । अनमोल स्मृति प्रतिष्ठानले गोठीजिउला, जुम्लामा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गरेको थियो । जसमा डा. देवेन्द्र आचार्यसहितको टोली अघिल्लो दिन नै जुम्ला पुगिसकेको थियो । कवि नवराज पराजुली पनि उनीहरूसँगै थिए । गोठीजिउलामा उनीहरूले नै हामीलाई बस्ने बास र खाने गासको चाँजोपाँजो मिलाएका थिए । मध्यरातमा हामी गोठीजिउला पुगेर उनीहरूलाई भेट्यौँ र त्यहीँ बास बस्यौँ ।
राराको हुटहुटी
एघार गतेको बिहान । जुम्लामा यति भयंकर जाडो थियो कि, मैले दस वर्षअघिको मुक्तिनाथ यात्रा सम्झिएँ । त्यहाँका एकसय आठा धारामा नुहाउँदा म क्वाँक्वाँ रोएको थिएँ । तर, जुम्लामा रुन त रोइएन । जाडो भने अथाह महसुस भयो । अति भएपछि हातमा लगाउने पन्जा र एकजोर ताता मोजा हामीहरूले त्यहीँ किन्यौँ । ताकि, जुम्लाको चिनो पनि होस् । न्यानो पनि होस् ।
चिया नास्ता गर्दा घडिमा नौ बजिसक्यो । रपनि बाहिर घाम देखिएको थिएन । त्यहीँका स्थानीयका अनुसार, जुम्लातिर त घाम पनि अबेर ड्युटी गर्न आइपुग्दो रहेछ । फर्किँदो रहेछ चाँडै । बाँकी आँखाले देख्ने भनेको धेरैजसो उनै सुख्खा डाँडाकाँडा नै थिए ।
गोठीजिउलाबाट राराको दूरी धेरै थिएन । महेन्द्रजीले बताए अनुसार, बाटो पनि सजिलो थियो । अन्दाजी चार घण्टा लाग्दो रहेछ बसमा । त्यसपछि त के ? मनभित्र कतिबेला रारा पुगौँ भन्ने हुटहुटीको तापक्रम बढ्दै गयो ।
भुलभुलेमा खाना खाएपछि भने साथीहरू बसको हुटमाथि चढे, रमाए । नयाँ दिनको नयाँ जोश बोकेर बस गोठीजिउलाबाट राराका लागि छुट्यो ।
पहिलो स्पर्श
यस्तै दिउँसोको तीन बजेको थियोे होला, हाम्रो बस मिलिचौर पुगेर रोकियो । राराका लागि बसको अन्तिम गन्तव्य यहीँसम्म मात्रै रहेछ । खुसी हुँदै सबैजना बसबाट झ¥यौँ । आआफ्ना सामान निकाल्यौँ । खुसी यसकारण कि, हामी बाँचेर सकुशल रारा आइपुगेका थियौं । र, साँच्चिकै रारा हेर्न पाउने भएका थियौँ ।
मिलिचौर निकै फराकिलो थियो । जंगलको पर्खाल थियो वरिपरि । हामीहरू रारा राष्ट्रिय निकुञ्जभित्र थियौँ । जहाँ घोडाहरू मस्तसँग चरिरहेका, कुदिरहेका थिए । सिरेठो चलिरहेकै थियो । राराका लागि बाइकमा मिलिचौरसम्म पुग्नेहरूले घोडासँग बाइक साटिरहेका थिए । अर्थात् त्यहाँ घोडा चलाउनेहरू बाइक चढ्न रहर गर्थे । बाइकवालाहरू घोडा चढ्न । यसरी आफ्नो साधन एकअर्कासँग साटेर आनन्द लिइरहेका देखिए ।
मिलिचौरबाट राराछेउ पुग्न अलिकति हिँड्नु पथ्र्याे । हिँड्न नसकेको खण्डमा घोडा प्रयोग गर्न पनि सकिन्थ्यो । तर, कार्यक्रमका लागि जेनेटरदेखि साउन्ड सिस्टमसम्म गाडीमै ल्याएका हुनाले हामीले ती सामान बोक्दै जंगलभित्रको ओरालो बाटो झरिरह्यौँ ।
हिँड्दै गर्दा जंगलभित्रबाटै दायाँतर्फ राराको नीलो पानी देखियो । खुसीले म बेस्सरी चिच्याएँ । साथीहरू झन् उच्च स्वरमा गुन्जिए । आखिर, यही हेर्न त ज्यान जोखिममा राखेर आएका थियौँ नि !
जंगलभित्रको बाटो सकिएलगत्तै फेरि अर्को चौर आयो । अनि बल्ल छर्लङ्ग देखियो रारा । राराको भव्य र दिव्य स्वरूप । लाग्यो, म स्वर्गमै छु यतिखेर ।
आफूले बोकिरहेको सामान बिसायौँ हामीहरूले । र, गुरुरु कुदेर रारा किनार पुग्यौँ । रारालाई नेपथ्यमा राखेर फोटोग्राफर सुजन गोपालीलगायतका क्यामेरामा कैद भयौँ । विभिन्न पोजमा, विभिन्न मोबाइलमा पनि अटायौँ ।
निख्खर नीलो पानी । पानीमाथि हावाको झोक्काले बनाएको धार । छेउमा छचल्किरहेको छाल र त्यसको छुप्लुङछुप्लुङ आवाज । मन त भन्थ्यो, अहिले नै पौडी खेलूँ । तर, शरीरका लागि त्यो सम्भव थिएन । किनारमा बसेर मैले रारालाई पहिलो स्पर्श गरेँ । अहो ! म धन्य भएँ ।
हाफ म्याराथन
बाह्र गते बिहान । कार्यक्रमको तालिका बनिसकेको थियो । जसको उद्घाटन म्याराथन दौडबाट हुनु थियो । दिउसो विभिन्न कलाकारद्वारा सांगीतिक प्रस्तुति, कवि नवराज पराजुलीको ‘कविता कन्सर्ट’ र राति चार गजलकारहरूः हुकुम धड्कन, महेन्द्रचन्द महासागर, संगीता थापा र ईश्वर दाहालको ‘गजल–ए–महफिल’ ।
बिहान नास्ता गर्ने बेलामा उद्घोष भयो कि, म्याराथनमा भाग लिन इच्छुकले नाम लेखाउन सकिनेछ । शुल्क थियो पचास रूपैयाँ । साथीहरू संगीता थापा, सीता थुलुङ, तिर्थ समीर, झलक वली, मुक्त उदास, भुवन भूपी, घनश्याम रानालगायतले नाम लेखाए । र, जोशै जोशमा मैले पनि नाम लेखाएँ ।
‘हाफ म्याराथन’ भनेर भनिए पनि त्यसअनुसारको दूरी थिएन । झन् ‘हाइ अल्टिच्युड’मा त धेरै दौडिनु पनि विभिन्न कुराले हामीलाई जोखिम थियो । त्यसकारण केही सीमित दूरी मात्रै छुट्याइएको थियो ।
सांगीतिक कार्यक्रमका लागि रारा किनारमै बनेको थियो स्टेज । त्यसको ठीक पछाडिपट्टी खाली ठाउँ थियो । हामीहरू दौडनका लागि त्यहाँ क्रमबद्ध उभियौँ । प्रतिष्ठानले प्रतियोगीलाई रातो टिसर्ट उपलब्ध गराएको थियो ।
दौडनकै लागि भनेर धेरै साथीहरूसँग हलुका लुगा थिएन । मित्र मुक्त उदास जिन्सको टाइट पाइन्ट र छालाको जुत्तामा थिए । मसँग भने जाँघे थियो । कपडाका हलुका जुत्ता पनि थिए । यो देखेपछि उनले मलाई भने– ‘लाफा, तपाईंको जाँघे र जुत्ता दिनुस् म दौडन्छु । प्रथम हुने पनि मै हो । पैसा बरू आधाआधा बाडौँला ।’
स्कुले जीवनमा पनि दौडका थुप्रै कार्यक्रम हुन्थे । तर, मैले कहिल्यै भाग लिइन । न त्यसपछिका दिनमै दौडिएँ । तर, अरू दौडिएको देख्दा लाग्थ्यो, योभन्दा चर्को त म दौडन्छु । रारा किनारमा उभिएर मैले यही सोचेँ, जीवनमै पहिलो पटक आज दौडन जाँदैछु र पहिलो हुने भनेको पनि मै हो ।
जसै रेफ्रीको सिठी बज्यो, हाम्रो दौडले पनि औपचारिकता पायो । सिठी बज्नासाथ बाह्र नम्बरको प्लेकार्ड छातिमा टाँसेर म यसरी दौडिएँ कि, मभन्दा चर्को दौडने कोही छैन भन्ने सोचेँ । आखिर, एउटा प्रतियोगीले सोच्ने पनि यही हो ।
सबैभन्दा अगाडि बाइकमा दुई व्यक्ति सवार थिए । बाइकको पछिपछि दौडिरहेका थियौँ हामी प्रतियोगीहरू । उनीहरू जहाँ रोकिन्छन्, त्यहाँसम्म पुगेर टोकन लिई फर्किनुपर्ने खेलको नियम थियो । अन्यथा अमान्य हुन्थ्यो ।
एकछिन नबित्दै गोडा बाउँडिए मेरा । दिनभर बाँझो जोतेको गोरूझैँ धकिरहेको थिएँ म । पछाडि फर्केर हेर्दा साथी आउँदै थिए । अरू सब अगाडि अगाडि । धूलो उडाउँदै दौडिरहेका ।
अलिकति अघि पुगेर केही साथीहरू त किनार छेउको खाली ठाउँमा बसिसकेका थिए । दौडिन नसकेर । मलाई लाज लाग्यो । आफूलाई देखेर त झन् विरक्तै लाग्यो । त्यहीँ मैले एक प्रतियोगी कृतन राज विष्टलाई भेटें । उनी पनि म जसरी ‘धिरे धिरे’ दौडिरहेका थिए । ‘लामो रेसमा एकछिन कुदेर काम लाग्दैन’ उनी भन्दै थिए– ‘बिस्तारै तर दौडिरहनुपर्छ ।’
अब हामीले ‘धिरे धिरे’ पनि दौडिन छोड्यौँ । हिँड्ने हिम्मत मात्रै भयो । अलिपर्तिर पुग्दा महेन्द्रजीले हामीलाई भेटाउनुभयो । अनि हामी तीनजना हिँडिरह्यौँ लुखुरलुखुर । कम्तिमा मर्निङ वाक त हुन्छ भन्ने लाग्यो ।
राराको पानी निकास हुने खत्याड पुल कटेर पनि अलिकति अगाडिसम्म पुग्यौँ हामी । म्याराथनका लागि छुट्याइएको दूरी आधा पनि भएको थिएन । त्यहीबेला एक प्रतियोगी उताबाट टोकन लिएर पनि फर्किसके । र, हामीलाई उछिनेर गइसके ।
‘ह्याँभन्दा अघि नजाम् भो’ मैले साथीहरू भनेँ– ‘यसै हारियो उसै हारियो । भो फर्कौँ ।’
अब दौडने शक्ति पनि ह्रास भैसकेको थियो । पिँडुला दुखिरहेका थिए करकर्ती । यसरी बीचबाटोबाटै फर्किएर कार्यक्रमस्थलमै पुग्दा पनि सातजना साथीहरूले गन्तव्यमा पुगेर फर्किकन हामीलाई जितिसकेका थिए । जित्नेहरूमा प्रथमदेखि सान्त्वनासम्म त्यहीँ मुगुका स्थानीय प्रतियोगीहरू थिए । उनीहरूसँग हामीले दौडिन कहाँ सक्नु ? नदौडिएका साथीहरू गिज्याउँदै थिए–‘अन्तिमतिरबाट जितेको तपैँहरूले नै त होनि !’
0 comments