उहाँको यो अनपेक्षित प्रश्न र जिज्ञासाले मलाई नराम्रोसँग ‘स्ट्रोक’ गर्यो । ‘सुरु गरेकै त छैन,’ मैले हाँस्दै भनेँ, ‘केको हतार गरिरहनु र ? दुई चार वर्ष लागोस् न !’
खासमा पिपिरी लेख्ने सन्दर्भ यहीँबाट सुरु भएको हो ।
मैले अरबमा बुनेको उपन्यासको ‘अस्थिपञ्जर’ सुरक्षित थियो । त्यही अस्थिपञ्चर पिपिरी बन्यो ।
त्यसलाई सम्पादनभन्दा पनि पुनर्लेखन गरेँ । त्यसको कथानकलाई आधार बनाएर नयाँ उपन्यास जन्माएँ । पिपिरी, बाल्यकालीन दिनमा साल, काभ्रो र चिलाउनेका पातबाट सर्वाधिक बजाएको बाजाको नाम हो । जब यो नाम सम्झन्छु, गाउँ सम्झन्छु । जब गाउँ सम्झन्छु, एकखालको आनन्द महसुस गर्छु । ध्यानस्थ तपस्वीले जस्तै । छोडी आएको तर फर्किन नसकिने ती दिन सम्झेर नोस्टाल्जिक बन्छु ।
युवावय उमेर, जतिवेला भर्खर जुँगाका रेखी बस्न थालेका थिए । मीठो खाने, रमाइलो गर्ने समय थियो । यस्तो वेला मैले अरब जानुपर्यो, पारिवारिक कारणले ।
केही वर्ष अरबमा बिताएपछि पनि ऋण तिर्ने र अलिअलि पकेट खर्चको जोहोबाहेक मैले खासै प्रगति गरिनँ । किनकि, म अति न्यून तलबमा काम गर्थें । त्यहाँ जीवनकै ऊर्जाशील उमेर खर्चिएँ । आयु घटाएँ । त्यो पनि विनाकुनै उपलब्धि ।
तर, अरब बसाइबाटै मेरो पहिलो उपन्यास ‘मुदिर’ जन्मियो । यस अर्थमा उपलब्धि भयो । अनि अर्को उपन्यासको अस्थिपञ्जर पनि तयार थियो । तर, आख्यानकार अमर न्यौपानेले त्यसमा धेरै नै मिहिनेत गर्न सुझाब दिएपछि थन्क्याइदिएको थिएँ ।
नेपाली साहित्यमा लेखकका लागि दोस्रो पुस्तक प्रायः सकसको विषय बन्दै आइरहेको छ । मेरो हकमा पनि दोस्रो कृति आउनुअगावै थुप्रै अन्तर्वार्तामा साथीहरूले मलाई पटक–पटक यही प्रश्न सोधिरहे । तर, मैले आफूलाई ‘सेफ जोन’मा राख्दै भनेँ, ‘मेरो दोस्रो कृति पहिलेको भन्दा पक्कै राम्रो हुनेछ ।’
०७३ मा मुदिर प्रकाशनपछि अब अर्को पुस्तक लेख्ने कि नलेख्ने ? लेखे के लेख्ने ? कसरी लेख्ने ? यिनै साना तर महत्वपूर्ण कुराको माकुरे जालमा म अल्झिरहेको थिएँ ।
एक साँझ । भरतपुरको हाटबजार डुलिरहेका वेला मेरा एकजना मित्रले सोध्नुभयो, ‘अनि दोस्रो किताबको पाण्डुलिपि सकियो ?’
गोठाले जीवन, पहाडका धर्सा बाटाहरूमा लडखडाउँदै उकाली–ओराली गरेको सम्झन्छु । हृदयमा एउटा तरंग उठ्छ । जसले मेरो बच्पन तरोताजा गराउँछ । युवाबाट बालक बन्दै म गाउँ पुग्छु । र, यहीवेला टोम स्टोपार्ड र रिकी स्क्रोडरलाई पनि सम्झन्छु ।
टोम भन्छन्, ‘इफ यु क्यारी योर चाइल्डहुड विद यु, यु नेभर बिकम ओल्डर ।’ यस्तै रिकी भन्छन्, ‘आई स्पेन्ट माई होल चाइल्डहुड विसिङ आई वेर ओल्डर एन्ड नाउ आई एम स्पेन्डिङ माइ एडल्टहुड विसिङ आई वेर योंगर ।’
हिजोआजको कुरा । जब म गाउँ जान्छु, गाउँजस्तै लाग्दैन गाउँ । विकासका नाममा विनाश बढी देखिन्छ । आर्थिक वर्षको मसान्तमा बजेट ‘फ्रिज’ हुने देखिएपछि रातारात डोजर बोलाएर हरिया डाँडाको छाती चिरेर बाटो निकाल्छन् । बर्खाभर हिलो । भदौ असोज लागेपछि बुङबुङ्ती धुलो ।
अर्कोतिर देख्छु, मेरै गाउँ वा मेरै घरमा पनि बच्चाहरूको त्यो किसिमको बाल्यकाल छैन, जस्तो त्योवेला मेरो (हाम्रो ?) थियो । मलाई यही मोह थियो कि म त्यो समय र बच्पन कतै न कतै लेखूँ । त्यो समयको दस्तावेजीकरण होस् । यसकै सन्दर्भमा जन्मिएको हो, पिपिरी ।
लेखनमा महत्वपूर्ण कुरा हो, ‘रुट राइटिङ’ अर्थात् मूल जरा । अर्थात्, मौलिकता । आफ्नै परिवेश, संस्कृति र समाजका कथा । वर्तमान समयमा हामी देखिरहेका छौँ, फिल्म, कला, संगीतमा पनि मौलिकताको प्रयोग बढिरहेको छ । पिपिरी यी कुरासँग पनि जोडिएर आउँछ ।
0 comments